काठमाडौं । नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघको विवाद चरमोत्कर्षमा पुगेको छ । नेपाल बिद्यार्थी संघका दुईवटा समुहले भोली एकै समयमा एकै ठाँउमा दुईवटा कार्यक्रमको आयोजना गरेका छन् । सुन्दरीजलस्थित वीपी संग्रहालयमा सभापति शेरबहादुर देउवा निकट समुह र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्ण सिटौला समुहले स्ववियु सभापति तथा पदाधिकारीहरुको सुन्दरिजल स्थित वीपी संग्रालयमा एकै समयमा अलग–अलग प्रशिक्षण कार्यक्रमको आयोजना गरेका छन् ।
सभापति देउवा निकट बिद्यार्थी समुहले कार्यक्रमको प्रमुख अतिथि कांग्रेस सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथि रामचन्द्र पौडेलको नाम राखेर व्यानर बनाएका छन भने पौडेल–सिटौला समूहले प्रमुख अतिथिमा पार्टी परिष्ठ नेता रामचन्द्र पौडेल र विशिष्ठ अतिथिमा महामन्त्री डा शशाँक कोइराला, कोषाध्यक्ष सितादेवि यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा शेखर कोइराला, प्रदीप पौडेल र रन्जित कर्णको नाम राखेर व्यानर बनाएका छन् ।
सभापति देउवा निकट बिद्यार्थी समुहले बिषेश अतिथिमा उपसभापति बिमलेन्द्र निधि, महामन्त्री कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, कोषाध्यक्ष सितादेवि यादव र वालकृष्ण खाँडलाई बनाएको व्यानरमा उल्लेख छ । त्यसैगरि यो समुहले प्रशिक्षकमा प्रदीप गिरि, किशोर सिंह राठौर, गुरुराज घिमिरे, भिमसेदास प्रधान लगायतका नेता रहेको उल्लेख छ ।
भोली बुधबार हुने कार्यक्रमको आयोजक दुवै समुहले ‘नेपाल विद्यार्थी संघ केन्द्रीय समिति’ भनेका छन् । देउवा निकट विद्यार्थी समुहले कार्यक्रमको संयोजन शहिद आदर्श क्याम्पसको स्ववियुले गरेको भन्ने व्यानरमा उल्लेख गरेको छ । पौडेल–सिटौला निकट बिद्यार्थी समूहको कार्यक्रमको संयोजन नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमिति र सहसंयोजन शहिद आदर्श क्याम्पसको नेविसंघ इकाइ समितिले गरेको उल्लेख गरेका छन् ।
सभापति देउवा निकट रहेका नेविसंघ अध्यक्ष नैनसिंह महरको कार्यशैलीप्रति लामो समयदेखि पौडेल पक्ष र सिटौला पक्षका बिद्यार्थीले असंतुष्टी जनाउदै आएका थिए । नैनसिंह महर अध्यक्ष बन्ने महाधिवेशनमा सिटौला समुहका बिद्यार्थीहरुले महरलाई साथ दिएका थिए । तर पछिल्लो समयमा सिटौला समुहका बिद्यार्थीहरु समेत असंतुष्ट बन्दै आएका छन् । अझ पछिल्लो समयमा पार्टीमा पौडेल र सिटौला समुह एकत्रित भएपछि बिद्यार्थी संगठनमा पनि दुवै समुह एकत्रित भएका हुन् । नेविसंघ अध्यक्ष महरले संगठनका गतिविधी एकलौटी गरेको भन्दै पौडेल र सिटौला समुहका बिद्यार्थीहरुले अलग अलग रुपमा विरोध गर्दै आएका थिए । तर पछिल्लो समयमा पार्टीमा देखिएको नयाँ ध्रुविकरणका कारण नेपाल बिद्यार्थी संघमा अध्यक्ष महर अल्पमतमा परेको बताइएको छ ।
नेपाल बिद्यार्थी संघ उच्च स्रोतका अनुसार सभापति देउवा निकट बिद्यार्थी समुहुले आइतवार नै यो कार्यक्रम गर्ने तयारी गरेको थियो । तर कार्यक्रमको संयोजन गर्ने शहिद आदर्श क्याम्पसको स्ववियुले नमानेका कारण कार्यक्रम गर्न सकेका थिएनन् । तर दुई पक्षको लडाईमा शहिद आदर्श क्याम्पसको स्ववियुले सभापति देउवा पक्षका बिद्यार्थीहरुलाई साथ दिएको छ भने सो क्याम्पसको इकाईले भने पौडेल सिटौला पक्षलाई साथ दिएको छ ।
सुन्दरीजल नेपाली कांग्रेसका आम कार्यकर्ताहरुका लागि एउटा पवित्र स्थल हो । कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र लगायतका नेताहरु लामो समय सम्म जेल बसेको स्थान हो । कांग्रेसका संस्थापक नेताहरु लामो समय जेल बसेको स्थानलाई अहिले ‘वीपी कोइराला संग्रहालय’मा परिणत गरिएको हो । । एक जना नेपाल बिद्यार्थी संघका पूर्व अध्यक्षले ऐतिहासिक ठाउँमा बीपीलाई आदर्श पुरुष मान्ने कांग्रेसल झगडा गर्ने स्थल बनाउनबाट रोक्नुपर्ने बताए । ती पूर्व अध्यक्षका अनुसार दुवै कार्यक्रम रोक्नका लागि पार्टी सभापतिले तत्काल अग्रसरता लिनुपर्ने बताए ।
प्रतिक्रिया