काठमाडौं । प्रमुख विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न कांग्रेसले सरकारलाई सहयोग गर्ने बताएका छन् । संसदको बैठकलाई सम्बोधन गर्दै देउवाले संविधानलाई अझ सर्वस्वीकार्य बनाउन जरुरी रहेको बताए ।
आफ्नो नेतृत्वको सरकारले संविधान संशोधन गर्न खोजेपनि सफल नभएको स्मरण गर्दै उनले सरकारले त्यतातिर अघि बढ्न खोजेको सुन्दा खुशी लागेको भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाए । एमालेतर्फ संकेत गर्दै सभापति देउवाले हिजो संविधान संशोधन राष्ट्रहितमा छैन भन्नेहरु पनि संशोधनमा पक्षमा आउँदा खुसी लागेको बताए ।
उनले संविधानका आधारभूत संरचनामा परिर्वतनको प्रयास नगर्न खबरदारी गर्दै धेरै लामो संघर्षबाट संविधान प्राप्त भएको र संविधानका आधारभूत संरचनामा परिर्वतन गर्ने काम भए त्यो स्वीकार्य नहुने बताए ।
देउवाले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न पनि आफ्नो पार्टीले सहयोग गर्ने बताउदै आफ्नो नेतृत्वमा चुनाव गरेर संविधान कार्यान्वयन गर्न पाएकोमा सन्तोष लागेको उल्लेख गरे । उनले अदालतलाई तर्साउने र प्रेसलाई धम्क्याउने काम कही कतैबाट पनि हुनु नहुने धारणा राखे ।
प्रतिक्रिया