काठमाडौं । प्रदेश ३ को मन्त्रिपरिषद् बुधबार विस्तार हुनेभएको छ । सरकारमा एमालेका तर्फबाट ३ र माओवादी केन्द्रका १ जना थपिने बताइएको छ ।
एमालेका तर्फबाट रामेछापका प्रदेशसभा सदस्य कैलाश ढुंगेलले आर्थिक मामिला तथा योजना, सिन्धुपाल्चोकका अरुण नेपालले उद्योग, पर्यटन, वन तथा वातावरणको जिम्मेवारी लिने भएका छन ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी चितवनका सांसद दावादोर्जे लामाले सम्हाल्ने भएका छन ।
एमालेको भागमा सामाजिक विकास मन्त्रालय परे लामाले नै उक्त मन्त्रालय सम्हाल्ने बताइएको छ । ढुंगेल र लामा अध्यक्ष केपी ओलीनिकट मानिन्छन् भने नेपाल वरिष्ठ नेता माधव नेपाल समूहका हुन् ।
मंगलबार बसेको पार्टी प्रदेश सचिवालयले मन्त्रीहरूको नाम टुंग्याएको एमाले प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले जानकारी दिइन । अध्यक्ष ओलीले मुख्यमन्त्री डोरमणि पौडेललाई टिपाएको २ जनाको नाममा नेपालको थपेर अन्तिम रूप दिइएको हो ।
माओवादी भने सामाजिक विकास मन्त्रालय आफ्नो भागमा परे कुमारी मोक्तान या युवराज दुलालमध्ये एक जनालाई पठाउने तयारीमा छ । माओवादी संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले यसबारे बुधबार बिहानसम्म निर्णय हुने बताए ।
योसँगै तत्कालका लागि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । यसअघि मुख्यमन्त्री पौडेलले एमालेका केशव स्थापितलाई भौतिक पूर्वाधार विकास र माओवादी केन्द्रका शालिकराम जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ खुवाइसकेका छन् । सरकारले पूर्णता नपाउँदा प्रदेशसभा कामविहीन हुँदै आएको छ ।
मुख्यमन्त्री पौडेलले अबको २र३ महिना कानुन निर्माणलाई प्राथमिकता दिने बताउँदै आएका छन् । प्रदेश प्रमुखको कार्यालयले पनि बुधबार अपराहन ५ बजेलाई शपथग्रहणको कार्यक्रम मिलाएको जनाएको छ ।
प्रतिक्रिया