देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद् विस्तारको तयारीमा ओली, मधेसवादी दललाई समेट्न मन्त्रालयको संख्या थपिने

देशान्तर

काठमाडौँ । राष्ट्रपति र सभामुखको निर्वाचन भइसकेकाले प्रधानमन्त्री केपी ओली चाँडै मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका छन्। मन्त्रिपरषद्को बिहीबारको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनः गठनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले सो विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिइन्।

प्रधानमन्त्री ओलीले बिहीबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका छन्। आफूलाई विश्वासको मत दिएका मधेसवादी दल संघीय समाजवादी फोरम र राजपालाई समेत सरकारमा सहभागी गराउने योजनामा रहेका प्रधानमन्त्रीप्रति दुवै दल सकारात्मक छन्। फोरमले आफूलाई तीन मन्त्रालयमा दाबी गर्दै आए पनि वाम गठबन्धनले दुई वटा मात्र दिन सक्ने संकेत गरेका छन्। फोरम लगभग सरकारमा जाने निश्चित भए पनि राजपा भने अझै अनिर्णित अवस्थामा छ।

नयाँ मन्त्रिपरिषद्‌मा एमालेले प्रधानमन्त्री कार्यालयसहित ११ र माओवादीले ७ मन्त्रालयमा सहमति गरेका थिए। विगतमा रहेका ३१ मन्त्रालय घटाई सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय कायम गरेकामा सरकारमा मधेसवादी दलको सहभागिता हुने भएकाले केही मन्त्रालय थप्ने गृहकार्य भएको छ। संविधानअनुसार संघीय सरकारका २५ सदस्यसम्म मन्त्री रहन सक्नेछन्।

फागुन ३ गते नियुक्त प्रधानमन्त्री ओलीको सरकारमा हालसम्म ७ मन्त्री मात्र सहभागी छन्।