काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीको आदर्श अनुसार नै पार्टी अगाडि बढ्ने बताएका छन । एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवसमा सानेपामा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मनमोहन अधिकारीको आर्दशको मूल्यांकन हुनुपर्ने बताएका हुन ।
उनले पुष्पलाल, मनमोहन र मदन भण्डारीको पथलाई नअंगालिकन कम्युनिष्ट बन्नै नसकिने धारणा राखे । मनमोहन अधिकारीको चाहना सबल एकीकृत पार्टी बनाउनु भएकाले एमाले त्यही पथमा जुटेको पनि प्रधानमन्त्री ओलीले दाबी गरे ।उनले माऔवादी केन्द्रसँग पार्टी एकता नहुने हो कि भन्ने आशंका नगर्न पनि आग्रह गरेका छन ।
एमालेले पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गर्दैछ । विक्रम संवत १९७८ सालमा काठमाडौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै उनी राजनीतिमा सक्रिय भएका थिए । भारत छोड आन्दोलनको क्रममा उहाँ बनारस जेल परेका थिए ।
जेलमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा उहाँ कम्युनिष्ट पार्टीमा संगठित भएका थिए । २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उनले सम्हालेका थिए ।लामो राजनीतिक संघर्षको क्रममा उहाँले १७ वर्ष जेल जीवन बिताएका थिए । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका थिए । उनको नेतृत्वको ९ महिने सरकारले लोकप्रिय काम गरेको भनेर अहिले पनि त्यसको चर्चा हुने गर्छ ।
प्रतिक्रिया