खिला कार्की
संविधान जारी भएपछिको पहिलो निर्वाचनले नेपाली कांग्रेसलाई पाँच वर्षका लागि प्रमुख विपक्षी भूमिकामा पु¥याएको छ । कांग्रेसको प्रतिनिधिसभामा मात्र होइन प्रदेशसभा र स्थानीय सरकारमा समेत धेरै ठाउँमा विपक्षी भूमिकामा कांग्रेस छ । यसरी भन्दा नेपाली कांग्रेस नयाँ संविधानअनुसारको तीन तहका सरकारमा अब विपक्षी भूमिकामा देखिन्छ । प्रमुख र उपप्रमुख कांग्रेसले जित हात पारेका स्थानीय तहमा समेत एमाले र माओवादीका बीचमा एकता भएको अवस्थामा कांग्रेस विपक्षीको जस्तै भूमिकामा देखिन्छ । किनभने स्थानीय तहको कार्यपालिकामा प्रमुख र उपप्रमुख जितको ठाउँमा कांग्रेस बहुमतमा थोरै ठाउँमा मात्र छ । यसरी विपक्षी बनेको कांग्रेसमा व्यापक सुधार गर्नुपर्ने बहस पनि सँगै सुरु भएको छ । नेपाली कांग्रेसको पुनर्संरचना, पुनर्जीवन तथा सुधार नाममा चिया पसल, चोकदेखि विभिन्न समूहमा समेत छलफल भइरहेको छ । यसरी भइरहेका छलफलहरूले ठोस निष्कर्ष पु¥याउन सक्दैन । यसरी उठेका आवाजलाई कांग्रेसले वैधानिक थलोमार्फत एउटा बाटो तय गर्नुपर्ने हो तर अहिलेसम्म पनि कांग्रेसले निर्वाचनको समीक्षा नै गर्न सकेको छैन । निर्वाचनको समीक्षा गरेर अबको बाटो तय गर्नुपर्ने कांग्रेसले अझै केही काम गर्ने सकेको छैन । यतिबेला कांग्रेस कमजोर हुने धेरै आधारमध्येको मुख्य आधार भनेको तीनवटा हुने । पहिलो संगठन, दोस्रो संरचना र तेस्रो समर्पण । कांग्रेसमा यी कुराको कहिल्यै हेक्का राख्न सकेन । गिरिजाप्रसाद कोइराला, सुशील कोइरालको पालासम्म संगठन थियो । अहिले बनाउनुपर्ने संरचना पनि कांग्रेसले बनाउन सकेन समर्पण धेरै पहिलेदेखि नै हराउँदै गएको हो ।
संगठन
राजनीतिक पार्टी पहिलो आधार भनेको संगठन हो । संगठनमा धेरै विषयहरू पर्दछन् । राजनीतिक पार्टीको संगठनमा सदस्यता, भ्रातृ संगठन, शुभेच्छुक संगठन, र पार्टी संगठनका संरचनाको चुस्तता । नेपाली कांग्रेस अहिलेको चुनावमा जाँदा यी कुनै पनि कुरा चुस्त थिएनन् । कांग्रेसका सदस्यहरूको कुरा गर्दा क्रियाशील सदस्यभन्दा कम मत खसेको नभन्ने कांग्रेस कमै होलान् । यो भनेको सदस्यताको वितरण प्रणाली खराब थियो भन्ने हो । खराब प्रणालीबाट क्रियाशील सदस्यता वितरण गर्दा क्रियाशील सदस्यहरू जति मत कांग्रेसमा खसेन । अर्को भनेको क्रियाशील सदस्य चाहिँ कांग्रेसको लिएर तर अन्य राजनीतिक संगठनमा क्रियाशील भएका धेरै कांग्रेस क्रियाशील सदस्यहरू देखिए । यो भनेको कांग्रेसले आफ्नो संगठनलाई व्यवस्थित बनाउन नसक्नु हो ।
अर्को भनेको पार्टीलाई बलियो बनाउने अवयव भनेको पार्टीका भ्रातृ संगठनहरू हुन् । यो चुनावमा भ्रातृ संगठनको भूमिका कस्तो महसुस गरे उम्मेदवारहरूलाई नै भुक्तभोगी भएकाले धेरै नेताहरूलाई नै यो विषयको जानकार छन् । कांग्रेसका जम्मा १३ वटा भ्रातृ संगठन छन् । नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, मुस्लिम संघ नेपाल, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल ठाकुर समाज कांग्रेसका भ्रातृ संगठन हुन् । यी भ्रातृ संगठनको नाम हेर्दा नेपाली कांग्रेस समाजका सबै तह र तप्कासँग जोडिनुपर्ने हो । तर गएको चुनावमा कुनै पनि उम्मेदवारहरूले भ्र्रातृ संगठनले यति काम ग¥यो । भ्रातृ संगठनका कारण समाजसँग कांग्रेस यसरी जोडिएको रहेछ भन्ने कहीँ कतै महसुस गरेनन् होला । राष्ट्रव्यापी रूपमा संगठन भएका तरुण दल, नेविसंघ महिला संघको उपस्थित कुनै उम्मेदवार विशेषका निर्वाचन क्षेत्रमा भन्दा कतै देखिएन ।
त्यस्तै कांग्रेसका शुभेच्छुक संस्था पनि भ्रातृ संस्थाभन्दा अनगिन्ती छन् । नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल सांस्कृतिक संघ, नेपाल गैरसरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रजातन्त्रवादी इन्जिनियर्स एसोसियसन, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रशासन, व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल, नेपाल कुमाल संघ र लोकतान्त्रिक नेवाः खललाई कांग्रेसले शुभेच्छुक संस्थाको मान्यता दिएको छ । यसरी भ्रातृ र शुभेच्छु संस्थाको बनोट हेर्ने हो भने कांग्रेस समाजका कुन वर्ग, समुदाय, पेसा व्यवसायीसँग जोडिएको छैन । तर भूमिकामा कांग्रेस कुनै पनि वर्ग, समुदाय, पेसा व्यवसायीसँग जोडिन सकेन । यसरी कांग्रेस समाजमा जोडिन नसक्नु भनेको समाजमा कांग्रेसले संवाद गर्न नसक्नु हो । अहिलेसम्म भ्रातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिको काम भनेको ठेक्कापट्टा गर्नेभन्दा अरू केही हुन सकेन ।
अब कांग्रेसलाई समाजसँग जोड्नका लागि कांग्रेसको मात्रै होइन, कांग्रेस यस्ता भ्रातृ र शुभेच्छुक संस्थाको पनि सुधार गर्न जरुरी छ । कांग्रेससंगै भ्रातृ संस्थालाई सुधार, पुनर्संरचना, वा पुनर्जीवन दिन नसके कांग्रेसमा सुधारको अर्थ रहन्न । संगठनमा सुधार तल्लो तहबाट गरिनुपर्छ । अब कांग्रेसले पार्टीको क्रियाशील सदस्यता, भ्रातृ संगठनको भूमिका, शुभेच्छुक संस्थाको जिम्मेवारीलाई पुनर्परिभाषित गर्नु जरुरी छ ।
संरचना
कांग्रेसले यो चुनावमा गल्ती गरेको मुख्य ठाउँ भनेको पार्टीको संरचना पनि हो । मुलुकमा नयाँ संविधान बन्यो । मुलुक नयाँ संरचनामा गयो । तर कांग्रेसले बूढो पुरानो पार्टीकै परिचय कायम राख्यो । नयाँ संरचनाअनुसार तीन तहको सरकार बन्यो । हिजो कयौं गाउँ विकास समिति र नगरपालिका गाभिएर नयाँ नगरपालिका र गाउँपालिका बने । तर कांग्रेसको संगठन नयाँ संरचनाअनुसार बन्नु त कहाँ हो कहाँ भएका संरचनालाई पनि पूर्णता दिन सकेन । नेपाली कांग्रेसले आफ्नो पार्टीको महाधिवेशन रोकेर मुलुकका लागि संविधान जारी गरेको थियो । संविधान जारी गरेपछि कांग्रेसको १३औं महाधिवेशन भयो । १३औं महाधिवेशनसँगै कांग्रेस चुनावी युद्धमा होमिनु पर्दथ्यो । चुनावी युद्धमा होमिनका लागि कांग्रेस आफ्ना हतियारलाई टल्काउनुपर्ने थियो । तर कांग्रेसले त्यसो गर्न सकेन । कांग्रेसको हतियार भनेको नै पार्टीका संरचना हुन् । हिजो बनेका संरचना पनि आज बन्न सकेनन् । त्यसैले यो चुनावमा कांग्रेसका संरचनाले काम गर्न सकेनन् । भएकाले काम गर्न सकेनन्, धेरै त बन्दै बनेनन् ।
कांग्रेसले मुलुक नयाँ संरचनामा गएसँगै सबै गाउँ तथा नगरपालिकाका वडा तहसम्मको संरचना बनाउन सकेन । केन्द्रमा महत्वपूर्ण मानिने प्रशिक्षण प्रतिष्ठान बन्न सकेन । प्रशिक्षण प्रतिष्ठानको नेतृत्व पार्टीको उपसभापतिले गर्ने वैधानिक व्यवस्था छ । तर उपसभापति नियुक्त नहुँदा कांग्रेस कांग्रेस जस्तो भएर जनताको पुग्न सकेन । कांग्रेसले गरेका कामको बारेमा आम कार्यकर्तालाई प्रशिक्षण दिने विपक्षहरूका आरोपको प्रतिवाद गर्ने तथा जनतालाई कन्भिन्स गर्ने कार्यकर्ता बनाउन नै कांग्रेसले सकेन । अनि कांग्रेसको संगठन कसरी चुस्त हुन्छ । अब कांग्रेसले आफूलाई सुधार गर्नका लागि धेरै गर्नु पर्दैन । पार्टीको संरचनामा सुधार गर्नुप¥यो । नयाँ परिवेश र नयाँ संविधानअनुसारको संरचना निर्माण गरेर संगठनलाई राज्यका संरचनासँग जोड्दै जनतासँग संवादमा लागि जानुप¥यो । पार्टीमा पूर्णता दिनका लागि बाँकी सबै संरचनालाई पूर्ण बनाउनुप¥यो । यसरी संरचनालाई पूर्णता दिँदा काम गर्न सक्ने अवसर दिनुपर्छ । पुराना कांग्रेसलाई सम्मान र नयाँ कांग्रेसलाई अवसर दिँदै अब कांग्रेस अगाडि बढ्न जरुरी छ ।
समर्पण
समर्पण र कांग्रेस एकै ठाउँ नभएको धेरै भयो । कांग्रेस नेता कार्यकर्तामा समर्पणभाव होइन । मै खाऊ मै लाऊ मै मात्र बाँचु सुखसयलमा भन्ने भावनाको वृद्धि हुँदै गएको छ । संगठन तल्लो तहबाट बनाउन सुरु गरेजस्तै समर्पणको भाव माथिल्लो तहबाट सुरु गर्नुपर्ने हो तर माथिल्लो तहबाट समर्पणको भाव देखाउने काम हुनै सकेन । कहिल्यै भएन । एक पटकका लागि भनेर बनाइएको आरक्षणको कोटाबाट पदमा पुगेपछि त्यसलाई दाइजो जस्तो गर्न थालियो ।
२००७ सालको क्रान्तिदेखि लगानी गरेका कांग्रेसले कुनै अवसर पाएका छैनन् । उनीहरू अझै कांग्रेस छन् । तर हिजो कांग्रेसमा प्रवेश गर्ने आज प्रतिनिधिसभा सदस्यको उम्मेदवारमात्र होइन समानुपातिकबाट सांसद बनाउने काम भयो । कांग्रेसले गरेको क्रान्तिका धेरै जिउँदा सहिदहरू अहिले पनि सडकमा भेटिन्छन् । २०३१ सालको टिम्बुरबोटे काण्डका नायक एलबी गुरुङ जो २०२५÷२६ सालतिर बीपी कोइरालाको भाषण सुनेर ब्रिटिस सेनाको जागिर जोडेर कांग्रेसको क्रान्तिमा होमिएका थिए, उनी अहिले जीविकोपार्जनका लागि ब्रिटिस सरकारले गोर्खाहरूलाई बेलायतमा आवासीय भिसाको व्यवस्था गरेपछि ब्रिटिस सरकारको शरणमा पुगे । तर यहाँ आरक्षणको कोटालाई आफ्नो जीविकोपार्जन गर्नेहरू धेरै भए ।
हुँदाहुँदा अहिले कांग्रेस कमजोर भएको छ । चुनावमा आम मतदाताले सबैलाई साँच्चै कांग्रेसको चरित्र देखाउन सन्देश पनि दिएका हुन् । तर दुई सय ७५ सदस्य प्रतिनिधिसभामा ६३ सदस्य हुँदा पनि संसदीय दलको नेता बन्ने लालचा देखाइरहेका छन् । समर्पण भन्ने अहिले पनि कांग्रेसमा देखिएको छैन । समर्पणको भावना जगाउनेहरू लालचाको भावना बढाइरहेका छन् । त्यसकारण अब संगठन तल्लो तहबाट सुरु गर्दै गर्दा माथिल्लो तहबाट समर्पण पनि सुरु गर्नुपर्छ ।
प्रतिक्रिया