एमाले–माओवादी एकताका लागि बनेको एकता संयोजन समितिको बैठक सकिएको छ। आज बसेको संयोजन समितिको बैठक बैशाख ९ गते पार्टी एकताको तयारी गर्न दुवै पार्टीलाई निर्देशन दिँदै सकिएको हो। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो।
बैठकमा दुई कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। राजनीतिक र सांगठनिक कार्यदलले बुझाएको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय भएको उनले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि पुनः बैठक बस्ने निर्णय भएको छ। यसअघि कार्यदलले टुंग्याउन नसेकका मुख्य तीन विषयमा छलफल हुने भनिएको थियो। एकीकृत पार्टीको सांगठनिक संरचना, चुनाव चिह्न तथा पार्टीको दस्तावेजमा ‘जनयुद्ध’ राख्ने कि नराख्ने भन्नेबारे छलफल हुने भनिएको थियो। तर, यसबारे औपचारिक निर्णय नआएको अधिकारीले बताए।
उनका अनुसार प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि यी विषयमा छलफल हुनेछ। एमाले(माओवादी पार्टी एकता संयोजन समितिको बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्तै पार्टी एकताका सबै विषयमा टुंगो लगाउने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए। दुवै कार्यदलले दिएको सुझाव अनुसार बैशाख ९ गते पार्टी एकता गर्ने गरी आन्तरिक तयारी गर्ने निर्णय पनि गरिएको नेता श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया