काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि पनि सरकारले भ्रष्टाचार उन्मूलन अभियान नै संचालन गर्ने बताएका छन्। उनले सरकारले गरिबी, भ्रष्टाचार र पछौटेपनको विरुद्ध आक्रमणको नीति लिएको दाबी गरे। सोमबार हेटौँडामा प्रदेश ३ को प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले मुलुकको विकासका लागि भ्रष्टाचारलाई अन्त्य गर्न सहकार्य गरेर अघि बढ्न प्रदेश सरकारहरूलाई पनि आग्रह गरेका थिए।
विकासका लागि अनुकूल वातावरण आएको भन्दै प्रधानमन्त्री ओलीले ‘अहिले नगरे कहिले विकास गर्ने’भन्ने प्रतिप्रश्न पनि गरेका थिए। उनले प्रदेश सरकारलाई आत्मविश्वासका साथ अघि बढ्न पनि गम्भीर ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारीको अवसर सृजना गर्ने काममा लगानी भित्र्याउने योजना पनि अघि सारेका छन्। उनले कृषिको आधुनिकीरकरण, व्यवसायिकीकरण गर्ने प्रतिवद्धता पनि दोहोर्याएका छन्।
प्रधानमन्त्री ओलीले पेट्रोल उत्पादन कार्य पनि सुरु गर्न लागिएको दाबी गरे। नचाहिने कुराहरू आयत गर्न रोक लगाउने पनि प्रधानमन्त्री ओलीले बताएका छन्। उनले हेटौँडा कपडा कारखाना तत्काल संचालनमा ल्याउने घोषणा गरेका छन्। त्यसका लागि आवश्यक मेसिनहरू तत्काल खरिद गर्ने प्रधानमन्त्री ओलीले योजना सुनाएका छन्। उनले उद्योग स्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने पनि स्पष्ट पारेका छन्।
प्रतिक्रिया