देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रनिकट कर्मचारी संगठनमा विवाद, जिल्ला कार्यसमिति बने दुई वटा

देशान्तर

राजविराज । सप्तरीमा माओवादी केन्द्र निकट निजामति कर्मचारीहरुको नेपाल राष्ट्रिय कर्मचारी संगठनमा विवाद बढेको छ। विवादले कर्मचारीहरु दुई गुटमा विभाजित भएका छन्।

शनिबार सुरु भएको चौथो जिल्ला अधिवेशनमा कसलाई मतदाता मान्ने भन्ने विषयमा विवाद भएको थियो। एक पक्षले संगठनको सदस्यता प्राप्त गर्नेजति सबै मतदाता कायम हुनुपर्ने र अर्कोपक्षले कर्मचारी सिटरोलका आधारमा मतदाता कायम हुनुपर्ने जिकिर गरेका थिए। विवाद बढ्दै गएपछि अधिवेशन समाप्त हुँदा कार्यसमिति समेत दुई वटा तयार भएका छन्।

एकातर्फको नेतृत्व जिल्ला कृषि विकास कार्यालयका छोटेलाल यादवले गरेका छन् भने अर्कोपक्षको नेतृत्व मनोजकुमार यादवले गरेका छन्। दुवैतर्फ १३ सदस्यीय कार्यसमिति गठन भएको छ।

अधिवेशन विवादले निर्वाचन मण्डल पनि दुई गुटमा विभाजित भएको छ। संयोजक हरिनारायण महतो छोटेलाल पक्षमा र सदस्यद्वय देवचन्द्र र शैलेन्द्र यादव मनोजको पक्षमा छन्।

छोटेलाल नेतृत्वको कार्यसमितिलाई माओवादी केन्द्रका जिल्ला संयोजक अशोककुमार मण्डल, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री उमेशकुमार यादव, केन्द्रीय सदस्य देवनाथ यादव, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रीय उपाध्यक्ष उमेशकुमार यादवलगायतको समर्थन छ।

यसैगरी, मनोजकुमारको कार्यसमितिलाई संगठनका केन्द्रीय उपाध्यक्ष शुभनारायण यादव, सचिव सन्तोष झा, प्रदेश २ का इन्चार्ज महिवुल अन्सारी लगायतको समर्थन छ।

कार्यसमितिमा आफू अनुकुलको पद नपाएपछि मनोजकुमार लगायतले विवाद गरेर समिति गठन गरे पनि आफू नेतृत्वको समिति नै आधिकारिक भएको छोटेलालले दाबी गरेका छन्। आधिकारिक कर्मचारीहरुको नेतृत्व आफूले गरेकाले आफ्नै कार्यसमिति आधिकारिक भएको मनोज पक्षको पनि दाबी छ।

‘जन–मजदुर सबैलाई सदस्यता वितरण गरेर कर्मचारी संगठन वदनाम गराउने काम भयो, तिनै सदस्यको नेतृत्व अर्को पक्षले गरेको छ,’ मनोजले भने, ‘अधिकांश कर्मचारी म नेतृत्वको कार्यसमिति अन्तर्गत छन्।’