देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली गजल : कसको जुँगा लामो, कसको नाक ठूलो ?

देशान्तर

पछिल्लो सवा दशकयता नेपाली गजल बहस र विवादको केन्द्रमा छ, नेपाली साहित्यमा । विक्रमको साठीको दशकदेखि नेपाली गजललेखनमा युवा स्रष्टाको बाक्लो उपस्थिति, गजलबारे अध्ययन, अनुसन्धान, प्रशिक्षण आदिमा तीव्रता, गजलले पाएको प्राज्ञिक स्वीकृति आदिका कारण पनि हुन सक्छ, यसरी गजलका बारेमा बहस र विवादमा तीव्रता आउनु । जे भए पनि अहिले नेपाली गजल नेपाली साहित्यमा अत्यन्तै धेरै लेखिने मात्र नभएर अत्यन्तै धेरै बहस र विवाद गरिने विधा पनि भएको छ । यो स्वाभाविक पनि हो ।

स्वाभाविक यस अर्थमा कि कुनै पनि विषय वा विधा धेरै प्रिय भएपछि वा विस्तृत र विस्तारित भएपछि त्यसबारे छलफल, बहस र विवाद हुन्छन् नै, हुनु पनि पर्छ र मात्र एउटा निश्चित निचोडमा पुग्न सकिन्छ । तर नेपाली साहित्यमा गजलबारे बहस र विवाद अलिक फरक दृष्टिले भइरहेको पाइन्छ । नेपाली गजलबारे स्थापित सर्जक, समालोचकहरूले नै सुरुसुरुमा ‘आयातीत’ विधा भनेर हेयको नजरले हेरिदिए । हुन पनि हो, गजल नेपाली माटोको होइन । अरबीमा जन्मिएर उर्दूमा हुर्किएर हिन्दी हुँदै नेपाली साहित्यमा मोतीराम भट्टले भित्र्याएका हुन् गजल । तर उसो त नेपाली माटोका मौलिक साहित्यिक विधा नै कति होलान् ? यतातिर भने यी सर्जक, समालोचकले अझै सोच्न सकेका छैनन् । यो उनीहरूको सीमा हो ।

अर्को कुरा नेपाली साहित्यका स्थापित सर्जकहरूले पनि कुनै समय गजल लेखे, लेख्ने प्रयास गरे तर गजलमा जम्न नसकेपछि ‘यो केटाकेटीले लेख्ने विधा’ भनेर आफू ‘प्रौढ’ भइसकेको भ्रममा हिँडे । यसले पनि नेपाली गजल अनावश्यक रूपमा आलोचित बनिरह्यो । अनि पछिल्लो समय अर्थात् विक्रमको साठीको दशकमा आएर गजलबारे खोज, अध्ययन र अनुसन्धानमा युवापुस्ता सक्रिय भएपछि विगतमा लेखिँदै आएको नेपाली गजल खास गजलको शास्त्रीय मान्यतामा रहेनछ भन्ने बोध भयो र यही कुरा स्थापित गराउने प्रयत्नमा युवापुस्ता लाग्दा पुराना स्रष्टा र नयाँ स्रष्टाबीच द्वन्द्व सुरु भयो । त्यसमा केही पुराना स्रष्टाले पनि मलजल गरे । अन्ततः यो बहसबाट विवादमा रूपान्तरण भयो । अनि स्पष्ट तीन धार देखिए नेपाली गजलमा– पहिलो लयविहीन धार, जसको नेतृत्व ज्ञानुवाकर पौडेलले गरे । दोस्रो आक्षरिक, लोकलयको धार, जसको नेतृत्व गरे ललिजन रावलले । र, तेस्रो धार बन्यो शास्त्रीय बहर वा छन्दवादी धार, जसको नेतृत्व डा.घनश्याम परिश्रमीले गरेको मानिन्छ ।

यी सबै धार आफैंमा पूर्ण छैनन् भनेर अर्को पक्ष निस्कियो साठीकै दशकमा, अनाममण्डलीका नाममा संगठित रूपमा । राजधानीमा स्थापित यस संस्थाले गजलका आधारभूत मान्यतामा शास्त्रीय बहर वा छन्द, काफिया, रदिफको उचित पालना, प्रभावकारी शिल्प, शालीन प्रस्तुतिलाई महत्त्व दियो । गजलमा लय काफियाजत्तिकै अनिवार्य तत्त्वका रूपमा मान्यो । यसैकारण गजलको विवाद झनै चर्किंदै पनि गयो । कारण, काफिया र रदिफको संयोजनलाई नै गजलको आधारभूत मान्यता ठान्नेहरूले ‘नेपाली गजललाई विकसित हुनबाट रोक्ने प्रयास’का रूपमा अनाममण्डलीको अभियानलाई चित्रित गरे, जुन अन्ततः गलत सावित हुँदै गएको अवस्था छ । यद्यपि, यस कुरामा भित्र सबै पक्ष सहमत भए पनि बाहिर खुलेर भन्न सकिरहेका छैनन् ।

यसको कारण जुँगाको लडाइँ वा नाकको प्रतिस्पर्धा हो भन्ने कुरामा दुई मत छैन । ज्ञानुवाकर पौडेलले चालीस वर्षदेखि गजलका नाममा रचना गर्दै आएका छन्, जसमा काफिया र रदिफको संयोजन नै गजल हो भन्ने मान्यता देखिन्छ । लयका बारेमा लगभग अनभिज्ञ छन् उनी अथवा लयलाई बेवास्ता गरेका छन् उनले, जुन गजलको अत्यन्तै महत्वपूर्ण पक्ष हो । चालीसको दशकदेखि नै गजलका नाममा रचना गर्दै आएका ललिजन रावलले चालीसको दशकको अन्त्यतिरदेखि गजलमा लयको अनिवार्यताबारे बोल्दै आएका भए पनि उनले पनि गजलको खास लय शास्त्रीय बहर वा छन्द हो भन्ने कुरालाई आजका दिनसम्म स्वीकार गर्न सकेका छैनन् । र, डा. घनश्याम परिश्रमी, जो गजलमै विद्यावारिधि प्राप्त सर्जक, समीक्षक पनि हुन्, उनले गजलको शास्त्रीयता बहर वा छन्द हो भन्ने थाहा पाए तापनि उनले बहर वा छन्दमा मात्र बढी केन्द्रित भएर बहस गरेको र त्यसरी नै रचना गरेको पाइन्छ । यसर्थ यी तीनै धार पूर्ण छैनन् भन्ने निष्कर्षमा पुग्न सकिने भयो । यही तथ्य आज पंक्तिकारले लेखेर, बोलेर बाहिर ल्याउँदै गरेको छ ।

पछिल्लो समयको नेपाली गजलको विवाद जुँगाको लडाइँ वा नाकको प्रतिस्पर्धा किन पनि हो भने उल्लिखित तीन धारका ‘अग्रज’हरूमा आफ्नै मान्यता सही, आफूले बुझेको मात्र ठीक, मेरै बाटोमा सबैले हिँड्नुपर्छ भन्ने अहं बढी देखियो, जबकि गजलको शास्त्रीयताको कसीमा राखेर हेर्ने हो भने उहाँहरू कसैका पनि गजल भनिएका रचना खास गजल हुन सकेका छैनन् । तर उहाँहरूलाई आफ्नो अस्तित्व जोगाइराख्ने समस्या छ । आफूले तीन, चार दशकदेखि गजल भनेर लेखेका रचना आज आएर गजल नै भएनछन् भन्न सक्नु सानो मुटुले गर्न सक्ने कुरा होइन । बरु आआफ्नै ढिपीले आफ्ना धार स्थापित गर्न सकिन्छ कि भन्ने गलत सोच उहाँहरूमा व्याप्त छ । अनि उहाँहरू आफ्ना आफ्ना अनुयायी अनुजहरूबीच विवाद र तनाव सिर्जना गरिदिएर आफ्ना कमजोरी स्थापित गराउन चाहनुहुन्छ । यही तथ्य अनुजहरूले नबुझिदिँदा नेपाली गजल विवादमा परेको हो अहिले ।

वास्तवमा गजल हाम्रो माटोको विधा होइन, सत्य हो । तर हामीले गजल नै भनेर लेख्ने हो भने यसका पूर्वनिश्चित र पूर्वनिर्मित सिद्धान्त छन् । ती सिद्धान्तको न्यूनतम पालना गर्न सक्नुपर्छ । ती न्यूनतम सिद्धान्त पनि पालना गर्न सकिँदैन भने गजल नै लेख्नु जरुरी हुँदैन, अन्य धेरै विधा छन् भाव सम्प्रेषणका लागि, त्यता कलम दौडाउनु हितकर हुन्छ ।

अन्त्यमा,
नेपाली गजलको विवादको कारण अग्रजहरूलाई अन्ध भएर विश्वास गर्नु तर अग्रजहरू नै गजलका बारेमा जानकार नहुनु अनि अग्रजहरूले आआफ्नै डम्फुका तालमा अनुजलाई नचाउने दुष्प्रयास गर्नु, गजलका बारेमा यति धेरै पढ्ने, बुझ्ने सामग्री प्राप्त हुँदा पनि अध्ययनमा युवापुस्ताले रुचि नदेखाउनु, अग्रजकै भनाइ र गराइ तथ्य हो भन्ने अनुजहरूमा गलत विश्वास रहनु र तथ्य कुरा अग्रजहरूले नभनिदिनु आदि देखिन्छन् ।

वास्तविकता यो हो कि अब अग्रजहरूबाट गजलका शास्त्रीय बहर, छन्दबारे पढेर, बुझेर बहर वा छन्दमा रचना गर्न संभव छैन । तर गजलको शास्त्रीयता बहर वा छन्द नै हो भन्ने कुरा स्वीकार गरेर अनुज पुस्तालाई त्यहीअनुसार सशक्त गजल सिर्जना गर्न उत्प्रेरित गर्नु उहाँहरूको दायित्व हो । यसो गर्दा उहाँहरू अपमानित हुनुहुन्न किनभने नेपाली गजलको गोरेटोलाई कम्तीमा ग्राभेल गर्ने काम उहाँहरूबाटै भएको हो । अब पिच गर्ने जिम्मा युवापुस्ताको हो, त्यसमा साथ दिने र हौसला बढाउने काम अग्रजको हो । यसो नगरेमा अग्रजको पनि मूल्य हुनेछैन, नेपाली गजलको पनि विकास र विस्तार अनि परिष्कार सम्भव छैन ।