काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले सरकारले जनतालाई सपनामात्रै बाँडिरहेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले उक्त आरोप लगाएका हुन् । नेता महतले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा समेत जनतालाई तत्काल राहत दिने विषयमा ध्यान नदिएको दाबी गरे ।
उनले रेलमार्ग जस्ता १० वर्षीय योजना अघि सारेर नेपाली जनताले तत्काल लाभ लिने अवस्था नरहेको भन्दै सरकारलाई तत्काल राहत हुने काममा केन्द्रीत हुन पनि सुझाव दिए । सरकारले रेलमार्गको कुरा गरेपनि त्यसमा लगानी गर्न सक्ने अवस्था नरहेको स्मरण गराए । नेता महतले काठमाडौंलाई प्रदुषणमुक्त बनाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती गरे देश र जनताले तत्काल राहत पाउनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
कांग्रेस नेता महतले भारत सरकारसँग हवाई रुट जस्ता अत्यावश्यकीय विषयमा कुरा नउठाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना समेत गरे । उनले लगानीको अभावमा नेपालले तत्काल रेलमार्ग निर्माण लगायतका विषयलाई अघि बढाउन सक्ने अवस्था नरहेको दावी समेत गरेका थिए ।
प्रतिक्रिया