काठमाडौं। नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा पनि महाधिवेशनको मिति तय गरिनुपर्ने माग गरेका छन । ११ औं महाधिवेशनबाट निर्वा्चित नेतृत्व विधिसम्मत ढंगबाट अगाडि नबढेको भन्दै नेविसंघमा महाधिवेशनको मिति र स्थान तय गरिनुपर्ने माग उठेको हो ।
महाधिवेशनको मिति र स्थान तय गर्न माग गर्दै आज वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला निकट विद्यार्थीहरुले सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन् । पौडेल समूहमा आवद्ध पाँच जना उपाध्यक्षले आज पार्टी कार्यालय सानेपा पुगेर सभापति देउवालाई महाधिवेशनको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
यस्तै महामन्त्री कुन्दनराज काफ्लेले जुलुससहित पार्टी कार्यालय पुगेर सभापतिलाई ज्ञापन पत्र बुझाएका हुन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको समीक्षा बैठक चल्दै गर्दा पार्टी कार्यालय पुगेको काफ्ले समूहले नेविसंघको संस्थापन पक्षीय नेतृत्वविरुद्ध चर्को नाराबाजी गरेको थियो । पौडेल निकट ५ जना उपाध्यक्षहरुले सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघको १२ औं महाधिवेशनको वातावरण निर्माण गर्न तत्काल मिति र स्थान तोक्न माग गरेका हुन् ।
प्रतिक्रिया