देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेश : दुई दल सरकारमा, दुई दल प्रतिपक्षमा

देशान्तर

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको संसद् बैठकमा उनले दुई तिहाइ मत प्राप्त गरेपछि सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीको विश्वासको पक्षमा राखेको प्रस्ताव पारित भएको जानकारी दिएका थिए।

प्रदेशको पहिलो दल नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी केन्द्रको संसदीय दलका नेता शाहीको पक्षमा एमाले र माओवादी सांसदले मतदान गरेका थिए। संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारको विपक्षमा मतदान गरेका थिए।

यो प्रदेशमा प्रमुख दुई दल एमाले र माओवादी मिलेर सरकार बनाएपछि अन्य दुई दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी भने प्रतिपक्षमा बसेका छन्। यी दुवै दलका सांसदले सरकारको विपक्षमा मतदान गरेका छन्। संसदमा कांग्रेसका ६ र राप्रपाको एक मत छ भने एमालेका २० र माओवादी केन्द्रको १३ मत छ।

मुख्यमन्त्री शाहीले विश्वासको मत मागेपछि उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नीति, योजना र कामका आधारमा सरकारलाई सहयोग गर्ने भए पनि कांग्रेस प्रतिपक्षी दल भएकाले लिखित समर्थन सरकारलाई गर्न नसकिने बताए। सरकारलाई मनपरी गर्न नदिन कांग्रेसले प्रतिपक्षको भूमिकाबाट सधैं खबरदारी गर्ने शाहीको भनाइ थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाहीले आफ्नो पार्टीले पनि प्रतिपक्षमा बसेर सरकारलाई राम्रो काममा सहयोग र गलत काममा खबरदारी गर्ने बताइन्।