काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान तथा स्ट्राइकर मणि शाहको मंगलबार अन्तिम संस्कार हुँदैछ । शाहको सोमबार बेलुका ५१ वर्षको उमेरमा निधन भएको थियो । शाहको शव अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान १० देखि १२ बजेसम्म दशरथ रंगशालामा राखिँदैछ । शाहको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तय भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सोमबार बेलुका उनलाई अन्तिम श्रद्धाञ्जली दिन अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापा, वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, फुटबलर सागर थापालगायत फुटबल क्षेत्रका प्रमुख हस्ती र अन्य फुटबलप्रेमीहरु नर्भिक अस्पताल पुगेका थिए ।
शाह कलेजोको समस्याका कारण शनिबार नर्भिक अस्पतालमा भर्ना भएका थिए । शाहलाई नेपाली म्याराडोनाको रुपमा पनि चिन्ने गरिएको छ । उनले सन् १९८५ देखि १९९८ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए । शाहको उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपालले सन् १९९३ मा भारतलाई हराएर दक्षिण एसियाली महासंघीय खेलकुदमा स्वर्णपदक जितेको थियो ।
प्रतिक्रिया