दुई करोडको बजेट बोेकेर नेपालभरिका जिल्ला अध्यक्षहरूलाई लिएर युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टसहितको टोली गएको साता धुलिखेल पुग्यो । राष्ट्रिय खेलकुद भेला नाम दिइएको सो भेलामा राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेका जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरू सहभागी थिए । ती सबै अध्यक्षहरू भनेका तत्कालीन एमालेका नेताहरू हुन् ।
उनलाई तत्कालीन एमाले सरकारले जिल्ला अध्यक्षका रूपमा टीका लगाएको थियो । जुन भेला गर्नुपर्ने औचित्य पुष्टि गर्न राखेप असफल नै छ । तर उनीहरूले धुलिखेलको एउटा रिसोर्टमा निकै मोज गरे । दुई करोडको बजेट भएकाले रक्सी र मासुको भोज गर्दै उनीहरूले रात बिताए । एकातिर खेलाडी र खेलक्षेत्रका लागि बजेट भएन भनेर चर्चा भइरहेका बेला अर्थहीन भेला गरेर वर्तमान नेतृत्वले के पुष्टि गर्न खोजेको हो ? पार्टीको भेला जस्तो कार्यक्रमका लागि राखेपको बजेट सक्ने यो कामको विषयमा उचित छानबिन हुनु आवश्यक छ ।
केशव विष्ट र केही क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षहरूको मिलेमतोमा यसो गरिएको बुझिन आएको छ । बिल मिलाउने र नक्कली हस्ताक्षर गर्नमा माहिर राखेपका केही कर्मचारी पनि यो अभियानमा मिलेका छन् । अब उनीहरूले यो कार्यक्रमबाट कति लाखको तर मारे होलान् । यो अनुमान लगाउने जिम्मा पाठक वर्गलाई थप विवरण त आगामी दिनहरूमा हामी दिँदै नै जानेछौं ।
प्रतिक्रिया