देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकपको छनोट खेल्न नेपाली टोली आज जिम्बाबे जाँदै

देशान्तर

काठमाडौं । नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदैछ । नेपाली टोली राति पौने ११ बजे फ्लाइ दुवईको उडानबाट दुवई हुँदै जिम्बाबेका लागि प्रस्थान गर्नेछ । नामिबियामा भएको डिभिजन टूको उप–विजेता बनेको नेपालले विश्वकप क्रिकेटको छनोट खेल्ने अवसर पाएको हो । समूह बीमा रहेको नेपालले प्रतियोगितामा जिम्बाबे, अफगानस्तान, स्कटल्याण्ड र हङकङ्गसंग खेल्नेछ ।

नेपालको पहिलो खेल घरेलु टोली जिम्बाबेसँग फागुन २० गते, स्कटल्याण्डसँग फागुन २४ गते, अफगानस्तानसँग फागुन २६ गते र हङकङ्गसँग फागुन २८ गते खेल्नेछ । दुवै समूहका शिर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् ।

विश्वकप छनोट खेल्ने वेष्टइण्डिज, आयरल्याण्ड, अफगानस्तान र जिम्बाबेले एकदिवसीय मान्यता पाइसकेकाले यी बाहेक शिर्ष ३ टीमले एकदिवसीय क्रिकेटको मान्यता पाउनेछन् । समूहको पुछारमा रहने २ टीम डिभिजन टूमा झर्नेछन् ।

नेपाली टोलीलाई सरकारले हिजो जनही तीन–तीन लाख रुपैयाँसहित सम्मान गर्दै प्रतियोगिताका लागि बिदाइ गरेको छ । नेपालले तेश्रोपटक विश्वकप क्रिकेटको छनोट खेल्न लागेको हो ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् । अरु खेलाडीमा आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी छन् । यस्तै, बिनोद भण्डारी, सिद्धान्त लोहनी, सुनिल धमला, किशोर महतो बैकल्पिक खेलाडीका रुपमा टीममा परेका छन् ।