काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको समृद्धिको चाहना पूरा गर्नका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकारमा रहेको दलको हुने भए पनि प्रतिपक्षको पनि भूमिका हुन्छ,’ बानेश्वर बहुमुखी क्याम्पसले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले भने, ‘आर्थिक समृद्धिको चाहना चाँडोभन्दा चाँडो सफलतामा परिणत गर्नका लागि कांग्रेस पछि हट्दैन ।’
पूर्वउपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता सिंहले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि सत्ता पक्ष र विपक्षी दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।राजनीतिक दलहरु मिलेर संघर्ष गर्दा ठूला ठूला राजनीतिक परिवर्तन भएको तर, त्यसलाई संस्थागत गर्न नसक्दा फेरि अर्को आन्दोलन हुने गरेको चर्चा गर्दै उनले सबै मिलेर उपलब्धी संस्थागत गर्नुपर्नेमा जोड दिए ।
संविधान कार्यान्वयन भइसकेको र संघीयता कार्यान्वयन भइसकेकाले अब त्यसलाई सशक्त रुपमा अघि बढाउनुको विकल्प नभएको उनले बताए ।
प्रतिक्रिया