काठमाडौं । एमाले माओवादी दुईवटा कम्युनिस्ट पार्टी बीचमा एकता हुने भनिएको लेनिन जयन्तीमा एकताभन्दा पनि अनेकता प्रदर्शन भएपछि फेरि एकता घोषणा गर्ने अर्को मिति जुराउनका लागि दुवै दलका नेताहरू लागिपरेका छन् । तर एकता प्रक्रिया भने सुल्टोभन्दा उल्टो दिशातर्फ अगाडि बढ्न थालेको नेताहरूले बताएका छन् ।
एकीकरणका लागि माओवादीले मूलतः तीन कुरा मागिरहेको आभास पाइन्छ– सम्मान, समानता र सुरक्षा । जनयुद्धलगायतका नीति र कार्यक्रमको जिम्मेदारी एमालेले पनि लेओस् भन्ने माओवादीको इच्छा छ । त्यो जिम्मेदारी एमालेलाई पनि भिराउन पाएमा कथित जनयुद्धकालमा भएका आपराधिक घटनाको बचाउ गर्न एमाले बाध्य हुन्छ भन्ने माओवादीको निष्कर्ष हो ।
त्यस्तै पार्टीका विभिन्न तह र संरचनामा समान हिस्सेदारी पनि उसको माग हो । त्यसो भएमा एमालेले पेल्न सक्ने छैन, बरु एमालेभित्रको द्वन्द्वमा खेल्दै उसमाथि हाबी हुने अवसर प्राप्त हुन सक्छ भन्ने प्रचण्डको बुझाइ छ ।
यसमा पनि सबैभन्दा महत्वपूर्ण कुरा जुन प्रचण्डले चाहेका छन् त्यो हो– पार्टी र सरकारको नेतृत्व आलोपालो । प्रचण्ड एकीकृत पार्टीको कार्यकारी प्रमुख बनेर एमाले नेताहरूलाई नचाउने र अर्को चुनावअघि नै प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन् । उनको यो योजनामा एमालेका केही नेताहरूको पनि सहयोग प्राप्त हुन्छ भन्ने निष्कर्ष प्रचण्डको छ ।
तर लेनिन जयन्तीको दिनमा एमाले अध्यक्ष केपीले सम्मान, समानता र सुरक्षा दिन नसक्ने विषयलाई प्रस्तुत गरिसकेका छन् । उनले प्रचण्डकै सामुन्ने जुत्ता फिट नभए खुट्टा ताछ्न सार्वजनिक रूपमा सल्लाह दिए । ओलीलाई प्रचण्डले कदाचित गठबन्धन तोड्ने र सरकारबाट बाहिरिने निर्णय गरेमा सत्ताको स्वाद पाइसकेका उनका आफ्नै पार्टीका सबै मन्त्रीले पनि उनलाई साथ दिँदैनन् भन्ने छ ।
एमालेका एक नेताका अनुसार राजनीतिक दलहरूबीचको एकीकरण सामान्यतः लक्ष्य र सिद्धान्तको जगमा उभिएको हुनुपर्ने, कम्युनिस्ट आन्दोलनलाई गन्तव्यमा पु¥याउने वा समाजवाद उन्मुख आर्थिक, सामाजिक र सांस्कृतिक कार्यक्रमलाई मूर्तरूप दिनका लागि हुनुपर्ने हो तर यहाँ सत्तास्वार्थका लागि चुनावमा बनेको गठबन्धनलाई कसिलो बनाउनका लागि मात्र एकता भनिएको हो ।
माओवादीको मुखमा सत्ताको सानो टुक्रा फालिदिएर प्राप्त भएको यो दुर्लभ अवसर एमाले उम्काउने माओवादीलाई अल्झाइरहने प्रयासमा एमाले छ । ती एमाले नेताले प्रायः राजनीतिक दलहरूबीच लक्ष्य, सिद्धान्त, नीति र कार्यक्रममा सहमति भएपछि एकीकरणको सम्भावना खोजिन्छ, तर यहाँ पहिले एकीकरण गर्ने घोषणा गरेर आधारभूत र मुख्य कुरामा सहमतिका लागि कसरत थालिएकाले एकता प्रक्रिया उल्टो बाटोबाट सुरु भएर उल्टो नै हिँडिरहेको बताए ।
पार्टीका नेताहरूले अहिले पनि एकता प्रक्रिया अन्तिम बिन्दुमा पुगेको बताइरहेका छन् तर दुवै पार्टीका कार्यकर्ताहरूमा एक अर्कोप्रति कस्तो भावना रहेछ भन्ने पार्टी स्थापना दिवस जस्तो दुवै दलको साझा र शुभअवसरमा राष्ट्रिय सभागृहमा भएको ब्यानर काण्डले नै छरपष्ट पारिसकेको छ ।
प्रतिक्रिया