काठमार्डौ । पाकिस्तानका प्रधानमन्त्री साहीद खकान अब्बासी दुई दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटघाटपछि अब्बासी स्वदेश फिर्ता भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई त्रिभुवन विमानस्थलमा पुगेर बिदाई गरेका छन् । उनी सवा १२ बजे विशेष विमानबाट स्वदेश फिर्ता भएका हुन् ।
अब्बासी सोमबार अपरान्ह नेपाल आएका थिए । नेपाल भ्रमणका क्रममा अब्बासीको राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता भएको थियो । दुई दिने भ्रमणका क्रममा सोमबार नै प्रधानमन्त्री ओली र अब्बासीबीच विगत ४ वर्षदेखि हुन नसकेको दक्षिण एसियाली सहयोग संगठन(सार्क) शिखर सम्मेलनको सम्बन्धमा छलफल भएको थियो ।
मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको कुराकानीमा अब्बासीले आतंकवाद दक्षिण एसियाको साझा शत्रु भएको बताएका थिए । उनलाई टुँडिखेलमा नेपाल सरकारकातर्फबाट नेपाली सेनाले ‘गार्ड अफ अनर’ले भव्य सम्मान गरेका थिए । अब्बासी टुँडिखेलमा ‘गार्ड अफ अनर’ले सम्मानित हुने पहिलो विदेशी सरकार प्रमुख हुन्।
अब्बासी फिर्तामा आधा घण्टा अन्य सबै उडानमा रोक
त्रिभुवन विमानस्थलमा ११ः५५ बजेदेखि १२ः२५ बजेसम्म सबै उडान र अवतरण रोकिएका छन् । भिभिआइपी र भिआइपीको हवाई सुरक्षालाई मध्यनजर गर्दै आधा घण्टा विमान स्थल उडान रोक्ने चलन रहदै आएको छ । यसलाई हवाई भाषामा ‘नो टाइम’ भनिन्छ ।
प्रतिक्रिया