देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारुबारे सकारात्मक नतिजा आउने गर्भनरको दाबि

देशान्तर

काठमाडौं । गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालीसँग भएको भारतीय नोटका विषयमा भारतीय पक्षबाट सकारात्मक नतिजा आउने आशा जगाएका छन्। ‘प्रधानमन्त्री, अर्थमन्त्रीले समेत भारतीय प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग दुई पटक वार्ता गरिसक्नुभएको छ,’ आर्थिक पत्रकार समाज सेजन स्थापना दिवस कार्यक्रममा उनले भने, ‘मैले पनि आरबीआई बैंकसँग पटक–पटक वार्ता गरिरहेको छु।’ गभर्नर डा. नेपालले भारतीय पक्षसँग दैनिकजसो कुुराकानी भइरहेको जानकारी दिए। ‘अहिलेसम्म सकारात्मक कुराकानी भइरहेको छ, यद्यपि नतिजा आउन सकेको छैन,’ उनले भने। उनले भारतीय पैसा भएकै कारणले नेपाल सरकारले केही निर्णय गर्न नसक्ने स्पष्ट पारे।

मुलुक रेमिट्यान्स र आयातमा निर्भर रहेको भन्दै गभर्नर डा नेपालले सहुलियत कर्जा लिएर व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन्। ‘रेमिट्यान्स र आयातबाट मुलुक सम्मृद्ध बन्न सक्दैन,’ उनले भने, ‘राष्ट्र बैंकले कुनै पनि व्यक्तिलाई सहज रूपमा लगानी जुटाउनका लागि सहुलियत कर्जा उपलब्ध गराएको छ, त्यसैले कर्जा लिनुस् र व्यवसाय गर्नुस्।’ उनले सरकारले दिने कृषि र विपन्न कर्जाबारे ग्रामीण स्तरमा जानकारी हुन नसकेको बताए । उनले देशलाई आर्थिक रूपमा समृद्ध बनाउन उद्यम व्यवसाय नै अत्यावश्यक भएको जिकिर गरे । ‘१ करोड रुपैयाँसम्मको त्यस्तो कर्जा उपयोग गरी कृषि तथा पर्यटन व्यवसाय गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर हुन्छ,’ उनले भने।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई आर्थिक रूपमा समृद्ध बनाउन युवा शक्ति व्यवसायमा लाग्नुपर्ने बताए । ‘नेपाल कृषि प्रधान देश भएर पनि वार्षिक ८ अर्ब रुपैयाँको तरकारी र २३ अर्ब रुपैयाँको चामल खरिद गरेका छौं,’ उनले भने, ‘यो अवस्था आउनु आफैंमा लज्जास्पद हो।’

आयात वृद्धि भएर व्यापार घाटा उच्च हुनु द्रूत आर्थिक विकास खोजिरहेका हाम्रा लागि चुनौतीको विषय रहेको भन्दै उपराष्ट्रपति पुनले आर्थिक समृद्धिका लागि स्रोतको पहिचान गरी युवा पुस्तालाई उपयोगमा आकर्षित गर्नुपर्ने बताए।

ऊर्जामन्त्री जनार्दन शर्माले आर्थिक समृद्धिका लागि आवश्यकता अनुसारको विधि चाहिने बताए। उनले युवालाई कृषिमा आकर्षित गर्न सके रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यताको अन्त्य हुने दाबी गरे। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आर्थिक क्रान्ति बिना लोकतन्त्र सुनिश्चित हुन नसक्ने दाबी गरे । ‘विदेशी लगानी ल्याउन होस् या स्वदेशी लगानीलाई आकर्षित गर्न नै किन होस्, लगानीमैत्री वातावरणमा सुधार र पूर्वाधार विकास पहिलो प्राथमिकताका विषय हुन्,’ उनले भने। कारोबार दैनिकले समाचार छापेको छ।

]]>