देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कता जाँदै छ नेपाली साहित्य ?

देशान्तर

साहित्यले समाज रूपान्तरण, राजनीतिक परिवर्तन, सांस्कृतिक सचेतनामा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । समाजको पथप्रदर्शनको काम पनि गरिरहेको छ साहित्यले । तर हामीले हाम्रो साहित्यलाई यस्ता सकारात्मक कुराहरूमा मात्र केन्द्रित गर्न सक्यौं त ? यो प्रश्न आज टड्कारो बनिरहेको छ नेपाली साहित्यमा ।

हामीले ‘सर्जक’को पगरी गुथिरहेर खास सर्जक बन्न सक्यौं कि सकेनौं ? ‘सिर्जना’ जन्माउने काम मात्र हामीले गरिरहेका छौं कि समाज, देश र देशवासी तथा समग्र मानव समुदायको हितका निम्ति पनि केही योगदान गरेका छौं, हाम्रा सिर्जनामार्फत ? एक पटक घोत्लिँदा खेर नजाला ।

आज हामीले लेखिरहेको वा सिर्जना गरिरहेको साहित्यको आयु कति हो ? अथवा हाम्रा सिर्जनाको प्रभावकारिता कहिलेसम्म हो ? कम्तीमा पनि एक युग अर्थात् सय वर्षसम्म सम्झिइने सिर्जना हामीले गर्न सकेका छौं ? कुनै समाज, व्यक्ति वा समुदायमा, कुनै सभ्यता र परम्परामा रूपान्तरण गर्न सक्ने खुबी र सामथ्र्य हाम्रा सिर्जनाले राखेका छन् ? कुनै आन्दोलन वा अभियानका ‘गीत’ वा ‘मन्त्र’ बनेका छन् हाम्रा सिर्जना ?

यी प्रश्नतिर हामी सर्जक भनिनेहरू सायदै केन्द्रित छौं । सायदै हामी यी प्रश्नमा गम्भीर छौं । हामी त बजारको पछाडि दौडिएका छौं– लगाम लगाएको घोडा जस्तो । दायाँबायाँ नहेरी बजारमा कति बिक्ला ? यसको रोयल्टी कति हात पर्ला ? मिडियामा कतिको ‘चर्चा’ होला ? भन्नेतरि मात्र हाम्रो ध्यान छ । अनि को आफन्त वा नजिककाहरूले प्रतिष्ठान, संस्था खोलेका छन् र तिनलाई कसरी फकाएर वा प्रभावमा पारेर दोसल्ला ओढ्न र खाम खल्तीमा हाल्न पाइएला भन्ने सोचेर बसेका छौं हामी ।

यस्तो सिर्जनाको ‘प्यास’ले नेपाली साहित्यको, नेपाली भाषाको उन्नयन होला र !

भाषा, साहित्यको सम्बन्ध सिधा समाज, राज्य, संस्कार र सभ्यतासँग हुने गर्छ । हाम्रा साहित्य हाम्रो समाजका, हाम्रा प्िरतविम्ब हुन् । ती पढेर सयौं वर्ष पछिसम्म हाम्रो संस्कृति, समाज र सभ्यताको आकलन गर्छन् मानिसले । यसर्थ पनि हामीले हाम्रा यस्ता महत्वपूर्ण ‘निधि’प्रति जिम्मेवार हुन आवश्यक छ । क्षणिक दोसल्ला वा खामको लोभमा परेर वा बजारको पछि लागेर गरिने सिर्जना अन्ततः मूल्यहीन हुन सक्छ ।

पछिल्लो समय बजारमा केही ‘महान्’ वा ‘खतरा’ भनिएका लेखकका कृति आइरहेका छन् । ती कृतिहरू किन सबै उति चर्चामा आउन सकेनन् ? किन आलोचनाका सिकार भइरहेका छन् उनीहरू ? कारण, बजारले लेखाइरहेको छ अहिलेको साहित्य, सर्जकले लेखेको छैन । सर्जकसँग साधना र अध्ययनभन्दा प्रकाशकले दिएको समयसीमा (डेडलाइन)को बोझ बढी छ । प्रकाशकलाई हतारमा छापेर तुरुन्त कमाउनु छ, जसको परिणाम उत्कृष्ट सिर्जना जन्मिन सक्थ्यो भने पनि त्यो पूरा हुन पाउँदैन ।

हामी स्रष्टा वा सर्जक कम, वस्तु उत्पादक बढी भइरहेका त छैनौं ? साहित्य बजारको वस्तु मात्र ठानिरहेका त छैनौं ? यदि यसो हो भने हामीले आफूलाई ‘स्रष्टा’ भनिरहन गाह्रो हुनुपर्ने हो । तर हामी ‘गर्व’का साथ स्रष्टा भनिइ/भनाइरहेका छौं ।

स्रष्टा भनेको निर्माता हो । निर्माता सिर्जनशील हुन्छ, जिम्मेवार हुन्छ र उत्तरदायी हुन्छ । यो जिम्मेवारी स्वयंप्रति, यो उत्तरादायित्व समाज र समग्र मानवजातिप्रति हुनुपर्छ । यसर्थ हाम्रा सिर्जनाले यस कुरामा महत्वपूर्ण भूमिका खेल्नै पर्छ, अन्यथा हामी ‘सर्जक’का नाममा अर्थोकै केही बनिरहन्छौं, खा सर्जक बन्न सक्दैनौं । हाम्रा ‘सिर्जना’ आत्मरति वा कुण्ठाका अभिव्यक्ति वा आक्रोश र आशक्तिका प्रकटीकरणबाहेक केही हुन सक्दैनन् ।