काठमाडौं। संविधान जारीपछि पहिलो पटक संघीय संसद्को बैठक बस्दैछ । निर्वाचन सम्पन्न भएको तीन महिना पछि सोमबार अपराह्न ४ बजे दुवै सन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । मंसिर १० र २१ गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन भएको थियो भने राष्ट्रियसभाको निर्वाचन माघ २४ मा भएको थियो ।
संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले संम्बोधन गर्ने र दुवै सदनको बैठक बस्ने सम्वैधानिक प्रावधान भए पनि संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र वाचन गरिनेछ ।
संघीय संसद्का ३३४ मध्ये ३२६ जनाले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५मध्ये २७१ र राष्ट्रियसभाका ५५ सांसद्ले शपथ ग्रहण गरेका हुन् ।
सोमबार ४ बजेबाट सुरू हुने संसद् बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रियसभा अध्यक्ष चयनको औपचारिक मिति तय गर्नेछ ।
संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार पहिलो बैठकले दुवै सदनले आ–आफ्ना बैठक सञ्चालन सम्बन्धि अन्तरिम कार्यविधि पारित गर्नेछ । संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार २६ गते सभामुख चयन हुनेछ । २७ गते प्रधानन्त्रीले विश्वासको मत लिनेछन् र ३० गते राष्ट्रियसभा अध्यक्षको चुनाव हुनेछ ।
प्रतिक्रिया