काठमाडौँ । माओवादीको बिस्तारित बैठकले तत्काल पार्टी एकताको मिति नतोक्ने निर्णय गरेको छ । अध्यक्ष पुष्प कमल दाहाल निवास खुमलटारमा बसेको माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठकले पार्टी एकताका लागि अग्रिम मिति तोक्नु उपयुक्त नहुने निष्कर्ष निकालेको हो । एकताका लागि अझै एक—दुई महिना लाग्नसक्ने बैठकको निष्कर्ष छ ।
बैठकपछि प्रवक्ता पम्फा भुसालले अहिले पार्टी एकताका लागि ठ्याक्कै तिथि तोक्न नसकिने र यसका लागि समय लाग्ने बताइन । बैठकमा अध्यक्ष दाहालले एमाले नेताहरुसँग एकताको विषयमा भइरहेको छलफलको प्रगतिबारे जानकारी गराएका थिए । उनले सैद्धान्तिक, राजनीतिक र संगठनिक विषयमा विषयमा सहमति र समझदारी कायम गर्ने कुरामा सकारात्मक ढंगले कुराकानी अगाडि बढेको बैठकमा व्रिफिङ गरेका थिए । तर, दाहालको बिफ्रिङ अन्य नेताहरुले असहमति जनाएका छन ।
दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता भुसालले दुवै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले अनुमोदन गरेको अहिलेको राष्टको आवश्यकता पार्टीको एकता सम्पन्न गर्ने कुरा सुनिश्चित भएपनि एमाले संग आत्मा सर्मपण गरेर एकता भने नगर्ने निर्णय भएको बताइन । उनले पार्टी एकता सिद्धान्तनिष्ठ, समानता, सम्मानजनक र न्यायोचित आधारमा मात्र सम्पन्न हुने निस्कर्ष बैठकले निकालेको जानकारी दिइन ।
बैठकमा केन्द्रीय नेताहरुले आफ्ना सुझाव राखेका थिए । प्रायः सबै नेताहरुले पार्टी एकता आवश्यक भएको बताएका थिए । जवाफमा प्रचण्डले नेताहरुको व्यवस्थापन नभएर एकता रोकिएको भन्ने कुरा सही नभएको बताएका थिए ।बैठकमा सहभागी अर्का एक नेताका अनुसार एमालेकै नेताहरुबीच कुरा मिल्न बाँकी रहेकाले एकता प्रक्रियाले अझै केही समय लिने दाहाल लगायतका नेताहरुको निष्कर्ष छ ।
बैठकमा उठेको प्रसंग उल्लेख गर्दै माओवादी प्रबक्ता भुसालले भनिन्—एमालेकै नेताहरुबाट विरोधाभासपूर्ण कुराहरु आइरहेका छन् । कहिले एकथोक भन्छन, कहिले अर्कोथोक भन्छन् । त्यसैले एकताका लागि अहिल्यै मिति तोक्न सकिन्न, एकाध महिना अझै छलफल आवश्यक छ ।’
प्रतिक्रिया