देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारत भ्रमणमा देशको शिर निहुरिने काम गर्दिनँ : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । भारत भ्रमणअघि संसदमा जानकारी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका क्रममा देशको शिर निहुर्याउने गरी कुनै पनि सम्झौता नगर्ने बताएका छन्।

‘मैले यसअघि पनि भनिसके चैत २३ देखि २५ गतेसम्म भारत भ्रमण गर्दै छु’ मंगलबार प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘एउटा कुरा म भन्छु, देशलाई अप्ठेरो पर्ने, देशको शिर निहुरिने, देशले जल्जाबोधन गर्ने, देशलाई नोक्सान पर्ने कुनै काम भ्रमणका क्रममा हुँदैन र गरिँदैन। देशको शिर उठ्ने र देशलाई लाभ हुने काम मात्रै गरिने छ।’

प्रधानमन्त्री ओलीले नेपाल र भारतको सम्बन्ध कसैले बिगारेर नबिग्रने बताए। उनले संसदमा सम्बोधन गर्दै नेपाल भारतको सम्बन्ध बहुआयमिक र मैत्रीपूर्ण भएकाले कसैले बिर्गान नसक्ने दाबी गरेका हुन्।

‘नेपाल र भारतका बीचमा सदियौँदेखि बहुआयामीक सम्बन्ध छ। त्यो सम्बन्ध मैत्रीपूर्ण छ। कहिले(कहिले कसैकसैले बिर्गान खोजे पनि त्यो बिगार्न सजिलो छैन’, प्रधानमन्त्री ओलीले भने, ‘खासगरी हामीले हाम्रा भावना र समस्या स्पष्ट ढंगले मैत्रीपूर्ण ढंगले राख्यौँ भने हाम्रा हितलाई उसले सुन्नुपर्छ।’

प्रधानमन्त्री ओलीले छिमेकी भारत र चीन दुबैसँग नेपालको सम्बन्ध मित्रता पूर्ण र सन्तुलित रहेको समेत बताए।प्रधानमन्त्री ओलीले एक आपसको पारस्परिक सम्बन्ध व्यवहारमा कार्यान्वयन भए मात्र मित्रता हुने उल्लेख गरेका छन् । ‘पारस्परिक सम्बन्धको आधार व्यवाहारमा कार्यान्वयन हुनुपर्छ, अनिमात्र छिमेकीसँगको मित्रता अन्त्यत मित्रतापूर्ण हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘छिमेक नीति भनेकै मित्रतापूर्ण सम्बन्ध हो । मित्रता कसरी हुन्छ ? समानताका आधारमा । आपसी सहयोगका आधारमा हुन्छ । संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेख भए अनुसार हुन्छ।’

उनले अन्तराष्ट्रिय उत्तरदायित्व र कर्तव्य, नेपाल पक्ष भएका सन्धि सम्झौता, पक्ष नभएका सन्धि सम्झौता जेजेमा पनि परिस्थिति अनुसार सम्बन्ध अघि बढ्ने प्रष्ट पारे । ‘हाम्रा दुवै छिमेकी मित्रराष्ट्र भारत र चीनसँग हाम्रो सम्बन्ध राम्रो छ । यो सम्बन्ध अझ सुदृढ र प्रगाण बन्दै जान्छ’, प्रधानमन्त्री ओलीले भने ।

ओलीले यसअघि पनि आफू प्रधानमन्त्री भएर भारत जाँदा सम्झौतामा जोड नदिएको सम्झदै अब पनि त्यही हुने प्रष्ट पारे । ‘यसअघि पनि म प्रधानमन्त्री भएको बेला मेरो भारत भ्रमणमा मैले सम्झौतालाई प्राथमिकतामा राखिन, त्यसबेला देशको हितका पक्षमा सम्झौता भए’, प्रधानमन्त्री ओलीले भने, ‘यस पटक पनि म नयाँ सम्झौताको चाङ लगाउँदिन । भएका सम्झौतालाई कसरी प्रभावकारी गर्ने भन्ने विषयमा भ्रमण केन्द्रित हुनेछ ।’

उनले भइसकेका सम्झौतामा हाम्रा सहयोगका क्षेत्रमा कसरी उपलब्धि हासिल गर्न सकिन्छ र तिनलाई अध्यावधिक कसरी गर्न सकिन्छ भन्नेतर्फ विशेष पहल गर्ने बताए । सँगै नेपालको कृषि क्षेत्र, जलमार्ग, रेलमार्ग, कृषि क्षेत्रका पारस्परिक सहयोग र अनुभवको आदानप्रदान, आधुनिकीकरण र व्यवसायिकरणका विषयमा छलफल हुने बताए ।