काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रलाई पोलिटब्युरो र महाधिवेशन आयोजक समिति संख्या तय गर्ने मुस्किल परेको छ। आकांक्षी धेरै भएको र तल्लो तहकाले पदमा तँछाडमछाडको स्थिति भएपछि कति संख्या बनाउने भन्ने टुंगो लाग्न हम्मेहम्मे परेको हो। विभिन्न १० माओवादी घटकहरूको एकता भएको आधा वर्ष नाघिसकेको अवस्थामा पोलिटब्युरो र आयोजक समिति संख्या हल गरेर अघि बढ्ने तयारी गरे पनि आकांक्षी धेरै हुँदा पार्टीको सांगठनिक संरचना मिलाउन माओवादीमा समस्या भएको हो।
६ जेठमा विभिन्न १० माओवादी घटकको एकताका क्रममा माओवादी केन्द्रले ५ सय ९९ सदस्यीय आयोजक समिति घोषणा गरेको थियो। त्यसपछि ६ सय ९९, ९ सय ९९, १४ सय ९९, २ हजार हुँदै २५ सयको हाराहारीमा आयोजक समिति पुगेको थियो। ५ सयबाट २५ सय पुग्दा पनि आयोजक समितिका आकांक्षी झनै बढेसँगै माओवादीले प्रदेशबाट सम्भावित सदस्यको लिस्ट माग गरेको थियो।
सो क्रममा ६ हजारभन्दा बढीको संख्यामा सिफारिस भएपछि माओवादी केन्द्रले तत्काल आयोजक समिति संख्या नबढाउने निर्णय गरेको थियो। तर, पार्टी संगठन भद्रगोल भएको भन्दै आलोचना बढेपछि माओवादीले सांगठानिक अवस्था र पार्टीको नीति तथा कार्ययोजना तय गर्न पोलिटब्युरो बैठकमा छलफल जारी राखेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले २४ सय ८४ अन्तिमपटक भएको संख्यालाई मुख्य आधार बनाएर टुंगो लगाउन संगठन विभाग तथा प्रदेश कमिटीलाई निर्देशन दिएका थिए।
तर, ३५ सयको हाराहारीमा रहेर आयोजक समितिको टुंगो लगाउने गरी तयारी भइरहेको एक नेताले जानकारी दिए। ६ हजारभन्दा बढीको नामावली सिफारिस भएकोमा संख्या घटाउने क्रममा पनि माओवादीभित्र विवाद छ । विशेष गरी प्रदेश नम्बर २ र प्रदेश नम्बर तीनमा बढी आकांक्षी देखिएका छन् । माओवादी केन्द्रका एक नेताका अनुसार पदका आकांक्षी धेरै भएको, आवश्यकताभन्दा बढी आफन्त र आसेपासेलाई राख्न खोजेको तथा पूर्वएमाओवादीले एकताबाट आउने जुनियर भएको र आफू सिनियर भएकाले धेरै आफ्नोबाट हुुनुपर्छ भन्ने अडान राखेकाले समस्या हल गर्न अप्ठ्यारो भएको बताउँछन्। राजधानी दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया