देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिबीच आकस्मिक भेटवार्ता

देशान्तर

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनबीच फेरि भेट र छलफल भएको छ। दुवै नेताहरूबीच चार हप्ताभित्र भएको यो दोस्रो भेट हो। यो भेटलाई विश्वभर आश्चर्यजनक रुपमा लिइएको छ। उत्तर कोरिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर वार्ता मे २४ जेठ १० एक्कासी रद्द भएको घोषणा गरेका थिए। उक्त कदमले विश्वभरमा ट्रम्पको आलोचना र उत्तर कोरियाले वार्ताका लागि तयार रहेको तथा उक्त घोषणाले दुःखित बनाएको बताएको थियो।

ट्रम्पको उक्त कदमको अमेरिकी कंग्रेसमा पनि व्यापक आलोचना भएको थियो। त्यसपछि शुक्रबार मात्र ट्रम्पले जुन १२ का लागि तय भएको शिखर वार्ताको सम्भावना कायमै रहेको घोषणा गरेको थियो। डोनाल्ड ट्रम्पको यस्तै अस्थिर वक्तव्यका बीच उसको साझेदार मानिएको दक्षिण कोरिया र उत्तर कोरियाका नेताबीच शनिबार दिउँसो दुवै देशको सीमामा रहेको गैह्र सैनिक इलाका पानमुजोममा भएको हो। उक्त छलफल दुई घण्टासम्म चलेको थियो। पानमुनजोम कोरियाली प्रायद्वीपको एकमात्र ठाउँ हो जहा उत्तर र दक्षिण कोरिया तथा अमेरिकी सेना एकअर्कासँग शान्ति वार्ताका लागि भेट एवं छलफल गर्ने गर्छन्। यहाँ १९५३ को युद्धपछि युद्धविरामको अवस्था लागू भएको छ।

दुई नेताबीचको यो अचानक भएको भेटबारे दक्षिण कोरियाको प्रधानमन्त्री कार्यालयले अमेरिकासँग हुन लागेको शिखर वार्ताका बारेमा छलफल भएको जानकारी दिएको छ। उक्त कर्यालयका अनुसार शिखर सम्मेलन जसरी भएपनि जुन १२ मै सम्पन्न गर्नेबारे दुवैदेशका नेताहरूबीच छलफल भएको थियो। पछिल्लो समय उत्तर कोरिया अमेरिकासँग छलफल गर्न उत्सुक देखिएको छ। उसले अमेरिकाको माग अनुसार परमाणु हतियार उत्पादन क्षेत्र नष्ट पारेको छ। त्यस्तै पछिल्लो समय काफी संयम भएर अभिव्यक्ति दिइरहेको छ।

उसले अमेरीको विदेशमन्त्रीसँग पनि पटक पटक भेट गरेको छ। त्यस्तै उत्तर कोरियामा बन्दी जीवन बिताइरहेका तीन अमेरिकी नागरिकलाई पनि रिहा गरेर अमेरिका पठाएको छ। जसको अमेरिकाले प्रसंशा गरेको थियो। यता दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर भने उसले कडा अभिव्यक्ति दिएको थियो। जसलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्प भड्किएका थिए र शिखर सम्मेलन रद्दको घोषणासम्म पुगेका थिए। जसलाई पुनः कायमै राख्न उत्तर कोरिया सक्रिय रहेको छ।