देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षालाई रोजगारमूलक बनाउनु आवश्यक : अध्यक्ष दाहाल

देशान्तर

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको शिक्षालाई रोजगारमूलक, उत्पादनमूलक र समुदायको हितसँग जोड्ने खालको बनाउनुपर्ने बताएका छन् ।

दाहालले अध्ययन गरेको नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, शिवनगरको ५४औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको बताए ।

नेपालको शिक्षा नीतिका कारण बेरोजगारी बढेको बताउँदै उनले यसलाई परिवर्तन गर्नु आवश्यक रहेको बताए । उनले भने, “एमए पढेका, डिग्री हासिल गरेका हजारौँ हजार युवा विदेशिने क्रम जारी छ । विदेशमा गएर अपमानजनक तरिकाले पनि आर्थिक लाभ लिनुपर्ने अवस्था नेपालीमा रहेको छ । हाम्रो शिक्षा नीति कता–कता बेरोजगार उत्पादन गर्ने जस्तो देखिएको छ ।”

शिक्षा नीतिमा सुधार गरी राज्यको लगानी बढाउनु पर्ने बताउँदै उनले शिक्षालाई आविष्कार, अनुसन्धान गर्ने एक बृहत् प्रक्रियाका रुपमा अघि नबढाई मुलुकलाई समृद्धितर्फ लान नसकिने बताए । उनले भने, “आविष्कार गर्ने तरिकाले शिक्षालाई अगाडि लैजानु आवश्यक छ, तर शिक्षामा लगानी बढ्दो होइन, घट्दो क्रममा रहेको छ ।”

पछिल्लो समयमा शिक्षा क्षेत्रमा निजीकरणको दबदबा बढ्दै गएको बताउँदै उनले सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्कँदो रहेको बताए । शिक्षा क्षेत्रमा गुणात्मक सुधार आवश्यक रहेको भन्दै उनले अहिलेको जस्तो सामान्य मात्रात्मक सुधारले शिक्षा क्षेत्रलाई नहुने बताए ।

उनले उक्त विद्यालयमा प्राविधिक शिक्षाको अध्ययन गराउनका लागि आफूले मन्त्रिपरिषद्बाटै निर्णय गर्न लगाउने पनि बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्यहरु कृष्ण भुर्तेल, रामलाल महतो, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीलगायतले बोल्नुभएको थियो ।