काठमाडौं । कांग्रेस उपसभापतिमा मनोनीत भएपछि नेता विमलेन्द्र निधिले बीपी कोइराला र उनका पूर्वजको ठाउँ सिन्धुलीको दुम्जा पुगेर वीपीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । हिजो गृहनगर धनुषा पुगेर पिता महेन्द्रनारायण तथा पूर्वजको दाहसंस्कार गरिएको ठाउँ पुगेर माल्यार्पण गरेका उपसभापति निधि सोमबार राति दुम्जा पुगेका थिए । आज बिहान कोइरालाको पूर्बजको ठाउँ दुम्जा पुगेर निधिले भने–‘म कांग्रेसको राजनीतिमा यहाँसम्म बीपी कोइरालाको आशीर्वादले नै पुगेको छु । त्यसैले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न दुम्जा आएको हुँ ।’
२०३६ सालमा नेता निधिलाई वीपी कोइरालाले नै नेवि संघको अध्यक्ष बनाउनु भएको थियो । २०३६ सालमा जनकपुरमा भएको नेपाल बिद्यार्थी संघको महाधिवेशनबाट निधि अध्यक्षमा निर्वाचित भएका थिए । उनी संस्थापक अध्यक्ष वीपीन कोइराला, त्यो भन्दा पछि शेरबहादुर देउवा र देउवा पछि निधि नेपाल बिद्यार्थी संघको अध्यक्ष भएका हुन् । त्यो बेलामा अध्यक्षको दाबेदार बेनुपराज प्रसाई थिए । तर वीपी कोइरालाले निधिलाई नेपाली बिद्यार्थी संघको अध्यक्ष बनाउनका लागि निर्देशन दिएपछि निधि अध्यक्ष भएका हुन् । नेपाल बिद्यार्थी संघको अध्यक्ष भएसंगै निधिको राष्ट्रिय छवि निर्माण भएको हो ।
पार्टीका नेता तथा कार्यकर्तासंगको भेटघाटमा उपसभापति निधिले कांग्रेसको नेतृत्वमा सम्पन्न गत निर्बाचमा पार्टीले हार बेहोर्नु परे पनि देश, लोकतन्त्र र संसदीय व्यबस्थाको जित भएको भन्दै पाँच बर्षपछि हुने चुनाबमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे । तर यसका लागि पार्टीमा कुनै किसिमको गुटउपगुट हुन नहुने भन्दै उनले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने बिषयमा बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुसंग आफूले कुरा गर्ने उल्लेख गर्दै नेता निधिले पदाधिकारी चयन लगत्तै नेताहरुलाई भेटेर त्यसको शुरुवात गरेको पनि जानकारी गराए ।
बीपी राजमार्गदेखि दुम्जासम्मको बाटो बनाउने काम आफू भौतिक पूर्बाधार मन्त्री हुँदा सम्पन्न भएको स्मरण गर्दै उपसभापति निधिले यो क्षेत्रमा व्याप्त खानेपानीको समस्या समाधानका लागि आफूले सरकारसंग पहल गर्ने बताए । वीपी पार्क र संग्रहालय बनाएर दुम्जालाई संपूर्ण प्रजातन्त्रबादीको आस्थाको केन्द्र बनाउनका लागि कांग्रेसले पहल गर्ने पनि उपसभापति निधिले उल्लेख गरे । त्यस अबसरमा प्रदेश नंबर २ का कांग्रेस साँसद ओम प्रकाश शर्मा, नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल बराल, पूर्ब सांसद मोहन बराल, दीपशिखा शर्मा, रामहरि खतिवडा लगायतले दुम्जाको विकासका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया