देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रित्तो ढुकुटीमा अर्बपतिको रजाइँ

देशान्तर

काठमाडौं । नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूले सरकार गठन भएको सय दिनको आसपासमा आएर आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । जेठ ७ गते सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूले बुधबार सार्वजनिक गरेको विवरणमा मन्त्रीहरूको सम्पत्ति अप्रत्याशित रूपले बढेको भेटिएको छ ।

प्रधानमन्त्री ओलीः प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षको अन्तरालमा स्वआर्जनबाट ४१ लाख कमाएको विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री केपी ओलीका नाममा एभरेस्ट बैंकमा ४२ लाख, माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख गरी जम्मा ५२ लाख बचत छ ।

ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा श्रीमती राधिकाको नाममा १४ लाख र आफ्नो नाममा एभरेस्ट बैंकमा ७ लाख गरी २१ लाख मात्र भएको बताएका थिए । नौ महिना प्रधानमन्त्री भएका ओलीको खातामा दोस्रो पटक प्रधानमन्त्री बनेको तीन महिनामा ३१ लाख नगद थपिएको छ । ओलीले अघिल्लोपटक श्रीमती राधिका शाक्यले राष्ट्रिय बचतपत्रमा १५ लाख लगानी गरेको उल्लेख गरेका थिए ।

अहिले २५ लाखको राष्ट्रिय बचतपत्र किनेको जनाएका छन् । ओलीकी श्रीमती राधिका शाक्यको नाममा भक्तपुरमा साढे एक रोपनी जग्गामा तीनतले घर र झापामा १० कट्ठा जमिनसहित प्रधानमन्त्री ओलीले करिब १८ तोला सुनका गरगहना सार्वजनिक गरेका छन् ।

रक्षामन्त्री ईश्वर पोखरेलः रक्षामन्त्री इश्वर पोखरेल पनि गनिने करोडपतिमा परेका छन् । ओखलढुंगाबाट बसाइ झरेका पोखरेलको सबैजसो सम्पत्ति उनकी पत्नी मीरा पोखरेलको नाममा रहेको छ । मीराको नाममा काठमाडौंको टोखामा ३३ आनामा बनेको ३ तले घर, नगरकोटमा १ रोपनी ११ आना, धादिङमा ४ रोपनी जग्गा, ९ तोला सुन र २५ तोला चाँदी छ ।

मीराकै नाममा नेपाल राष्ट्र बैंकमा पेन्सन बचत, एभरेस्ट बैंकमा १ लाख ४० हजार, सानिमा बैंकमा ५ लाख, वरुण हाइड्रोमा १० हजार सेयर, कृषि विकास बैंक २०० कित्ता सेयर र मोडर्न कन्या मल्टिपल कलेजमा ५ हजार कित्ता बराबरको सेयर रहेको छ । रक्षामन्त्री ईश्वरको नाममा झापामा १० कट्ठा पैत्रिक सम्पत्ति र ७ लाख बैंक मौज्दतमात्र रहेको उल्लेख छ ।

गृहमन्त्री रामबहादुर थापाः माओवादी जनयुद्धताका निकै सम्पत्ति कमाउन सफल भनिएका गृहमन्त्री रामबहादुर थापाले देखाएको सम्पत्ति भने अन्य मन्त्रीहरूको तुलनामा निकै कम छ । थापाले आफ्नो सम्पत्तिमा दुईवटा कुकुरसमेत भएको विवरण उल्लेख गरेका छन् ।

उनकी श्रीमती नैनकला थापाको नाममा चितवनमा अंशबन्डाबाट पाएको एउटा घरजग्गा, ६ तोला सुन र ३ लाख नगद साथमा छ भने दुईवटा बैंकमा तीन लाख ८० हजार बचत रहेको पनि खुलाएका छन् ।

श्रीमतीको नाममा माथिल्लो तामाकोसीमा १ सय ४६ कित्ता सेयर र कर्मचारी सञ्चयकोष कट्टी हुँदा आएको रकमबाट सेयर किनेको थापाले उल्लेख गरेका छन् ।

मन्त्री रघुवीर महासेठः भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ यो मन्त्री परिषद्का सबैभन्दा धनी मन्त्रीको सूचीमा परेका छन् । उनले ४० करोड माथिको सेयर र डेढ सय बिघाभन्दा बढी जमिन भएको विवरणमा २३ करोड ऋण मात्रै देखाएका छन् ।

ललितपुरको भैँसेपाटीमा ५८ सय वर्गफिट जग्गामा साढे २ तलाको घर, धनुषामा ६५ सय वर्गफिट, धनुषामै अर्को ८ बिघा र सिन्धुलीको कमलामाईमा ५ कट्ठा जग्गा छ । ललितपुरको नख्खुमा २ रोपनी १३ आना, ललितपुरकै धोबीघाटमा एक रोपनी ७ आना, जनकपुर उपमहानगरपालिकामा ९ कट्ठा, धनुषाको दिगम्बरपुरमा ९६ बिघा, धनुषाकै पटेरबामा ३९ बिघा र अर्को १० बिघा १० कट्ठा जग्गा छ ।

श्रीमतीकै नाममा धनुषाको जनकपुरमा साढे २ तलाको पक्की घर छ । उनले २६ तोला सुन पैतृक र २५ तोला सुन दाइजोबाट प्राप्त भएको देखाएका छन् ।

श्रीमती जुली महतोको नामबाट विभिन्न संघसंस्थामा करिब ४० करोड सेयर लगानी भएको छ । मन्त्री महासेठले ७२ लाख नगद रहेको विवरण पनि बुझाएका छन् ।

मन्त्री युवराज खतिवडाः अर्थमन्त्री युवराज खतिवडा केपी ओली नेतृत्वको सरकारका दोस्रो धनी मन्त्री हुन् । उनीसँग ८ वटा बैंक तथा वित्तीय संस्थामा गरी ७२ लाख ३३ हजार रुपैयाँ छ । त्यसबाहेक दुईवटा बैंकमा युवराज खतिवडाको नाममा रहेको डलर एकाउन्टमा ६२ हजार ७०३ डलर (६७ लाख ६३ हजार रुपैयाँ बराबर) व्यालेन्स रहेको छ ।

पत्नी कमला खतिवडाको नाममा २१ लाख १६ हजार रुपैयाँ बैंक ब्यालेन्स र खतिवडासँग नगद १ लाख ५० हजार रुपैयाँ रहेको उल्लेख छ ।

उनको नाममा काठमाडौं ४ मा २० आनामा बनेका २ वटा घर, चाँगुनारायणमा १२–१२ आना जग्गा, झापाको गौरादह, दोलखाको जिरी र काठमाडौँ कागेश्वरीमा ४ रोपनी एक आना जग्गा रहेको खतिवडाले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनीसँग १० तोला सुन र एक किलो चाँदीसमेत रहेको उल्लेख गरेका छन ्। खतिवडाको नाममा विभिन्न सहकारी हाइड्रोमा करोडौंको सेयर लगानी रहेको छ ।

मन्त्री लालबाबु पण्डितः सबैभन्दा गरिब भनिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि दुई वर्षको अन्तरालमा करोडपतिमा उक्लिएका छन् ।

अघिल्लो पटक सम्पत्तिमा थोत्रो साइकल देखाउने मन्त्री लालबाबु पण्डितसँग अहिले नगदमात्रै ५५ लाख, एभरेस्ट बैंकमा २५ लाख र श्रीमती विमलाको नाममा एभरेस्ट बैंक र कृषि विकास बैंकमा ३० लाख रुपैयाँ छ । उनीहरूसँग १० तोला सुन र १५ तोला चाँदी छ ।

उनीसँग श्रीमतीको नाममा ललितपुरको भैंसेपाटीमा ४ आना जग्गा जसको मूल्य एक करोडभन्दा माथि छ । उनले २०७२ मा पेस गरेको सम्पत्ति विवरणमा सर्लाहीको धनगढा–६ मा १२ कट्ठा जग्गा रहेको उल्लेख गरेका थिए । तर, त्यो अहिलेको सम्पत्ति विवरणमा छैन ।

सर्लाहीकै बसबरियामा चार बिघा जग्गा र विराटनगरमा एक कट्ठा जमिनमा पाँचकोठे पुरानो घर भएको उल्लेख गरेका छन् ।
मन्त्री मातृकाप्रसाद यादवः उद्योगमन्त्री मातृकाप्रसाद यादव पनि दुई वर्षअघि ५ लाखबाट गनिने करोडपति मन्त्रीको सूचीमा परेका छन् ।

यादवले ललितपुरको चापागाउँमा एक करोड ५ लाखको घडेरी, १६ तोला सुन, विभिन्न बैंकको खातामा ५ लाख ५२ हजार नगद रहेको र श्रीमतीको नाममा बा.१४प ७३० नम्बरको गाडी रहेको बताए पनि गाडीको मोडल र मूल्य खुलाएका छैनन् ।

उनले सिरहा र धनुषामा रहेको जग्गामध्ये केही पैतृक भएको र बाँकी स्वआर्जन तथा ऋण लिएर खरिद गरेको दाबी गरेका छन् । तर, शान्तिप्रक्रियामा आएसँगै माओवादीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा यादवसँग नगद थिएन ।
मन्त्री वर्षमान पुन: पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ३५ वर्ष पुराना कच्ची घर र २ लाखको जग्गा भएको देखाएका छन । पुनले रोल्पामा ३५ वर्ष पुरानो ३ वटा घर रहेको उल्लेख गरेका छन् भने दाङ र रोल्पामा करिब २ लाख रुपैयाँ मूल्यबराबरको जग्गा देखाएका छन ।

पुनले १५ तोला सुन र आधा केजी चाँदी रहेको उल्लेख गरेका छन । तर, शान्तिप्रक्रियासँगै माओवादीले आफ्ना ३५ केन्द्रीय सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्दा वर्षमानले श्रीमती ओनसरी घर्ती र दुई बहिनीको गरगहनासमेत पार्टीमा बुझाएको उल्लेख गरेका थिए ।

त्यसपछि सरकारमा सहभागी हुँदा १५ तोला सुन र आधा केजी चाँदीमात्रै रहेको दाबी गर्दै आएका छन । उनले ११ लाख नगद सिंहदरबारस्थित एभरेस्ट बैंकमा आफ्नो र श्रीमतीको नाममा ३ लाख ३४ हजार र अन्यन्त्र थप ८ लाख नगद रहेको सम्पत्ति विवरणमा देखाएका छन् ।

मन्त्री चक्रपाणि खनालः कृषि विकासमन्त्री चक्रपाणि खनालले कपिलवस्तु र रूपन्देहीमा आफ्नो र श्रीमतीको नाममा साढे २८ कट्ठा पैतृक जग्गा रहेको उल्लेख गरेका छन् । शान्तिप्रक्रियालगत्तै माओवादीले सार्वजनिक गरेको उनको सम्पत्ति विवरणमा बुटवल र रूपन्देहीमा जम्मा १६ धुर जग्गा रहेको र त्यसको तत्कालीन मूल्य करिब ५ लाख भएको उल्लेख गरेका थिए ।

उनीसँग ६ तोला सुन भए पनि त्यसको आयस्रोत भने खुलाइएको छैन । शान्तिप्रक्रियालगत्तै पार्टीले सार्वजनिक गरेको उनको सम्पत्ति विवरणमा श्रीमतीको कानमा करिब १२ सय मूल्यबराबरको टप मात्र रहेको उल्लेख गरेका थिए । तर, उनीसँग अहिले विभिन्न बैंकमा गरी १४ लाख ९६ हजार नगद र विभिन्न बैंकमा १० लाख ३६ हजार बराबरको सेयर छ ।

मन्त्री गोकर्ण विष्ट :श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले श्रीमतीको नाममा काठमाडौं महानगरपालिका–२६ मा ४० लाखबराबरको घडेरी रहेको र उक्त घडेरी १५ वर्षे ऋणमा लिइएको दाबीसहित ७३ लाख ऋण देखाएका छन । विष्टले गुल्मीमा करिब ४० रोपनी पैतृक जग्गा रहेको पनि उल्लेख गरेका छन् ।

मन्त्री विष्टले करिब ७ तोला सुनका गहना रहेको विवरण बुझाएका छन् । उनको विभिन्न बैंकमा ७ लाख ३२ हजार रुपैयाँ बचत छ । नेपाल कृषि विकास बैंक र मेगा बैंकमा ३ सय १४ कित्ता सेयर छ । उनले विभिन्न बैंकबाट ७३ लाख ऋण लिएको उल्लेख गरेका छन् । त्यसमध्ये २०६३ मा सिद्धार्थ बैंकबाट होमलोनको रूपमा ३६ लाख ऋण लिएको खुलाएका छन ।

मन्त्री शेरबहादुर तामाङः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ पनि दरिला अर्बपति मन्त्री हुन् । मन्त्री तामाङको काठमाडौंको गोकर्णेश्वर–८ मा ३ आनामा बनेको अढाइतले घर छ । उनीसँग सिन्धुपाल्चोक र काठमाडौंमा १८ रोपनी जग्गा छ । यस्तै काठमाडौमा थप ६ आनाको घडेरी छ ।

श्रीमतीको नाममा मोरङमा १ बिघा ३१ कट्ठा र खोटाङमा १०५ रोपनी जग्गा छ । उनले ३० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन भने १५ लाखको सेयर र १ लाख २८ हजार नगद देखाएका छन् । तर, उनले विभिन्न प्रयोजनका लागि ७० लाख ऋण लिएको उल्लेख गरेका छन् ।

मन्त्री शक्तिबहादुर बस्नेत : तीनपटक मन्त्री भएका वन तथा वातावरणमन्त्री शक्ति बस्नेतको पनि केही सम्पत्ति बढेको देखिएको छ । मन्त्री बस्नेतसँग जाजरकोटमा एउटा पुख्र्यौली घर र छोरीको नाममा जाजरकोटमै ३ रोपनी ६ आना जग्गा छ ।

शान्तिप्रक्रियापछि पार्टीमा बुझाएको विवरणमा एक लाख पर्ने दुई रोपनी खेत देखाएका बस्नेतले भने अहिले केही सम्पत्ति थपेका छन । बस्नेतसँग ५ तोला सुन र १० केजी चाँदी छ । सुन र चाँदी पारिश्रमिक र पैतृक सम्पत्तिबाट जोडेको दाबी गरेका छन् ।

शान्तिप्रक्रियापछि उनले आफूसँग ५ हजार मूल्यबराबरको सुन मात्रै रहेको विवरण देखाएका बस्नेतसँग १५ लाख रुपैयाँ नगद छ । एभरेस्ट बैंकमा थप २ लाख रुपैयाँ नगद बचत छ । यस्तै, दुईवटा सहकारी संस्थामा ३ लाख १० हजारको सेयर छ ।
मन्त्री रवीन्द अधिकारीः पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी धातुमन्त्रीका रूपमा गनिएका छन् । उनीसँग पोखरामा दुईवटा पुख्र्यौली घर, काठमाडौंको बूढानीलकण्ठमा ५ आनामा बनेको घर, पोखरामै थप ९४ रोपनी ४ आना जग्गा छ  ।

मन्त्री अधिकारीले ६० तोला सुन र ३० केजी चाँदी र दुईवटा बैंकमा गरी २५ लाख ५७ हजार रुपैयाँ बचत देखाएका छन् । गण्डकी विकास बैंकमा २६ हजार र पानीखोला हाइड्रोपावरमा ३० लाखबराबरको सेयर रहेको खुलाएका छन् ।

मन्त्री जगतबहादुर सुनार: युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार पनि करोडपति मन्त्रीमा गनिएका छन् । सुनारले आफूसँग २० लाख बैंक ब्यालेन्स र ५० तोला सुन रहेको उल्लेख गरेका छन् । उनले आफ्नो नाममा नबिल बैंकमा रहेको १३ लाख बचत र हुमबहादुर बुडालाई २०७४ साल चैतमा ५ लाख ऋण दिएको उल्लेख गरेका छन् ।

सुनारले गरगहनामा २०५७ सालदेखि अहिलेसम्म गरेर करिब ५० तोला सुन र कास्कीको लेखनाथ महानगरपालिका वडा नम्बर १९ मा २०३६ सालदेखि बसोबास गर्दै आएको घर उल्लेख गरेका छन् ।

सुनारकै नाममा लेखनाथ महानगरपालिकामा १४ हजारमा खरिद गरेको पैत्रिक जग्गा रहेको छ भने श्री महेन्द्र माविको तीनकोठे भवन निर्माण गरेबापत पाएको ४ रोपनी जग्गा रहेको समेत उल्लेख छ । सावित्री सुनारको नाम ललितपुर उपमहानगरपालिकामा जग्गा रहेको उल्लेख छ ।

मन्त्री प्रदीप ज्ञवालीः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नाममा एभरेस्ट बैंकमा ३ लाख ५७ हजार २ सय ८३ रुपैयाँ बचत देखिएको छ कृषि विकास बैंकमा २ हजार रुपैयाँ रहेको छ । उनकी पत्नी सरस्वती ज्ञवाली अर्यालको नाममा काठमाडौं–३१ मा ४ आना २ पैसा ३ दामको जग्गामा दुईे घर रहेको छ । साथै २ तोला जति सुन रहेको उल्लेख छ ।

मन्त्री गिरिराजमणि पोखरेलः शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पनि आफ्नो नाममा घरजग्गा छैन । बाबुको नाममा खोटाङमा घरजग्गा रहेको छ ।

पोखरेलको नाममा दुई बैंक खातामा गरी ३ लाख ८० हजार रुपैयाँ नगद, रूपाकोट सामुदायिक रेडियोमा ५ हजार कित्ता सेयर र खोटाङमा भएको २२ रोपनी पुख्र्यौली जग्गा दान दिएको बताएका छन् ।

पटकपटक मन्त्री हँुदै आएका पोखरेलको पहिले र अहिलेको सम्पत्ति विवरणमा खासै फरक भेटिएको छैन । पोखरेल अहिलेसमेत पाँचपटक मन्त्री भइसकेका छन् ।

राज्य मन्त्री पद्माकुमारी अर्यालः स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याल पनि गनिने करोडपति मन्त्रीको समूहमा परेकी छन् । अर्यालसँग स्याङ्जाको वालिङ नगरपालिकामा १२ आना जग्गा, काठमाडौं, बर्दिया, रूपन्देहीमा ७२ लाखमा खरिद गरेको ७ वटा घडेरी र १५ तोला सुन तथा २० तोला चाँदी भएको विवरण बुझाएकी छन् ।

विभिन्न बैंकमा करिब १० लाख ५० हजार बचत, सहकारीहरूमा ७५ हजार रुपैयाँ र जनता बैंकमा एक लाख सेयर लगानी गरेकी छिन । मेगा बैंकमा ९३० कित्ता सेयर छ । एक बैकबाट ८ लाख ऋण लिएको र त्यसमध्ये ३ लाख तिरिसकेको उल्लेख गरेकी छिन् । उनले लक्ष्मीपति पौडेलको नाममा १ लाख ९९ हजारमा किनेको एउटा मोटरसाइकल पनि विवरणमा उल्लेख गरेकी छिन् ।

राज्यमन्त्री धनबहादुर बुढाः पर्यटन राज्यमन्त्री धनबहादुर बुढासँग १५० तोला सुन र चाँदी ३०० तोला रहेको छ । बुढाको सम्पत्ति बाँकेमा डेढ कट्ठामा बनेको दुईतले घर, डोल्पाको दुनेमा २ रोपनीमा बनेको ३ तले घर श्रीमती हिमाली बुढाको नाममा काठमाडौंको बौद्धमा १७ आनामा बनेको ७ तले घर र हिमालीकै नाममा डोल्पामा ५ आना जग्गामा बनेको २ तले घर रहेको छ । काठमाडौंको बौद्धमा ८ आना जग्गा, बौद्धमै १२ आना जग्गा,४० लाखको हाइलक्स गाडी, लाखौं बैंक ब्यालेन्स र सेयरमा लगानी रहेको छ ।

मन्त्री विना मगर : मन्त्री विना मगर गरिबमन्त्रीको दोस्रो सूचीमा छन् । तत्कालीन माओवादी अध्यक्ष दाहालकी बुहारी विनाको श्रीमान्पट्टिको सम्पती गणनायोग्य छैन । खानेपानी मन्त्री विनाको सम्पत्ति विवरणमा श्रीमान् प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर रहेको छ ।

उनको सम्पत्ति विवरणमा प्रकाश दाहालको नाममा रहेको स्कुटर, ५ तोला सुन र १६ तोला चाँदी पनि पैतृक सम्पत्ति भएको उल्लेख गरेकी छन् । मन्त्री मगरले सम्पत्ति विवरणमा चितवन भरतपुरमा श्रीमान् प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि उल्लेख गरेकी छन् ।

प्रकाश दाहालको जग्गा मावलीका हजुरआमाबाट पाएको र सासू सीता दाहालको नाममा रहेको जग्गा पैत्रिक भनिएको छ । मन्त्री मगरले आफूसँग एक रुपैयाँ पनि नगद नभएको खुलाएकी छन ।

मन्त्री थममाया थापाः महिला बालबालिकामन्त्री थममाया थापा सबैभन्दा गरिब मन्त्रीको सूचीमा परेकी छन् । थापाले बुझाएको सम्पत्ति विवरणअनुसार उनी गरिब मन्त्रीमा दर्ज भएकी छन् ।

थापासँग म्याग्दीको बेनी–८ मा ७ आनामा बनेको घर छ । उनीसँग आमाले दिएको १ तोला सुन र माछापुच्छ«े, एभरेस्ट र कुमारी बैंकमा गरेर जम्मा १५ हजार रुपैयाँ नगद रहेको छ ।