देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दैनिकी चलाउन तुइनको भर

देशान्तर

जीविकोपार्जनका लागि जिल्लाका सयौँ परिवार अझै पनि तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ०७२ असोजमा केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्दा दुई वर्षभित्र तुइन विस्थापित गर्ने पहिलो निर्णय गरेका थिए । तर, सबै ठाउँमा झोलुंगे पुल नबन्दा ठूला नदीमाथि तुइनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् स्थानीय बासिन्दा । जीविकोपार्जनका लागि जोखिमपूर्ण तुइनको यात्रा गर्न बाध्य रहेको स्थानीयको गुनासो छ । नदी वारपार गर्न सहज बनाउन तनहुँका ठूला नदीहरूमा तुइन जडान गरिएको थियो । सरकारले जडान गरेका ६ वटा तुइनमध्ये दुई अहिले पनि सञ्चालनमा छन् ।

उत्पादन बिक्री गर्न पनि तुइनको यात्रा

तनहुँको रिसिङ गाउँपालिका वडा–१ सेटाङ्दीका टीकामाया राना जोखिम मोल्दै तुइन चढ्छिन् । उनी उत्पादन गरेको कृषि सामग्री बिक्री गर्नका लागि तुइनको जोखिमपूर्ण यात्रा गरेर सदरमुकाम दमौली, भिमाद, खैरेनीटार र आसपासका बजारहरूमा पुग्ने गरेकी छन् । जीविकोपार्जनका लागि दुलेपहरोको सेती नदीमाथि तुइनबाटै बजार आवतजावत गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । उनी भन्छिन्, ‘गाउँमै कृषिजन्य तरकारी खेती गरियो तर बजारसम्म पु¥याउन गाह्रो हुन्छ । बजार पुगेपछि पनि उत्पादित वस्तुले भाउ पाउनै गाह्रो हुन्छ ।’

उनले बजारमा पिँडालु, खुर्सानी, बोडी, अदुवालगायतका कृषिजन्य वस्तुहरू डोकोमा बोकेर बजारमा बिक्री गर्न ल्याउने गरेकी छिन् । ‘सामान बिक्री गर्न जाँदा तुइनको लठ्ठो तान्दा निकै कठिन हुन्छ, हातमा फोरा उठ्छ,’ उनले भनिन्, ‘नदीपारि नपुगिन्जेलसम्म मर्ने हो कि बाँच्ने हो भगवान् भरोसा ।’ टीकामायाले जस्तै रिसिङका सयौँ परिवारले नदी वारवार गर्न तुइनको जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।

सराङघाटमा पनि उस्तै समस्या

सराङघाट क्षेत्रका सर्वसाधारण पनि तुइनकै प्रयोग गरेर नदी वारपार गर्दै आएका छन् । तुइनको यात्रामा महिलालाई लठ्ठो तान्न कष्ट हुने गरेको उनीहरू बताउँछन् । राममाया थापा भन्छिन्, ‘पुरुषहरू बलिया भएका कारण उनीहरूलाई लठ्ठो समातेर तर्न सजिलो हुन्छ तर महिलालाई भने कठिन हुन्छ ।’

छिट्टै तुइन विस्थापित गर्ने लक्ष्य

जिल्लामा छिट्टै तुइन विस्थापन गर्ने योजनाका साथ काम भइरहेको सरकारी अधिकारीहरूले बताएका छन् । जिल्ला प्राविधिक कार्यालय तनहुँका सबइन्जिनियर सुरेश अधिकारीका अनुसार सराङघाटमा ९० र खहरेमा ७० लाखको लागतमा झोलुंगे पुल निर्माण भइरहेको छ । उनले निर्माण सम्पन्न गरेर जिल्ला तुइनमुक्त बनाउने बताए । आर्थिक वर्षको अन्त्यसम्ममा दुवै ठाउँको तुइन विस्थापित हुने बताए । जिल्लामा रहेका ६ तुइनमध्ये चारवटा विस्थापित भइसकेको र अब दुई ठाउँमा झोलुंगे पुलको निर्माण कार्य भइरहेको छ ।

सधैँ साथी खोज्नुपर्ने बाध्यता

तुइनबाट यात्राका लागि सधँै साथी खोज्नुपर्ने अर्को बाध्यता छ । एक्लै तुइन तर्न नसकिने भएकाले सिरिङका बासिन्दा साथी खोजेर बजार झर्ने गरेको स्थानीय सोममाया आलेले बताइन् । ‘एक्लै तुइनको लठ्ठो तानेर पार गर्नै सकिन्न, त्यसैले दुईजना मिलेर आउँछाँै । अनि पालैपालो लठ्ठो तानेर नदी वारपार गर्छांै,’ उनले भनिन् । यस क्षेत्रका मात्र १ सय ५० परिवारले तुइन प्रयोग गर्दै आएका छन् । रिसिङका सर्वसाधारणले जस्तै गरी सेटाङ, भाल्बोन, बाझालगायतका स्थानीयले तुइनको प्रयोग गरेको पाइएको छ ।

लमजुङका तीन तुइन विस्थापित

लमजुङ÷ लमजुङका तीन तुइन विस्थापित भएका छन् । झरेस्वारामा रहेको चिल्ली खोला, च्यापे खोला र भालुरुम्टेमा रहेका तुइन विस्थापित भएका हुन् । दुईवटा तुइन तीन वर्षअघि नै विस्थापित भएका थिए भने चिल्ली खोलाको तुइन गत वर्ष विस्थापित गरिएको जिल्ला प्राविधिक कार्यालय लमजुङले जनाएको छ । झोलुंगे पुल निर्माण गरी तुइन विस्थापित गरेको हो ।

आर्थिक वर्ष ०७३÷७४ मा लमजुङमा १० वटा झोलुंगे पुल निर्माण भएका छन् । १० वटा झोलुंगे पुल निमार्णका लागि कुल लागत २ करोड ९६ लाख ४२ हजार ७ सय ८८ रुपैयाँ खर्च भएको कार्यालयका प्रमुख जिल्ला इन्जिनियर गौरीकुमार श्रेष्ठले बताए । जिल्लामा अहिलेसम्म १ सय ९२ झोलुंगे पुल निर्माण भइसकेको कार्यालयले जनाएको छ ।नयाँ पत्रिका