देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीको हस्ताक्षर देखाउँदै निधिले भने- ‘सहमतिमै संसोधन प्रस्ताव पेस’

देशान्तर

चितवन । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले यसअघि प्रदेश विभाजनका बेला दलहरुले गरेको सहमतिलाई टेकेर सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गराएको बताएका छन् ।

नेपाल दलित सङ्घ चितवनले आज यहाँ आयोजना गरेको ‘संविधानमा दलित अधिकार र स्थानीय निर्वाचनमा दलितको पहुँच’ विषयको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दे उनले तत्कालीन समयमा नेपाली काँग्रेसका सभापति स्व सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताले सहमति जनाएको मस्यौदा अनुरुप नै संविधान संशोधन प्रस्ताव दर्ता भएको बताए ।

सहमति पत्रलाई देखाउँदै मन्त्री निधिले अरु सबैले अन्तिम पृष्ठमा हस्ताक्षर गर्नुभएको छ, तर नेकपा एमालेका अध्यक्ष ओलीले सबै पृष्ठमा हस्ताक्षर गर्नुभएको छ भने ।

संविधान जारी भएपछि टुँडिखेलमा आयोजित खुसियालीसभामा तीनै दलका शीर्ष नेताले संविधान गतिशील भएकाले संशोधन हुँदै जाने बताएको स्मरण गराए । नेपाली काँग्रेसलाई राष्ट्रघाती भनिएको भन्दै उनले जसले संसदीय प्रक्रियालाई अवलम्बन गरेर जनताको पक्षमा वकालत गर्छ त्यो राष्ट्रघाती हुन्छ की सडकमा संसदीय प्रक्रिया विरुद्घ उफ्रन्छ त्यो राष्ट्रघाती हुन्छ भन्ने प्रश्न गरे ।

काँग्रेस संसदीय र लोकतान्त्रिक प्रक्रियाको विरुद्घमा कहिल्यै नलाग्ने हुँदा कसैले राष्ट्रघाती भन्न नसक्ने बताए । काँग्रेसजति राष्ट्रवादी पाटी अरु कोही नभएको उनले बताए । एमालेप्रति लक्षित गर्दे उनले भने, “संविधान सिध्याउन खोज्ने राष्ट्रघाती हुन्छ की कार्यान्वयन गर्न खाज्ने राष्ट्रघाती हुन्छ ।”

संविधान संसोधनसँगै निर्वाचनको वातावरण बन्ने र संविधान कार्यान्वयन हुने उपप्रधानमन्त्री निधिले बताए । मधेसी मोर्चासहितका दल संविधान संसोधनको पक्षमा आउने विश्वास व्यक्त गर्दै उनले संशोधन पारित हुँदैन भन्ने भ्रममा नपर्न सबैसँग आग्रह गरे ।

संविधान गतिशील दस्तावेज भएको भन्दै उनले जारी गर्ने समयमा क्रमशः संशोधन गर्दै जाने विश्वास दिलाएर पारित भएको बताए । दलित अधिकार संविधानमा उल्लेख गराउने काममा काँग्रेसको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले बोलेर मात्र नहुने हुँदा संविधानमै अधिकार सुनिश्चित हुनुपर्छ भन्ने पक्षमा काँग्रेसले अडान लिँदै आएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले दलित गरिबीका कारण बनेको नभएर छूवाछूत जस्तो अपरराधबाट दलित भएको बताए । संविधान दलितका पक्षमा रहेको र समावेशी भएको उनले बताए ।

दलित सङ्घका अध्यक्ष मीन विश्वकर्माले जन्मजात काँग्रेस भएकामा गर्व गर्ने तर मुद्दा बोकेर हिँड्न नसक्दा पछि परेको बताए ।

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा डिला सङ्ग्रौलाले शान्ति, समृद्घि र विकासका लागि अब काँग्रेस जुटनुपर्ने बताए ।

दुई दिनसम्म चल्ने प्रशिक्षणमा करिब २०० दलित अगुवाको सहभागिता रहने दलित सङ्घकी जिल्ला अध्यक्ष शान्ति परियारले बताए ।

]]>