नेपाली साहित्यमा पछिल्लो समय गुटको चर्चा निकै हुने गरेको छ । विभिन्न व्यक्ति र विचारका नाममा आआफ्नै समूह खडा गरिएका छन् नेपाली साहित्यमा । यस्ता समूहले आआफ्ना पक्षका स्रष्टाको महिमामण्डन गर्ने र अर्को समूहको कटु आलोचना गर्ने गर्छन् । यिनीहरूको रमाइलो कुरा के छ भने आफ्ना पक्षका भए जस्ता कमजोर रचना भए पनि उत्कृष्ट भनिदिन्छन् । यस्ता पक्षका समालोचक, समीक्षक भनिनेहरूको दशा पनि यही हो । व्यक्तिको सिर्जना वा सिर्जन क्षमताभन्दा व्यक्ति को हो, कसको पक्षको हो ? भन्ने कुरासँग उनीहरूको धारणा निर्भर रहन्छ ।
यस्ता गुट स्थापित वा पुराना स्रष्टादेखि भर्खरै लेख्न थालेकासम्मका देख्न पाइन्छ । अझ केही गुटभित्रै उपगुट पनि जन्मिएका छन्, राजनीतिक दलमा जस्तो । लाग्छ, पछिल्लो नेपाली साहित्य साहित्यभन्दा बढी राजनीति बन्दै गएको छ । यसको सिधा नकारात्मक असर समग्र नेपाली भाषा साहित्यमै परेको हुन्छ ।
साहित्य सिर्जना गुटले गर्छ र ? अथवा समूह समूह बनाएर एकले अर्कालाई बदख्वाइँ गरेर वा कसैका प्रशस्ति गाएर र कसैलाई आलोचना गरेर साहित्यको समृद्धि हुन्छ र ? सिर्जनकर्मलाई सामूहिक रूपमा उत्प्रेरित गर्न वा ऊर्जा दिन सामूहिक प्रयास आवश्यक हुन सक्छ तर त्यो कुनै गुटका रूपमा हुनु राम्रो होइन ।
अहिले त नेपाली साहित्यले देश विदेश सबैतिर उपस्थिति जानाइसकेको छ । नेपालमा मात्र होइन, विदेशमा समेत नेपाली स्रष्टाबीच गुट उपगुट खडा भएका पाइन्छ । ती गुट उपगुटको काम नै सामाजिक संजालमा आफ्ना गुटका स्रष्टालाई चुलीमा टेकाउने गरी अतिप्रशंसा गर्ने र अन्य गुटलाई पाताल भासिने गरी आलोचना गर्ने देखिन्छ । तर वास्तवमा उनीहरूलाई नेपाली साहित्यमा कसरी उत्कृष्ट रचना दिन सकिन्छ ? कसरी नेपाली भाषा, साहित्यलाई उन्नत र विश्वस्तरीय बनाउन सकिन्छ भन्नेतिर उनीहरूको ध्यान गएको पाइँदैन ।
विशुद्ध आत्मरतिमा उनीहरू रमाउँदै आएका छन् । आफ्नो गुट बाँचुन्जेलका लागि मात्र बाँचिरहने हुन् उनीहरू। जब गुट तितरवितर हुन्छ, तब ती गुटका सर्जक र सिर्जना पनि थोरै मात्र बाँकी रहन्छन् । यसर्थ गुटले सिर्जना गर्न सक्ला तर उत्कृष्ट सिर्जना गर्न सक्दैन । गुट आत्मरति हुन सक्ला तर साधना हुन सक्दैन । सिर्जनाका लागि साधना प्रमुख कुरा हो, यससँगै अध्ययन जरुरी छ ।
अहिले नेपाली साहित्यमा प्रगतिशीलहरूको एउटा ठूलो समूह छ । त्यसभित्र पनि विभिन्न उपसमूह छन् । ती उपसमूह विभिन्न वामघटक पक्षधर छन् । यसरी नै ती उपसमूहभित्र पनि अनेक व्यक्तिका अरू उपउपसमूह पनि छन् । तीभित्र पनि आआफ्नै अनुयायी र अनुचरहरूका टुक्राटुक्री समूह छन् । यस्ता समूह, उपसमूह, उपउपसमूहहरूले समग्रमा वामपन्थी विचारधाराको साहित्यका माध्यमबाट प्रचार गरिरहेका छन् । त्यसबाहेक आफ्नाइतर विचारधाराका सर्जक र उनीहरूका सिर्जनाको आलोचना गर्नु पनि उनीहरूको विशेष कर्म हो ।
उता, प्रजातन्त्रवादी भन्नेहरूको समूह छ अर्को । त्यस समूहभित्र पनि ‘दाइ’हरूका अन्य उपसमूह छन् । त्यस समूहको प्रमुख ध्यान एकेडेमीलगायतका निकायमा कसरी बाजी मार्ने भन्ने देखिन्छ । एकले अर्कालाई कसरी होच्याउने र आफू माथि परेको, आफू उत्कृष्ट भएको, आफू सर्वज्ञाता भएको भ्रममा राख्ने भन्ने यस समूहका व्यक्तिहरूको ध्याउन्न देखिन्छ । खासै गतिलो सिर्जनामा भन्दा पनि गतिलो समूह बनाउनमा उनीहरू लगेका देखिन्छ ।
सर्जकको मूल कुरा सिर्जना हो । सिर्जना त एकान्तमा बसेर गरिने साधना हो । समूहमा बसेर त राजनीति होला, पिकनिक होला, मनोरंजनका अनेक क्रियाकलाप होलान् तर सिर्जना हुन सक्दैन । यसर्थ सिर्जना गर्नलाई कुनै समूह चाहिँदैन, कुनै गुट, उपगुटको खेतीमा लाग्नु जरुरी छैन । यस्ता गुट, उपगुटका कारण दुःखको कुरा, केही राम्रा र असल सर्जकसमेत बदनाम बन्दै गएका छन् । सर्जक भनेको सार्वजनिक व्यक्ति हो, उसका क्रियाकलाप र व्यवहार पनि समाजले हेरिरहेको हुन्छ । उसका विचार सिर्जनामा दिने हो, कलात्मक र प्रतीकात्मक रूपले । सर्जक कसैको गुलाम भएर वा प्रचारक वा प्रवक्ता भएर हिँडिरहनुपर्दैन । यसले ऊप्रतिको समाजले गरेको सम्मानमा पनि ह्रास आउँछ ।
यसरी नेपाली साहित्यमा विचारका नाममा होस् वा व्यक्तिका नाममा, अनेक गुट, उपगुट र उपउपगुटसमेत बनेका देखिन्छ । तर ती सबैको उद्देश्य र ध्येय नेपाली भाषा, साहित्यको श्रीवृद्धि नभएर आफ्नो राजनीतिक, साहित्यिक वा व्यक्तिगत अन्य लाभ मात्र देखिन्छ । जबसम्म साहित्य र भाषामा देखिएका यस्ता खतरनाक भाइरसहरू ठेगान लाग्न सक्दैनन्, तबसम्म नेपाली भाषा, साहित्यले कुनै ठोस उपलब्धि हासिल गर्न मुस्किल नै हुन्छ ।
प्रतिक्रिया