प्रदेश३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले गर्ने खर्चमा अनियमितता नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेशसभाको सार्वजनिक लेखा समितिमा शुक्रबार उपस्थित भई जवाफ दिँदै उनले सरकार चालु आर्थिक वर्षका लागि प्रस्तुत अनुमानित आयव्यय विवरणअनुसार मितव्ययी ढंगले खर्च गर्न तत्पर रहेको बताएका हुन्।
बैठकमा आर्थिक मामिलामन्त्री ढुंगेलले अर्थ बजेटअन्तर्गतको विविध खर्च चालु आर्थिक वर्षमा खर्च नहुने बताउँदै प्रदेश सरकारको बचत रकममा रहने बताए। त्यसैगरी, मन्त्रालयगत विविध खर्चको रुपमा विनियोजन गरिएको ६० लाख रुपैयाँ भने प्रदेश व्यवस्थापिका सचिवालय र सातवटा मन्त्रालयहरुले अतिथि सत्कार, प्रतिनिधि मण्डलको स्वागत, चियापान, कार्यालय सुरक्षालगायतका शीर्षकमा खर्च हुने मन्त्री ढुंगेलको भनाइ छ।
सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले विनियोजित बजेट आपरदर्शी र मितव्ययी ढंगले खर्च गर्न निर्देशन दिएको र मन्त्री ढुंगलको जवाफबाट अनियमिता नहुनेमा विश्वस्त हुँदै नियमित निगरानी गरिने बताए । चालु आर्थिक लागि सरकारले ल्याएको आयव्ययको अनुमानित विवरणमा अर्थ बजेट खर्चको विविध शीर्षकमा चालुतर्फ ३० करोड र पुँजीगततर्फ ३३ करोड ७० लाख विनियोजन गरेको थियो । त्यस्तै, मन्त्रालयगत विविध खर्च शीर्षकमा ६५ लाख विनियोजन गरेको थियो।
प्रतिक्रिया