काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नयाँ राष्ट्रपतिको विषयमा अहिलेसम्म कुनै टुंगो नलागेको बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष रावलले पार्टीभित्र र माओवादीसँग छलफल गरिसकेपछि मात्र राष्ट्रपतिको विषयमा टुंगोमा पुगिने बताए। ‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो लागेको छैन, स्थायी कमिटीमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं’ उनले भने।
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २९ गते गर्ने तयारी गरेको छ। सोही अनुसार निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ।
वाम गठबन्धनको सहमति अनुसार राजकीय पदमध्ये राष्ट्रपति एमाले र सभामुख माओवादी केन्द्रले पाउनेछ। एमालेकी पूर्व नेतृ समेत रहेकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदमा दोहोरिने इच्छा व्यक्त गर्दै आएकी छन्।
एमाले उपाध्यक्ष रावलले फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रबीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने र चैतको पहिलो साताभित्र बृहत् पार्टी एकता घोषणा गर्ने बताए।
उनले भने, ‘फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुंगो लगाउँछौं, त्यसपछि एकता बृहत् रुपमा घोषणा गर्छौं। सम्भवतः एकता चैतको पहिलो हप्तामै हुन्छ, ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ।’
विधान र प्रतिवेदन टुंगो लागेपछि एकता संयोजन समितिबाट त्यसलाई अनुमोदन गर्ने र त्यसपछि दुवै पार्टीले आ–आफ्नो केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने उनले बताए।
प्रतिक्रिया