भागबन्डामा बाँडिएको पार्टी एकजुट हुनेछ, पार्टी व्यक्तिवादी प्रवृत्तिलाई त्याग गरेर समग्र रूपमा नेपाली कांग्रेस हुनेछ, नेपाली कांग्रेसभित्र नेपाली कांग्रेस खोज्ने परिस्थितिको अन्त्य हुनेछ, कांग्रेसबाट मेरो र तेरो भन्ने भेदको समाप्ति हुनेछ, पार्टी अनुशासित, विधिअन्तर्गत चल्ने दल हुनेछ ।
नेपाली कांग्रेस आफ्नो लामो गौरवमय इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको निर्वाचनमा भएको कांग्रेसको पराजयलाई नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले समयमै गम्भीरतापुर्वक नलिई तिनै गल्ती र कमजोरीहरूलाई निरन्तरता दिँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले नराम्रोसँग पराजय भोग्नु परेको छ ।
निर्वाचनमा भएको यो पराजयले नेपाली कांग्रेसले आज आफ्नो साखमात्र गुमाएको छैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा यसले आफ्नो लोकप्रियता गुमाएको भन्ने मेरो ठहर रहेको छ ।
पार्टी पराजयका विषयमा आज केन्द्रीय समितिको यो बैठकमा समीक्षा भइरहँदा यो पराजयको कारण नेपाली कांग्रेसले अवलम्बन गरेको अहिलेको नीतिले हो कि, हामीहरूको कार्यशैलीको कारणले हो वा नेतृत्वको अक्षमताले हो ? भन्ने विषयमा गम्भीर रूपमा छलफल हुनुपर्ने थियो, तर दुर्भाग्य त्यसतर्फ हाम्रो गम्भीरता देखिएको छैन ।
अहिले नेपाली कांग्रेसले आफ्नो स्थापनाकालीन नीति र सिद्धान्त एवम् राजनेता बी.पी.कोइरालाले अवलम्बन गर्नु भएको विचार र चिन्तनलाई छोडेको कारण नेपाली कांग्रेस आजको यो दुःखदायी अवस्थामा आइपुगेको हो भन्ने मेरो निष्कर्ष रहेको छ । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिँदै हामी कहिले उग्रवामपन्थीहरूसँग अंकमाल गर्न पुग्यांै भने कहिले उग्रदक्षिणपन्थीहरूसँग ।
सिद्धान्त, निष्ठा र आदर्शलाई भुलेर हाम्रो वर्तमान नेतृत्व केवल सत्ताकेन्द्रित हुँदा पार्टी आजको यो अवस्थामा आइपुगेको हो । यसको सुरुवात कहाँबाट भयो ? र के आज हाम्रो ऐतिहासिक गौरवशाली पार्टी यो दुरवस्थामा आई पुग्नुको कारण पार्टीको सैद्धान्तिक विचलन हो ? यसतर्फ हामी कहिल्यै गम्भीर भएनौँ ।
जारी केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी पराजयको विषयमा समीक्षा गर्न छलफल गरिरहँदा कार्यसमितिका साथीहरू पराजयको विषयमा गहिराइसम्म पुगेर स्वतन्त्र एवम् निष्पक्ष ढंगले समीक्षा गरी पार्टीलाई गतिशील बनाउन प्रयास गर्नेभन्दा एकले अर्कालाई दोष मात्र थोपरेर आफू चोखो बन्ने प्रवृत्ति देख्दा म अत्यन्त मर्माहित भएको छु ।
पार्टी विधानअनुसार ११ जनाको बनाउनुपर्ने संसदीय समितिलाई २५ जनाको बनाउँदा पनि हामी सबै मौन रह्यौं । जिल्लाबाट सिफारिस नगरिएका व्यक्तिहरूलाई टिकट दिँदा र एक ठाउँबाट सिफारिस गरिएका व्यक्तिलाई अर्को ठाउँमा टिकट दिँदा हामी कोही बोलेनौ ।
कार्यसमितिको कुरै छोडौँ संसदीय समितिमा पनि छलफल नै नगरी भागबन्डाका आधारमा टिकट वितरण गर्दा कार्यसमितिको साथीहरूको भूमिका के रह्यो ? विधानविपरीत बनेको संसदीय बोर्डका सबै सदस्यहरूले आफैंले टिकट लियौँ तर दुर्भाग्य मुस्किलले चारजनाले मात्र जित्यौंँ, योभन्दा लज्जाको विषयको अरू के हुन सक्छ ? आफैं टिकट बाँड्ने, आफैं टिकट लिने र आफू आफ्नो क्षेत्रमा जित्न पनि नसक्ने, अनि पराजयको दोष जति अर्काको टाउकोमा पन्छ्याएर हामी उम्कन सक्दछौँ ? यो पराजयको जिम्मेवारी संसदीय बोर्डका सबै सदस्यहरू र यो केन्द्रीय कार्यसमितिले लिनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ ।
६०ः४० को भागबन्डामा बाँडिएको पार्टी एकजुट हुनेछ, पार्टी व्यक्तिवादी प्रवृत्तिलाई त्याग गरेर समग्र रूपमा नेपाली कांग्रेस हुनेछ, नेपाली कांग्रेसभित्र नेपाली कांग्रेस खोज्ने परिस्थितिको अन्त्य हुनेछ, कांग्रेसबाट मेरो र तेरो भन्ने भेदको समाप्ति हुनेछ, पार्टी अनुशासित, विधिअन्तर्गत चल्ने दल हुनेछ, पार्टीमा पद र पैसाको राजनीतिको आधारबाट हुने राजनीतिको अन्त्य भई निष्ठा सदाचार र आदर्शको मान्यतामा आधारित देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने परिपार्टीको विकास हुनेछ ।
पार्टीको मूलभूत सिद्धान्तहरू राष्ट्रियता, प्रजातन्त्र र समाजवाद एवम् बीपीको विचार र चिन्तन व्यवहारमा लागू गर्न, यसलाई थप विकसित गर्दै संरक्षण एवम् प्रवद्र्धन गर्नेछ भन्ने विश्वास लिएर श्री शेरबहादुर देउवाजीलाई, विगतमा उहाँले केही गल्ती गरेको भए तापनि नेपाली कांग्रेसबाट नै जन्मे–हुर्केको कार्यकर्ता भएको नाताले पार्टीलाई बीपीको आदर्श नीति र चाहनाअनुसार अगाडि लग्नुहुनेछ भन्ने भरोसा गर्दै पार्टीको १३ औँ महाधिवेशनमा मेैले उहाँलाई पार्टीको सभापतिमा प्रस्तावित गरेको कुरा यो कार्यसमिति बैठकलाई स्मरण गराउन चाहन्छु ।
१३ औँ महाधिवेशनमा मसमेत देशभरका महाधिवेशन प्रतिनिधि साथीहरूले बडो विश्वासका साथ मत दिएर सभापतिमा विजय बनेका शेरबहादुर देउवाजीले हाम्रो विश्वास र पार्टीको सिद्धान्तविपरीत पार्टीमा अझ व्यापक रूपमा गुटलाई प्रोत्साहित गर्ने, पार्टी विधानबमोजिम दुई महिनाभित्र पदाधिकारी प्रस्ताव गरी मनोनयन गर्ने परिपाटी अन्त्य हुनसकेन ।
विभागहरू गठन गरी पार्टीलाई परिचालन गर्ने कार्यमा सभापतिले पूर्ण रूपमा बेवास्ता गरी पार्टीलाई ध्वस्त बनाएको, पार्टीका भ्रातृसंस्थाहरूलाई सशक्त बनाई परिचालन गर्न नसकेको, स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर नगरपालिकामा पार्टीको सिद्धान्त, नीतिविपरीत पार्टीको कार्यसमितिलाई पनि छलेर देउवाजीको सत्ता केन्द्रित मोहबाट अभिप्रेरित भएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्रीलाई जिताउन हँसिया हथौडामा भोट मागेको, प्रजातान्त्रिक मूल्य र मान्यता एवम् स्वतन्त्र न्याय पद्धतिप्रति पार्टीको अटुट आस्था र विश्वासको भावनामा चोट पुग्ने गरी पार्टी सभापति र सभापतिका हैसियतमा प्रधानमन्त्री बनेका देउवाजीको क्रियाकलापबाट स्वतन्त्र न्यायालयको गरिमाप्रति पुग्न गयो ।
सभापति र सभापतिका हैसियतमा प्रधानमन्त्री बनेपछि बीबीसी साझा सवाललगायत विभिन्न कार्यक्रम र मञ्चहरूमा पार्टी सभापति एवम् प्रधानमन्त्री हैसियत र गरिमाविपरीत विवादास्पद अभिव्यक्तिले पार्टीको लोकप्रियतामा पुग्न गएको गम्भीर क्षतिलगायतको कार्यबाट १३ औँ महाधिवेशनमा उहाँलाई सभापतिमा प्रस्तावका बसेको नाताले म अत्यन्त नै मर्माहत हुन पुगेको छु ।
अतः मैले देउवाजीलाई १३ औँ महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिब दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त नै दुःखित हुन पुगेको परिस्थितिमा पार्टीको विधान र नैतिकताले के भन्छ भन्ने कुराको पर्वाह नराखी मैले १३ औँ महाधिवेशनका क्रममा विधिवत् रूपमा देउवाजीलाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरासमेत यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँदछु ।
पार्टी पराजयको यो अत्यन्त गम्भीर अवस्थामा त्यसको समीक्षा गर्न बसेको केन्द्रीय कार्यसमितिको बैठकले यसका यथार्थ कारणहरू पत्ता लगाउनेभन्दा समस्यालाई पन्छाउने उद्देश्यले केवल महाधिवेशन वा महासमितिको बैठकको कुरा उठाइएको हो भन्ने मलाई महसुस भएको छ ।
हप्तादेखि जारी यो केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेसको पराजयको विषयमा यथार्थपरक ढंगबाट समीक्षा गर्न असमर्थ रहने अवस्थामा त्यसको समीक्षा महाधिवेशन वा महासमितिबाट सम्भव रहँदैन । पार्टीको तीनै तहमा भएको लज्जास्पद पराजयको सम्पूर्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्द्रीय कार्यसमिति र यसको नेतृत्वले लिनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ ।
देशमा संविधानसभाबाट जारी संविधानको प्रावधानबमोजिम नयाँ पुनर्गठित जिल्ला, नगर र गाउँको संरचनामा परिवर्तन भएको हँुदा राष्ट्रको संवैधानिक व्यवस्थालाई मध्यनजर गरी नेपाली कांग्रेसको विधानमा समयनुकूल परिमार्जन गरी सबै तहका समितिहरूलाई विघटन गरी तदर्थ समितिमा बनाई सबै तहको अधिवेशन आगामी ६ महिन भित्र महाधिवेशन सम्पन्न गरी नयाँ निर्वाचनको माध्यमबाट नयाँ नेतृत्वको चयन गर्नु एक मात्र समाधान हो ।
म २००७ सालमा प्रजातन्त्र स्थापनाको आन्दोलनमा सक्रिय रहेको र २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा काठमाडौंमा सहभागी भई गिरफ्तारी दिएको र आजसम्म निरन्तर रूपमा पार्टीमा संलग्न हँुदै आएको पार्टीको एउटा बफादार सिपाही हुँ । मैले सदैव निष्ठा, आदर्श र सिद्धान्तलाई महत्व दिँदै आएको छु ।
भोलिका दिनमा पनि म मेरा यी मान्यताहरूमा अडिग रही रहनेछु । जननेता बीपी कोइरालासँग निर्वासनमा बसेको र २०३३ साल पुस १६ गते बीपी निर्वासनलाई परित्याग गरी नेपाल आउनुभन्दा अगाडि बीपी कोइरालाको ज्यान जोखिमबाट बचाउन मलाई पार्टी नेतृत्वले नेपाल पठाएको र तत्कालीन सरकारले मलाई मारे बीपी नेपाल नआउने र नमारेको अवस्थामा नेपाल आउने सर्तमा नेपाल आएको र पार्टी एवम् नेताको लागि ज्यानको समेत पर्बाह नगरेको बीपी कोइरालाको एउटा सच्चा अनुयायी हुँ, त्यसैले त म आज पनि तपाईंहरूको अगाडि उभिएर यति बोल्न सकेको छु ।
नेपाली कांग्रेसको यो अत्यन्त नै गम्भीर अवस्थाबाट पार्टीलाई बचाउन मैले आफ्नो उमेरको कुनै पर्वाह नराखी अझै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने खाँचो मैले महासुस गरेको छु ।
वर्तमान चुनौतीका अगाडि पार्टीको वर्तमान नेतृत्वबाट आम प्रजातन्त्रवादी र देशभरका निष्ठावान् कार्यकर्ताको भावनाअनुसार पार्टीलाई परिवर्तन गर्न सम्भव नभएको अवस्थामा आइपरे पार्टीलाई यसका मौलिक सिद्धान्त र बीपी कोइरालाको विचार, सुवर्णजीको त्याग, गणेशमानजीको वीरता र किशुनजीको आदर्शको बाटोबाट पार्टीलाई अगाडि लैजान मसँग अझै पनि जाँगर एवम् आँट छ भन्ने कुरा यो कार्यसमिति र कार्यसमितिमार्फत देशभरका कार्यकर्ताहरूमा हार्दिक अपिल पनि गर्न चाहन्छु । अन्त्यमा म जीवनपर्यन्त देश, नेपाली जनता र नेपाली कांग्रेसमा निष्ठापूर्वक सदासमर्पित रही रहनेछु ।
(नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले पार्टीको केन्द्रीय समिति बैठकमा राखेको लिखित धारणाको पूर्ण पाठ ।)
प्रतिक्रिया