देशभरि बडो उत्सुकताका साथ हेरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी भ्रमणबाट हिजो स्वदेश फर्किए । तर नेपाली जनताले मोदीको यो भ्रमणबाट गरेको अपेक्षा पूरा हुन सकेन । औपचारिक रूपमा भारतले यो भ्रमणलाई मोदीको ‘तीर्थयात्रा’ भन्न चाहे तापनि भ्रमण अवधिभरि उनले तीर्थयात्रीका रूपमा बाहेक अनेक कुरा भन्न भ्याए । धेरैजसो लामालामा भावनात्मक कुरा गरे तापनि नेपाली जनताले सुन्न चाहेको विषयमा चाहिँ उनी मौन रहे । नेपालले छोटो समयमा तीनवटा चुनाव सम्पन्न गरेकोमा उनले मुक्तकण्ठले प्रशंसा गरे पनि जुन संविधानको आधारमा चुनाव सम्पन्न भएको हो त्यसबारे चाहिँ उनले कुनै पनि ठाउँमा एक शब्द पनि प्रकट गरेनन् । नेपाली जनताले आफ्नो प्रतिनिधिमार्फत अत्यधिक मतद्वारा निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई अहिले पनि भारतले समर्थन र स्वागत नगरेर पुरानै हठलाई कायम राख्नु नेपाली जनताको चाहना विपरीतको कार्य हो । देशका ९० प्रतिशतभन्दा बढी नागरिकको समर्थन रहेको संविधानलाई समर्थन गर्ने सट्टा मधेसका केही सीमित व्यक्तिले रहस्यमय ढंगले उठाइआएको धारणालाई प्राथमिकता दिनुलाई राजनीतिक पर्यवेक्षकहरूले ठूलो देशको सानो चित्त भनी टिप्पणी गरेका छन् । पुरानो भूललाई सच्याएर नेपाली जनताको मन र विश्वास जित्ने अवसर भारतले गुमाएको छ ।
त्यस्तै करिब तीन वर्षअघि आफ्नो निहित स्वार्थ अनुरूपको संविधान बनाउन खोज्ने केही मधेसवादीहरूले खडा गरेको भ्रममा परेर वा आफूले पनि त्यही अनुरूपको सोचाइ राखेर अप्रत्याशित रूपमा नेपालविरुद्ध नाकाबन्दी गर्नाले नेपाली र नेपाली जनतालाई परेको क्षति र कष्टलाई आत्मसात् गरी मोदीले यसपल्ट उक्त गलत निर्णयबापत नेपाली जनता समक्ष दुःख प्रकट गर्ने पनि अपेक्षा थियो । तर यस मामलामा पनि मोदीले कुनै टिप्पणी गर्न चाहेनन् । भ्रमणकोे प्रारम्भ मधेसको प्रदेश मानिने दुई नम्बरबाट गरेर तथा त्यहाँका मधेसवादीहरूलाई हौस्याएर उनले मधेसवादी आन्दोलन चर्काउनेहरूप्रति आफ्नो विशेष सद्भावना रहेको प्रस्ट पारेका छन् । भारतजस्तो विशाल मुलुक र सिंगो नेपालसित ऐतिहासिक एवं सुदृढ परम्परागत सम्बन्ध रहेको लोकतान्त्रिक मुलुकले सानो छिमेकी राष्ट्रको र एउटा सानो समुदायप्रति मात्र विशेष लगाव देखाउनुले भारतको गरिमा र महत्व घटाउने काम भएको छ ।
मोदी सरकारले भारतको पाँच सय र हजार दरका भारु नोटहरू अकस्मात प्रतिबन्धित गर्नाले नेपाली जनता र बैंकसँग रहेको करोडौं रुपैयाँ अलपत्र परेको छ । यसबारे नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा यहाँका उद्योगी र व्यापारीहरूले समेत अनेकौं पटक भारतलाई नेपालमा रहेका ती नोटहरूलाई साटी दिन आग्रह गर्दै आएको छ । तर यसपल्ट पनि मोदीले नेपालको त्यो पीडा र आग्रह सुनेको नसुनै गरे । यसैगरी २०७३ साल फागुनमा कञ्चनपुरमा भारतीय एसएसबीले गोली हानी हत्या गरेका कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारका गोविन्द गौतमको परिवारले अहिलेसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । त्यतिबेला यो घटनालाई नेकपा एमालेले राष्ट्रियतासँग जोडेर आन्दोलन गरेको थियो । मृतक परिवारलाई पाँच लाख रुपैयाँ सहयोगसमेत उपलब्ध गराएको थियो । तर मोदीको यो भ्रमणमा ओलीले यो विषय उठाउने हिम्मत गर्न सकेनन् ।
यसैगरी मोदीले २ नंं प्रदेशको विकासको लागि एक अर्ब रुपैयाँ दिने घोषणा गरे पनि अन्य क्षेत्रको लागि भने एक कौडीको पनि प्रतिबद्धता जनाएनन् । भूकम्पलगायत कतिपय सन्दर्भमा उनले यसअघि गरेका सहयोगका वाचाहरू अझै पूरा भएका छैनन् । ओलीको यो तेस्रो नेपाल भ्रमण हो । तर पहिलो भ्रमणमै गरेका कबुल र दिएका आश्वासनहरू उनले अझै पूरा गरेका छैनन् । यसपल्ट पनि जनकपुरमा जानकीलाई साक्षी राखेर तथा हिजो राष्ट्रिय सभागृहमा प्रबुद्ध नागरिक समाज सामु उभिएर नेपाली जनताको विश्वास र सद्भावना जित्न अनेकौं मीठा मीठा वाचा र प्रतिबद्धताहरू व्यक्त गरे पनि भारतको अहिलेसम्मको व्यवहार त्यसअनुरूप नभएको हुनाले मोदीको यो भ्रमण औपचारिकता निर्वाहमा मात्र सीमित रहन गयो । भ्रमणको क्रममा मोदीले आफ्नो वाकचार्तुय र कूटनीतिक क्षमताको प्रदर्शन चाहिँ सबैले महसुस गर्नेगरी प्रदर्शन गरे । मोदीले जनकपुरमा नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताएर मन जित्ने प्रयास गरे । उनले नेपालीहरूको हृदय सागरभन्दा पनि गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा पनि उच्च रहेको बताएर उपस्थितजनलाई मक्ख पारे । भारतीय प्रधानमन्त्री मोदीले भने, ‘नेपाल र भारतको आत्मीयता यो क्षेत्र (मिथिला) को सांस्कृतिक आस्थाले सिञ्चित रहेको छ ।’ मोदीले विश्वमा मिथिला सांस्कृतिकको आख्यान सबैभन्दा माथि रहेको बताउँदै विद्यापतिका रचनाहरू दुवै देशमा समान रूपले महत्व राखेको बताए । उनले मिथिला चित्रकला विश्वमा प्रसिद्ध रहेको बताउँदै सो कलामा प्रस्तुत गरिएको परिवेश महिला सशक्तीकरण तथा जलवायु परिवर्तन र पर्यावरणीय सचेतनालाई परिलक्षित गरिरहेको बताए ।
नेपाल–भारतको मित्रता त्रेता युगदेखि नै रहँदै आएको स्मरण गर्दै उनले आस्था, अपनत्व, रोटी बेटीको सम्बन्धले नेपाल–भारतको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए । उनले राम जानकीको सम्बन्ध बिना अयोध्या अधुरो रहेको बताउँदै नेपाल–भारतका जनताको सुख र चुनौती तथा सपना र संकल्प पनि एउटै भएकाले दुवै देश मिलेर यसको सामना गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो यो भ्रमण प्रधानमन्त्रीका रूपमा भन्दा पनि प्रधान तीर्थयात्रीका रूपमा भएको बताउँदै धार्मिक यात्राका क्रममा रामेश्वरम्बाट पशुपतिनाथ आउनुपर्ने र लुम्बिनीबाट बोधगया तथा अवधबाट जनकपुर पुग्नुपर्ने परम्पराअनुसार आफू पनि तीर्थयात्रीका रूपमा जनकपुर आइपुगेको बताए । मोदीले भारत चाँडै नै विश्वको तेस्रो अर्थ व्यवस्थाको देश हुन गइरहेकाले जसरी भारत आर्थिक रूपले समृद्ध हुन्छ, त्यसैगरी नेपालको विकासको गति पनि तीव्र हुने बताए ।
यसैगरी, शनिबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा पनि मोदीले तीन तहको चुनाव सम्पन्न गरेकोमा नेपालको प्रशंसा गरे । उनले काठमाडौं प्रशस्तीमा निकै शब्द खर्च गरे । भारतीय प्रधानमन्त्री मोदीले नेपालमा हालै सम्पन्न भएको संघीय, प्रान्तीय र स्थानीय निर्वाचन यस क्षेत्रमै उदाहरणीय भएको समेत बताए । उनले चुनावदेखि आईपीएल क्रिकेटसम्मको चर्चा गर्न भ्याए । उनले नेपालका क्रिकेटर सन्दीप लामिछानेले आईपीएल खेलेकोमा प्रशंसासमेत गरे । उनले नेपालको विकासमा क्षेत्रीय विकासको सूत्र जोडिएको हुँदा अब नेपालको विकास तीव्र गतिमा हुने विश्वास व्यक्त गर्दै विद्युत्, रेल, भन्सार, चेकपोस्ट, हवाईसेवा, जलमार्गको विकास पनि नेपालसँग जोड्नुपर्ने बताए ।
प्रतिक्रिया