काठमाडौं ।नेपाल आंशिक प्राध्यापक संघले ज्यालादारी प्राध्यापकहरुलाई करारमा नलगे आन्दोनल गर्ने चेतावनी दिएको छ ।शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले न्यून ज्याला दिएर सधैँभरी काममा लगाउने त्रिभुवन विश्वविद्यालयको कार्यशैलीले आफूहरु अन्यायमा परेको भन्दै नियमअनुसार प्राध्यापक नियुक्ति गर्न माग गरेको हो ।
६–६ महिनामा विज्ञापन गरेर क्याम्पसहरुमा प्राध्यापकहरु नियुक्ति गर्नुपर्नेमा आंशिक प्राध्यापकको व्यवस्था गर्ने गरेकोप्रति संघले आपत्ति जनाएको हो । वर्षौवर्षसम्म सेवा आयोगमा विज्ञापन नखोल्ने र हामी आंशिक प्राध्यापकहरुले दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा मात्र लैजान माग गर्दा स्वतः स्थायी भन्ने अफवाह फैलाएर आंशिक प्राध्यापकहरुको इज्जत, मान–प्रतिष्ठामाथि खेलवाड गर्दै त्रिविले वौद्धिक शोषण गरिरहेको संघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विश्वविद्यालयमा हुने यसप्रकारका वौद्धिक शोषण तत्काल सदाका लागि अन्त्य गरी त्रिविमा स्वच्छ शैक्षिक वातावरण कायम गर्न र आंशिक प्राध्यापक अन्त्य गर्दैै विश्व्विद्यालयमा हुने सबैखाले बेथितिको अन्त्य गर्न संघले माग गरेको छ ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. महेशकुमार गजुरेलले आफ्ना माग पूरा नभए आंशिक प्राध्यापकहरुले पठन–पाठन, परीक्षा लगायतका त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने कुनै पनि कार्यक्रममा सहयोग नगर्ने चेतावनी दिएका छन ।
गजुरेलले त्रिविले आंशिक प्राध्यापकहरुको माग पूरा गर्ने सम्बन्धमा तदारुकता नदेखाएमा २३ गते हुन गइरहेको सिनेट नै बिथोल्ने चेतावनी दिए । संघले आइतबारदेखि नै त्रिविका सम्पूर्ण क्याम्पसहरुमा पठनपाठन तथा शैक्षिक गतिविधिमा असहयोग आन्दोलन गर्ने भएको छ । नेपाल आंशिक प्राध्यापक संघको मागप्रति नेपाल प्रगतिशील प्राध्यापक संगठनले पनि ऐक्यवद्धता जनाएको छ ।
प्रतिक्रिया