प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारसँग समन्वय र सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
आईतबार जनकपुरमा मुख्यमन्त्री राउतसंग भेट गर्न गएका नेपाल पत्रकार महासंघ प्रदेश २ का टोलीसँग कुरा गर्दै उनले पत्रकारको समस्याबारे आफुलाई जानकारी रहेकाले पत्रकारको हकहीत र सुरक्षाको सवालमा गम्भिर रहेको बताए ।
मुलुक संघीयतामा प्रवेश गरेतापनि संघीय सरकारले संघीयतालाई स्थानीय तहसम्मको व्यवस्थापन गर्न नसकेकाले सबै प्रदेशको अवस्था दयनीय रहेको अवगत गराउदै मुख्यमन्त्री राउतले पत्रकार महासंघलाई ध्यानमा राख्दै कार्यालय व्यवस्थापन, पत्रकारको दक्षता अभिवृद्धि, सीप, तालिम, पत्रकारको हकहीत र सुरक्षाको सवाल प्रति बजेटमा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारको समस्या, अभाव र जनताको लागि कार्य गर्नको लागि अग्रसरता लिईरहेको बताउदैँ पत्रकारसंग कसैको प्रभावमा नपरी सकारात्मक समाचारहरु प्रकाशन तथा प्रसारण गरिदिन आग्रह गरे ।
मोफसलबाट प्रकाशन तथा प्रसारण हुने प्रिन्टिंग तथा विद्युतीय सञ्चारमाध्यमलाई ध्यानमा राख्दै समानुपातिक विज्ञापन प्रणाली वितरणको लागि आफू तयार रहेको बताउदैँ मुख्यमन्त्री राउतले यसको लागि आवश्यक पहल लिनेमा विश्वस्त रहन आग्रह गरे।
उनले पत्रकारहरु माथि राज्यबाट भईरहेको विभिन्न खाले धाकधम्कीको घटना प्रति सरकार गम्भीर रहेकाले गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताए ।
नेपाल पत्रकार महासंघ प्रादेशिक उपाध्यक्ष केसी लामिछानेले मुख्यमन्त्रीसंगको भेटघाटमा प्रादेशिक सरकारलाई सघाउन र साझेदारी गरी अघि बढ्न लालायित रहेको बताउदैँ प्रदेश सरकारसंग समन्वय र सहयोगको अपेक्षा जतिसुकै बेला रहेको स्पष्ट पारे ।
मुख्यमन्त्री राउतसंग भेटघाट गर्ने टोलीमा प्रदेश समितिका उपाध्यक्ष रिंकु मिश्र, महासचिव किरण कर्ण, कोषाध्यक्ष प्रविण साह, सदस्यहरु अजय साह, बैद्यनाथ चौधरी र हदिस खुद्दार लगायत रहेका थिए ।
प्रतिक्रिया