काठमाडौँ । सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल हुँदैछ। तर राष्ट्रियसभामा भने शुक्रबारदेखि मात्र छलफल हुने बताइएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको वार्षिक बजेटका विनियोजन विधेयकसहित सबै आश्रित विधेयक संसदमा पेस भइसकेका छन्। पेस भएका विधेयकमाथि आजदेखि छलफल हुन लागेको हो।
अर्थमन्त्रीले मंगलबार वार्षिक बजेट संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेस गरेका थिए। १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट अर्थमन्त्रीले पेस गरेका हुन्। बजेट छलफलका लागि प्रतिनिधिसभाले तीन दिनको समय तोकेको छ। आजदेखि सुरु हुने छलफल आइतबार सकिनेछ। आइतबार बजेटमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन्।
काँग्रेस संसदीय दलको बुधवार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले मंगलबार प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल गर्दै कर र ऋणको भार बढाएकाले उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्ने निष्कर्ष निकालेको थियो । कांग्रेसले न्यायपालिकाको धज्जी उडाउदै बालकृष्ण ढुंगेललाई कैद मुक्त गरेको विषयमा समेत संसदमा प्रतिकार गर्ने जनाएको छ । आजबाट वजेटका विषयमा हुने छलफलमा नेपाली कांग्रेसको प्रस्तुती कस्तो रहन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
अर्थमन्त्रीले दुबै सदनमा जवाफ दिनेछन्। बजेटका विधेयकमध्ये विनियोजन विधेयक ढिलामा पनि असार मसान्तभित्र पारित भइसक्नु पर्नेछ।
प्रतिक्रिया