देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओढारमुक्त भए रूपसिंह चेपाङ

देशान्तर

चितवन : राप्ती नगरपालिका वडा नं १३ युर्तीका रूपसिंह चेपाङ ओढारमुक्त भएका छन्। ‘बीस वर्षदेखि ओढारमा बास’ शीर्षकमा गत मंगलबारको अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशित भएपछि राप्ती नगरपालिकाले तत्काल उद्धार गरी उनलाई ओढारमुक्त बनाएको हो। छोरीको घर नजिकै भए पनि त्यहाँ बस्न नमानेका ७६ वर्षीय चेपाङलाई छोरीज्वाइँकै सहयोगमा दुई दिन लगाएर नगरपालिका झारिएको थियो।

एक रात भण्डारामा बास बेसेका उनलाई शनिबार नगरपालिकाको गाडीमै राखेर युर्ती पुर्‍याइएको हो।नगरपालिकाकी मेयर प्रभा बराल, उपमेयर इमानसिंह लामा, गामबेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्मालगायत टोलीले उनलाई तत्कालका लागि छोरीको घरमा बस्ने व्यवस्था मिलाएको हो।

घर निर्माण सम्पन्न नभएसम्म छोरीको घर छाडेर नजान पनि आग्रह गरिएको नगरपालिकाकी मेयर बरालले बताइन्।चार वर्षअघि नागरिकता लिएका उनले हालसम्म वृद्धभत्ता पनि पाएका छैनन्। नगरपालिकाले उनलाई वृद्ध भत्तासमेत व्यवस्था मिलाएको मेयर बरालले जानकारी दिइन्।

चेपाङको घर भने विदेशमा रहेका नेपाली दाजुभाइको सहयोगमा बन्न लागेको हो। चितवन स्थायी घर भई हाल बेल्जियम रहेका समाजसेवी कृष्णप्रसाद रेग्मीको पहलमा घर बन्न लागेको हो। रेग्मीले बेल्जियममै पाँच लाख रुपैयाँ रकम संकलन गर्ने लक्ष्यसहित अभियान चलाएका छन्।

चेपाङ संरक्षण क्षेत्रमा क्रियाशील चेपाङ अभियन्ता शर्माको नेतृत्वमा घर बन्न लागेको हो। आउँदो अप्रिल पहिलो सातासम्ममा घर निर्माण गरिसक्ने गरी काम थालिएको छ। घर निर्माणका लागि शनिबारै नगरपालिकाकी मेयर बराल र उपमेयर लामा युर्तीमा घर शिलान्यास गरेका छन्।

वृद्ध अवस्थामा पनि ओढारमै बस्नुपरेको समाचारले आफूलाई ज्यादै दुःखी बनाएको भन्दै मेयर बरालले आफ्नो नगरभित्र ओढारमा भएकालाई ओढारमुक्त बनाउने प्रतिबद्धता जनाइन्। अझै पनि कोही व्यक्ति बेसहाराकै कारण ओढारमा बस्दै आएका छन् भने तत्काल खोजी गरी ओढारमुक्त बनाउन सबै वडाका अध्यक्षलाई मेयर बरालले निर्देशनसमेत दिएकी छन्।

वृद्ध चेपाङलाई एक वर्षका लागि खाद्यान्न र लत्ताकपडा भने डा. महावीर पुन र हरि सिलवालले व्यवस्था गरेका छन्।

आगोको भरमा रात कटाउँदै आएका चेपाङले जीवनको अन्तिम घडीमा घर पाउने भएपछि उनी खुसीले गद्गद् भएका छन्। अबदेखि ओढारमा बस्ने दिनको अन्त्य भएको भन्दै उनले भने, ‘गरिबलाई भगवान्ले पनि हेर्दा रहेछन्। मर्नेबेलामा सुखको सास फेर्न पाइने भइयो।’