देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलकाे निर्वाचन अाज: देउवालार्इ सिंहकाे चुनाैती

देशान्तर

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार साँझ सभापति देउवा र नेता सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

साँझ सभापति देउवा र नेता सिंहले निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठ समक्ष उम्मेदवारी दर्ता गराएका हुन्। सभापति देउवाले नेता बालकृष्ण खाँडमार्फत् उम्मेदवारी दर्ता गराए भने प्रकाशमान सिंह स्वयम् उपस्थित भएर उम्मेदवारी दर्ता गरे।

विजयकुमार गच्छदारको प्रस्ताव र मानबहादुर विश्वकर्माको समर्थनमा देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन्। सीतादेवी यादवको प्रस्तावक र सञ्जयकुमार गौतमको समर्थनमा नेता सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरे।

नेता सिंहले रामचन्द्र पौडेल गुटको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्। संसदीय दलमा देउवा र पौडेल पक्षको प्रत्यक्षतर्फ बराबर संसद संख्या रहेपनि समानुपतिकतर्फबाट संसदीय दलमा देउवा पक्ष हाबी छ। प्रतिनिधि सभाको २७५ सिटमध्ये कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सहित ६३ स्थान जितेको छ।

संसदीय दलको नेतामा महामन्त्री शशांक कोइरालाको नाम चर्चामा आए पनि कोइरालाले भने निर्वाचनमा सहभागी नहुने बताएका थिए । कोइरालाले आफ्नो नाममा सहमति भए नेता बन्न तयार भएको बताएका थिए । यद्यपी कांग्रेस भित्र सहमति जुट्न नसकेपछि सभापति देउवा र नेता सिंहबीच प्रतिस्पर्धा हुन लागेको हो ।

कांग्रेस संसदीय दलको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठका अनुसार सोमबार बिहान सवा ८ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय दिइएको छ। सवा ८ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने उनको भनाइ छ। संसदीय दलको नेताका लागि सोमबार बिहान १० बजेदेखि १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ। अन्नपुर्णपाेष्टमा समाचार छ ।