देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फागुन ३० सम्मको संघीय संसदको कार्यसूचि तयार

देशान्तर

काठमाडौ । संसद सचिवालयले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग संयुक्त छलफलमार्फत आगामी फागुन ३० गतेसम्मको संसदको कार्यसूचि तयार गरेको छ । आइतबार राष्ट्रिय मान्यताप्राप्त पाँच दलका नेताहरुसँग छलफल गरेर सचिवालयले कार्यसूचि तय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले दलहरुसँगको छलफलबाट आगामी फागुन ३० गतेसम्मको कार्यसूचि तयार पारिएको बताए । संघीय संसदले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका सार्वजनिक गरेको छ ।

जसअनुसार २६ गते प्रतिनिधिसभाको सभामुख, २७ गते प्रधानमन्त्रीको विश्वासको मत र ३० गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन गर्ने कार्यतालिकामा सहमति गरिएको सत्तारुढ एमालेका सांसद भानुभक्त ढकालले जानकारी दिए ।

२९ गते निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । भोली सोमबार संघीय संसदको पहिलो अधिवेशन आह्वान गरिएको छ । संवैधानिक व्यवस्था अनुसार संघीय संसदको पहिलो अधिवेशन सम्पन्न भएको मितिले १५ दिन भित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ । त्यसैगरी सरकार गठन भएको मितिले १ महिना भित्र संसदमा प्रधानमन्त्रीले विश्वासको लिईसक्नुपर्ने हुन्छ ।

सर्वदलीय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अन्तरिम कार्यविधिलाई अन्तरिम रुप पनि दिएको छ । भोली संसदको पहिलो बैठकले पारित गर्नेगरी अन्तरिम कार्यविधिलाई अन्तिम रुप दिइएको सत्तारुढ माओवादी केन्द्रका सांसद दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले नेता महेन्द्र राय यादवको उमेर विवादमा परेका कारण प्रतिनिधिसभाका दोस्रो जेष्ठ सदस्य महन्त ठाकुरलाई प्रतिनिधिसभाका सांसदहरुलाई सपथ गराउन उपयुक्त हुने सुझाव दिएको थियो ।

त्यसैगरी बैठकमा पार्टीका प्रतिनिधिसभाका सदस्य रेशमलाल चौंधरीलाई सुरक्षित ढंगले सपथग्रहण र संसदको कार्वाहीमा भाग लिने व्यवस्था गर्न पनि पुनः आग्रह गरिएको नेता वृशेषचन्द्र लालले जानकारी दिए ।

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचन राष्ट्रिय जनता पार्टी, नेपालका सांसद चौधरी कैलाली घटनाको हत्या आरोपमा कारगार चलान भएका छन् ।