काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले आज बिहान साढे पाँचबजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको छ ।
सुन तस्करी र सनम शाक्यको हत्याको अनुशन्धान गर्न गठन भएको समितिले आज गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि गोरेलाई सार्वजनिक गरेको छ । समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए । उनले गोरेलाई आजै मोरङ जिल्ला अधालतमा प्रस्तुत गर्ने गरी विराटनगर पठाइएको छ ।
सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना अझै फरार छन् । प्रहरीले मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सहित फरार सबैको खोजी गरिरहेको जनाएको छ । जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको र अपहरण तथा शरिर बन्धकसहित कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या सम्बन्धी छानबिन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । समितिले पक्राउ परेका व्यक्तिहरूबाट बरामद प्रमाण एवं फरार रहेका अभियुक्तहरूबीचको आर्थिक कारोबारका आधारमा गोरलाई पत्राउगर्न सफल भएको बताएको छ ।
गोरेका सहयोगीहरूले बितेको पाँच वर्षमा ४ सय २१ पटक गरी ३ हजार ७ सय ९९ किलो ५९ ग्राम सुन भित्र्याएको तथ्य फेला परेको समितिले जनाएको छ । जसको नेपाली बजार मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३१ रुपैयाँ हुने समितिले जनाएको छ ।
प्रतिक्रिया