देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रमा विश्वासको खडेरी

देशान्तर

काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रमा सरकारमा सहभागी र सरकारमा सहभागी नभएका बीचमा अविश्वासको खाडल बढ्दै गएको छ भने पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी भएका मन्त्रीलाई समेत विश्वास गर्न छाडेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार नेतृत्व गरेको सय दिन पनि पुग्न नपाउँदै एकातर्फ दाहालको चर्को आलोचना सुरु भएको छ भने अर्कोतिर दाहाल आफैंले नियुक्त गरेका मन्त्रीहरूप्रति दाहालले अविश्वास व्यक्त गर्न थालेका छन् ।परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा सार्वजनिक बिदा घोषणा गरेको, इमानदार र क्षमतावान्लाई पन्छाएर आफू र परिवारका सदस्य रिझाउनलाई राजनीतिक नियुक्तिमा लागेको आरोप लगाउँदै पार्टीभित्र प्रधानमन्त्री दाहालको आलोचना सुरु भएको छ । 

भारतको गोवामा जाँदा प्रधानमन्त्री दाहालले आफ्ना पराराष्ट्र मामिलाका सल्लाहकार ऋषि अधिकारीको नाम काटेर निजी चिकित्सक युवराज भुसाललाई लगेको, प्रशासनिक सल्लाहकारमा भाइ नारायण दाहाललाई नियुक्ति गरेको तथा सचिवालयमा छोरा प्रकाश दाहाललाई नियुक्ति दिएको विषय भित्रभित्रै भुसको आगो जस्तै सल्कन थालेको बताइएको छ । 

अर्कोतर्फ प्रधानमन्त्री दाहालले पनि आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलाई असफल तथा बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गर्न थालेका छन् ।  शुक्रबार माओवादी केन्द्रका केही मन्त्री र सचिवालय पदाधिकारीसँगको अनौपचारिक छलफलमा प्रधानमन्त्री दाहालले पार्टीभित्र आफू, पार्टी र सरकारलाई असफल पार्न चलखेल र सक्रियता बढेको भन्दै आक्रोश पोखेका थिए । उनले सरकारलाई बदनाम गराउन माओवादी केन्द्रका को को लागेको भन्ने बिषय भने खुलाएका थिएनन् । 

दाहालले बैठकमा त्यो समूहका कारण उनले सरकार गठनदेखि अहिलेसम्म आमजनताबीच सकारात्मक ढंगले प्रस्तुत हुन नसकेको र सरकारविरुद्ध नकारात्मक सन्देश प्रवाह भइरहेको बताएका थिए  । सहभागी एक मन्त्रीका अनुसार जसरी पनि नेपालबाट माओवादीलाई समाप्त पारेर एक्लो वृहस्पति बन्ने योजना एमाले र आफ्नै पार्टीभित्र एउटा समूह लागेको दाहालले गुनासो गरेका थिए । 

पार्टी अध्यक्षलाई समेत जानकारी नदिई अख्तियार प्रमुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराइयो भन्ने प्रचार गरेर षड्यन्त्र सुरु भएको दाहालको भनाइ थियो । नेपालबाट माओवादी समाप्त गर्ने ग्य्रान्ड डिजाइनमा रहेको एमाले र प्रचण्डबिनाको माओवादी सम्भव छ भन्ने सोचाइ राख्ने पार्टीभित्रका समूहले लोकमानलाई दाहालले बचाउन चाहेको र आफूहरूले हटाउन चाहेको भन्दै गलत सन्देश प्रवाह गरेको भन्दै प्रधानमन्त्रीले आपत्ति जनाएको बताइएको छ । 

 

]]>