काठमाडौं । फिफा विश्वकप नजिकिँदै छ । जर्मनीका प्रशिक्षक जोचिम लोले विश्वकप खेल्ने टिमका सदस्यको घोषणा गर्दा अविश्वसनिय रुपमा लेरोई सानेको नाम अटाएनन् । २३ सदस्यिय टिम सार्वजनिक गर्दा लेरोई साने नअट्नुले इंग्लिस प्रिमियर लिग हेर्ने फुटबल प्रेमीलाई अचम्मित बनाएको छ ।
विश्वकपमा आफ्नो टिम छनोट हुँदा अन्य केही उत्कृष्ट खेलाडीले पनि २३ सदस्यिय टिममा आफ्नो नाम पाएनन् । कतिपय इन्ज्युरीका कारण टिममा पर्न सकेनन् भने कतिपय प्रशिक्षकको नजरमा उत्कृष्ट खेलाडीमध्ये सर्वोत्कृष्ट भएनन् ।
सर्जियो रोमेरो– गोलकिपर (अर्जेन्टिना)
विश्वकपको अघिल्लो संस्करणमा अर्जेन्टिना उपविजेता बन्दा सर्जियो रोमेरोले प्रतियोगिता भरी नै उत्कृष्ट प्रदर्शन गरे । अघिल्लो महिनामात्र घुँडामा चोट बोकेका रोमेरो पूर्ण रुपमा फिट हुनका लागि कम्तिमा ६ हप्ता लाग्ने भएपछि उनी विश्वकप नखेल्ने पक्का भएको हो ।
मार्कोस अलोन्सो– डिफेन्डर (स्पेन)
इंग्लिस क्लब चेल्सीका डिफेन्डर अलोन्सोले प्रिमियर लिगमा यो सिजन राम्रो प्रदर्शन गरे । रक्षा पङ्तिमा उत्कृष्ट प्रदर्शनसँगै उनले यो सिजन सात गोल पनि गरे । स्पेनको टिममा उनी नअटाउँदा केही आश्चर्यका प्रतिक्रिया समेत आएका थिए । तर स्पेन टिममा उत्कृष्ट डिफेन्डरहरुको उपस्थितीका कारण उनले विश्वकप टिममा स्थान बनाउन सकेनन् ।
डेविड लुइज– डिफेन्डर (ब्राजिल)
विश्वका उत्कृष्ट डिफेन्डर मध्येका एक डेविड लुइज पनि रसिया विश्वकपमा देखिने छैनन् । ब्राजिलका लागि ५० अन्तर्राष्ट्रिय खेल खेलिसकेका लुइज घुँडा र कुरकुच्चाको समस्याका कारण उनले पछिल्लो चार महिना अभ्यास मैदानमा समेत उत्रन पाएका छैनन् । ठूलो प्रतियोगितामा डेविड लुइज छुटेको यो दोस्रो पटक हो । यस अघि सन् २०१६ को कोपा अमेरिकामा पनि उनी टिममा परेका थिएनन् ।
डेनियल कार्भाहल– डिफेन्डर (स्पेन)
च्याम्पियन्स लिगको फाइनलमा खुट्टामा चोट लागेपछि ड्यानी कार्भाहलले विश्वकप गुमाउने भएका छन् । स्पेनका उत्कृष्ट डिफेन्डर कार्भहलको ह्यामट्रिङमा चोट लागेको थियो । सन् २०१६ को युरोकप अघि पनि इन्ज्युरीका कारण गुमाएका कार्भाहल यस पटक पनि अभागी बने ।
लेरोई साने– मिडफिल्डर (जर्मनी)
इंग्लिस प्रिमियर लिगको उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका सानेले यो सिजन म्यान्चेष्टर सिटीका लागि १४ गोल र १९ एसिस्ट गरेका थिए । तर उनको सो प्रदर्शनले जर्मनीका प्रशिक्षक जोचिम लोलाई प्रभावित गर्न सकेन । सोमबार सार्वजनिक गरिएको २३ सदस्यिय विश्वकप स्क्वाडमा सानेको नाम थिएन । जर्मनी टिममा उत्कृष्ट खेलाडी भएका कारण सानेले स्थान नपाएको लोको प्रतिक्रिया थियो ।
मारियो गोट्जे– मिडफिल्डर (जर्मनी)
सन् २०१४ को विश्वकप जर्मनीलाई जिताउनका लागि एकमात्र गोल गरेका मारियो गोट्जेको प्रदर्शनको खुबै तारिफ भयो । तर यो साता प्रशिक्षक जोचिम लोले सार्वजनिक गरेको विश्वकप स्क्वाडमा गोट्जेको नाम नअटाउँदा धेरै आश्चर्यचकित भए । जर्मनीमा पर्याप्त मात्रामा खेलाडीहरु रहेका कारण उनले स्थान बनाउन नसकेको प्रशिक्षक लोको भनाइ छ ।
एलेक्स ओक्सेल च्याम्बरलिन–मिडफिल्डर (इंग्ल्याण्ड)
लिभरपुलको मिडफिल्डर एलेक्स ओक्सेल च्याम्बरलिन घुँडाको चोटका कारण विश्राममा छन् । घुँडाको लिगामेन्टमा चोट लागेका कारण उनले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रोमाविरुद्धको खेलमा घाइते भएका थिए । २४ वर्षे एलेक्स तीन सातापछिमात्र पूर्ण रुपमा फिट हुने बुझिएको छ ।
सान्ड्रो वाग्नर– स्ट्राइकर (जर्मनी)
जर्मनीका स्ट्राइकर सान्ड्रो वाग्नरले अघिल्लो बर्ष अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । आठ खेलमा जर्मनीका लागि कुल ५ गोल गरिसकेका छन् । प्रशिक्षक जोचिम लोको अन्तिम २३ सदस्यिय टोलीमा अटाउन असफल भएपछि बायर्न म्युनिकबाट क्लब फुटबल खेलिरहेका वाग्नरले अन्तर्राष्ट्रिय खेलजिवनबाट यसै साता सन्यासको घोषणा समेत गरिसकेका छन् ।
माउरो इकार्डी– स्ट्राइकर (अर्जेन्टिना)
इटालियन शीर्ष डिभिजन लिग सिरिआका सर्वाधिक गोलकर्ता माउरो इकार्डी यो साता फुटबलको हेडलाइन बने । सिरिआमा खेलेको ३४ खेलमा २९ गोल गरेका इकार्डी जर्ज साम्पोलीको २३ सदस्यिय टिममा परेनन् । अग्रपङ्तिमा रहेका लियोनेल मेस्सी, गोन्जालो हिग्वेन, पाउलो डिबाला र सर्जियो एग्युरो जस्ता खेलाडी रहेका कारण उनी विश्वकप टिममा स्थान बनाउन असफल भए ।
अल्भारो मोराटा– स्ट्राइकर (स्पेन)
चेल्सीका स्पेनिस स्ट्राइकर अल्भारो मोराटा पनि रसिया विश्वकपको टिममा परेनन् । मार्को असेन्सियो, लागो अस्पास, डिएगो कोस्टा, रोड्रिगो मोरोनो र लुकास भाज्क्वेज स्ट्राइकरका रुपमा छनोट भएपछि मोराटाले स्थान पाउन सकेनन् ।
प्रतिक्रिया