भर्खरै हामी विक्रमको २०७५ मा प्रवेश गरेका छौँ । नयाँ वर्षको उत्साहमा छौँ अहिले हामी । हुन त हरेक बाह्र महिना वा ३६५ दिनपछि हामीकहाँ नयाँ वर्ष आउँछ नै । विगतका धेरैजसो वर्ष हाम्रा लागि सुखद हुन सकेनन् । कहिले राजनीतिक, कहिले साम्प्रदायिक, कहिले के कहिले के नाममा हिंसा, द्वन्द्व र आतंकको भुमरीमा परिरह्यौँ हामी ।
स्थिरता, शान्ति र समृद्धि केवल सपना बने हाम्रा । हरेक वर्ष हामीले देश विकासका योजना बनायौँ, बजेट भाषणमार्फत् आमजनलाई सुनायौँ, भाषणमा हरेक पटक प्रतिबद्धता जाहेर गर्यौ तर त्यसको सफल र प्रभावकारी कार्यान्वयन भने गर्न सकेनौँ । यसमा मुलुकमा व्याप्त हिंसा, अस्थिरता, बेथिति त जिम्मेवार थिए नै, हामी र हाम्रा अगुवा नेतृत्वमा रहेको उदासीनता र निष्पृहता पनि कारक रहे ।
हामीसँग अथाह सम्भावना छन्, विकास र समृद्धिका । अथाह स्रोत छन् । पर्याप्त छ जनशक्ति/श्रमशक्ति, जो यहाँ काम नपाएर बिदेसिइरहेको छ । खाँडी मुलुकको उधुम तापमा पसिना चुहाउन बाध्य छ त्यो शक्ति । त्यसलाई यहीँ स्वदेशमै काम गर्ने वा रोजगारी दिने व्यवस्था गर्न किन सकिएन, जबकि केही हजार रुपैयाँ कमाउन कसैले पनि बिदेसिनु पर्दैन, यदि यहीँको स्रोत साधन परिचालन गरेर विकास निर्माणका कार्यमा लाग्ने हो भने ।
हामी विगतमा आआफ्ना स्वार्थमा विभाजित भयौँ । हामी राजनीतिक रूपमा, सामाजिक रूपमा, आर्थिक रूपमा आदि अनेक रूपमा पटकपटक विभाजित बन्दै आयौँ, विभाजित यस अर्थमा कि कुनै पक्ष, समुदाय वा वर्गले गरेका राम्रा र गतिला कामलाई पनि पूर्वाग्रही/आग्रही आँखाले हे¥यौँ र काममा अवरोध गरिरह्यौँ । जो जसले गरे पनि यही समाज, यही देश र यहीँका मानिसका निम्ति गर्दै छ भन्ने सकारात्मक सोचको विकास हामीमा हुन सकेन । यो समस्या अझै कायम छ हामीमा ।
हामीले विगतदेखि आजसम्म अनेक प्रकारका राजनीतिक परिवर्तन देख्यौँ, भोग्यौँ तर कुनैबाट पनि सन्तुष्ट हुन सकेनौँ । यसको कारण हामीले ती परिवर्तनलाई सही ढंगले या त बुझ्न सकेनौँ अथवा ती परिवर्तन हाम्रा लागि उपयुक्त थिएनन् । अथवा हामीले जो जसका भरमा वा विश्वासमा सत्ता सुम्पियौँ, ती त्यसका निम्ति उपयुक्त थिएनन् ।
यी यावत् कुराहरू अब विगत बन्नुपर्छ । यी र यस्ता कुराहरू अब दोहोरिनुहुन्न । परिवर्तनको पहिलो स्रोत हामी व्यक्ति नै हौँ । हाम्रो चेतना हो । हाम्रा व्यवहार र दृष्टिकोण हुन् परिवर्तनका स्रोत । यसर्थ अबको नेपाल शान्त, समृद्ध, स्थिर र सुन्दर हुन हामीमा रहेका अनेक कमीकमजोरी, आग्रह÷पूर्वाग्रह, रिसराग, भ्रष्ट सोच, विकृत धारणाको अन्त्य हुन जरुरी छ । हाम्रा अगुवा नेतृत्व, जसले समाज र समग्र राष्ट्रको सञ्चालन गरिरहेका छन्, तिनमा जिम्मेवारीबोध र कर्तव्यनिष्टता अपरिहार्य छ ।
विश्वबन्धुत्व, आत्मीयता, सहृदयता, हार्दिकता कायम राख्दै समाज, देश र देशवासीका हितका निम्ति सक्रिय रहन सकौँ, नयाँ वर्ष २०७५ हाम्रा लागि महत्वपूर्ण अवसरका रूपमा रहन सकोस्, सबैमा नव वर्षको हार्दिक शुभकामना !
प्रतिक्रिया