काठमाडौं । सरकारले बिगत वर्ष जस्तै यस वर्ष पनि गणतन्त्र दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई विभूषित गर्ने फारम खुल्ला गरेको छ । यसका लागि गृह मन्त्रालय अन्तर्गतको विभूषण तथा समारोह प्रबन्ध शाखाले फारम माफर्त तथ्यांक संकलन सुरु गरेको छ ।
मन्त्रालयले तथ्यांक संकलनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालय, पाँचवटै क्षेत्रीय प्रशासन कार्यालय र संवैधानिक तथा सरकार मातहतका निकायहरुलाई पत्राचार गरिसकेको जनाएको छ ।
सबै निकायहरुले विभूषण ऐन २०६४ र विभूषण नियमावली २०६५ को प्रावधान अनुसार सिफारिस गर्न भनिएको छ । यस पटक प्रदेशका प्रमुख सचिवले समेत सिफारिस गर्न पाउने बताईएको छ । मन्त्रालयले जारीगरिको पत्रमा सबै निकायले चैत मसान्तभित्र मन्त्रालयमा सिफारिश पठाइसक्नुपर्ने छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय प्रशासन कार्यालयबाट क्षेत्रीय प्रशासक, प्रदेश सरकारबाट प्रमुख सचिव, मन्त्रालयका सचिव, सचिवालय, विभिन्न संवैधानिक आयोगका सचिव, विभागका अधिकारीहरुले सिफारिस गर्न पाउने मन्त्रालयले जनाएको छ ।
सिफारिशका लागि मन्त्रालयले चारवटा बेग्लै फारम पठाएको छ । सर्वसाधारणका लागि, सार्वजनिक संस्था वा सरकारी तथा गैरसरकारी निकायका लागि, राजपत्र अनंकित राष्ट्रसेवक कर्मचारीका लागि र राजपत्राकिंत राष्ट्रसेवक कर्मचारीका लागि छुटै फारमको व्यवस्था गरिएको छ ।
सर्वसाधारणले जिल्ला प्रशासनमार्फत् सजिलो तरिकाले फारम भर्न पाउनेछन् । जिल्ला प्रशासनमा गएर आफ्नो बारेमा वा त्यस्ता योगदान दिएका व्यक्तिहरुको बारेमा जानकारी गराउँदा प्रमुख जिल्ला अधिकारीले सिफारिस गर्नेछन् ।
मन्त्रालयका अनुसार प्रमुख जिल्ला अधिकारीले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिको पहिचान गरी सिफारिस गनुपर्नेछ । स्थानीय व्यक्तिहरुले आफ्नो बारे वा अरु कसैको बारे जानकारी जिल्ला प्रशासन कार्यालयमा दिँदा प्रमुख जिल्ला अधिकारीले सहजै सिफारिस गर्ने सक्ने व्यवस्था छ ।
विभूषण ऐन २०६४ अनुसार सर्वसाधारणका लागि गृहमन्त्रालयले पनि सिफारिस गर्नेछ । सरकारले राष्ट्रिय जीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणात्मक लगायतका अन्य क्षेत्रमा योगदान दिएका व्यक्तिलाई विभूषण प्रदान गर्नेछ ।
गृह मन्त्रालयले पठाएको पत्रमा विभुषण सिफारिशका लागि कुनै पनि किसिमको विवादमा परेको हुन नहुने लगायतका ६ आधार उल्लेख गरिएको छ ।
प्रतिक्रिया