काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय अपराधको स्वरुप र शैली फेरिएको भन्दै प्रहरीले त्यसविरुद्ध अपरेशन सुरु गर्ने बताएको छ । प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गर्दै अपराधको शैली र स्वरुप फेरिएकाले नागरिक समाजसँग सहकार्य गरेर अभियान चलाउने जानकारी दिएको छ । प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्दै अपराध र ठगी गर्ने क्रम बढ्दो छ । जसबाट महिला बढी पीडित भएको प्रहरीको ठम्याइ छ ।
प्रहरीका अनुसार पछिल्लो ४१ दिनमा काठमाडौंमा १ सय ५ वटा बैकिङ कसुरका उजुरी आएका छन् । वैदेशिक रोजगारीका नाममा ठगि, साइबर, अनलाइन, चिठ्ठा ठगी, धोकाका साथै हाउजिङ र अर्पाटमेन्टका नाममा ठगी बढेको काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले बताए ।
प्रहरीले वित्तिय ठगी, वैदेशिक रोजगारीका लागि मानव बेचबिखन, अपराधीहरुको दरिलो साँठगाँठ, बढ्दो सहरीकरणलगायतलाई चुनौतीका रुपमा लिएको छ । एसएसपी पोखरेलले राजधानीलाई अपराधमुक्त सहर बनाउन नागरिक समाजसँग गोप्य सम्झौता गरी अपरेशन सुरु गर्ने बताए ।
विभिन्न स्थानमा प्रहरीको प्रभावकारी परिचालनका साथै ४३ स्थानमा नागरिक सुनुवाइमार्फत प्रहरी सेवालाई प्रभावकारी बनाउन कदम चालेको उनले जानकारी दिए । काठमाडौं प्रहरीले विभिन्न अपराधमा संग्लन फरार ३ सय ७२ जनाको खोजी तिव्र पारेको जनाएको छ ।
प्रतिक्रिया