देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अरुण तेस्रो सतलजले पायो

देशान्तर

काठमाडौं । भारतीय सरकारको लगानी रहेको कम्पनी सतलजले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको उत्पादन अनुमतिपत्र पाएको छ । लगानी बोर्डले सतलजलाई उत्पादन अनुमतिपत्र जारी गरेको हो । बोर्डले ५ सय मेगावाटभन्दा माथिका आयोजनाको संयोजन गरिरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा आयोजनाको शिलान्यास गर्ने तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा स्विच थिचेर आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । वैशाख २८ गते दुईदिने भ्रमणका लागि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँने कार्यक्रम छ ।

संखुवासभामा पर्ने आयोजनाको डयाम स्थलबाट प्रत्यक्ष प्रसारण गर्ने र काठमाडौंको द्वारिका होटलमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिचेर आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । शिलान्यासको बेला डयाम बनाउने स्थानको प्रत्यक्ष प्रसारण गर्न नेपाल टेलिकमले आयोजनाको डयाम स्थलसम्म अप्टिकल फाइबर बिछयाइसकेको छ ।

२ सय २५ मेगावाट क्षमताका चारवटा टर्बाइनमार्फत ९ सय मेगावाट उत्पादन गर्ने अनुमतिपत्रमा उल्लेख छ । आयोजनाको बाँधसम्बन्धी संरचना मकालु गाउँपालिकाको वडा नम्बर ३ र ५ तथा विद्युत्गृह चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहनेछ ।

सतलज कम्पनीमा भारत केन्द्रीय सरकारको ६४ प्रतिशत, हिमाञ्चल प्रदेश सरकारको २५ प्रतिशत र बाँकी सर्वसाधारणको सेयर रहने छ । उक्त कम्पनीले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने गरी बोर्डसँग २०७१ मंसिर १० मा आयोजना विकास सम्झौता (पीडीए) गरेको थियो । भारत सरकारले बजेटमार्फत अरुण तेस्रो आयोजनामा लगानी गर्ने गरी ९१ अर्ब ५६ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।