देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’

देशान्तर

काठमाडौं : नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गरेका छन्।हालै सम्पन्न निर्वाचनमा संसद्मा पहिलो र तेस्रो ठूलो दल बनेका यी दुवै पार्टीका अध्यक्षसहित एकता संयोजन समितिमा रहेका सबै नेताले एकताको सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सोमबार मध्यराति पार्टी एकता घोषणा गरेका हुन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकमा पार्टी नेतृत्व, कार्यदिशालगायत विषयमा सहमति जुटेपछि एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने अठोटसहित नेताहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद-लेनिनवाद बनाउने गरी दुई पार्टीले कम्युनिस्ट आन्दोलनकै इतिहासमा ‘आइस ब्रेक’ गरेका हुन्।

कम्युनिस्ट पार्टी स्थापनाको ६८ वर्षको इतिहासमा एमाले-माओवादीको एकता ठूलो परिघटना हो। एकताको प्रारम्भिक आधारको सहमतिपत्रमा हस्ताक्षरपछि नेताहरूले यसलाई कम्युनिस्ट आन्दोलनमा मात्र नभई देशको सुशासन, स्थायित्व र विकासकै लागि ऐतिहासिक परिघटना भनेका छन्।

२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। तर २०१९ सालको तेस्रो महाधिवेशनसँगै कम्युनिस्ट पार्टीमा विभाजनको शृंखला कोरिएपछि यी दुई पार्टीले फरक-फरक स्कुलिङमा पार्टी चलाउँदै आएका थिए। सोमबार एकताको घोषणा गरेका यी दुई पार्टीको ५५ वर्षपछि पुनर्मिलन भएको हो।

अब यी दुई पार्टीले अन्तरिम राजनीतिक प्रतिवेदन र अन्तरिम विधान तयार पारी एकीकृत पार्टी सञ्चालन गर्नेछन्। एमालेले अँगाल्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले अँगाल्दै आएको ‘माओवाद र एक्काइसौं शताब्दीको जनवाद’ सम्बन्धी विषयलाई दुवै पार्टीले एकताको महाधिवेशनसम्म छलफलका रूपमा लगेर आवश्यक परिमार्जन र विकास गर्ने गरी टुंगोमा पुर्‍याउने समझदारी पनि बनाएका छन्।

यसअघि एमाले र माओवादीले एक-अर्काले अँगाल्दै आएको सिद्धान्त स्वीकार नगर्दा एकता प्रक्रिया अघि बढ्न सकेको थिएन। यी दुई पार्टीबीच अहिलेसम्मका उपलब्धिको रक्षा र विकास तथा राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रूपान्तरणमार्फत समाजवादको आधार निर्माण गर्ने गरी एकीकृत पार्टीको कार्यनीति बनाउने समझदारी भएको छ। दुवै पार्टीको इतिहासको सम्मान गर्दै बहुदलीय प्रतिस्पर्धामा समान धारणा रहेको निचोड निकालेर एकता गर्न उनीहरू तयार भएका हुन्।

वाम पार्टी एकताले प्रजातान्त्रिक धारको नेतृत्व गर्दै आएको कांग्रेसलाई भने ठूलै धक्का पुगेको छ। यी दुई पार्टीले एकताका लागि १२ वर्षदेखि पहल गरे पनि सार्थक हुन सकिरहेको थिएन। तर असोज १७ मा तत्काल चुनावी तालमेल र लगत्तै एकता गर्ने सैद्धान्तिक सहमतिमा दुई पार्टी पुगेका थिए। प्रतिनिधिसभाको कुल २७५ सिटमा एकतापछि १७४ सिट अर्थात् ६३.२७ प्रतिशत सांसद हुनेछन्।

संयुक्त नेतृत्व, आलोपालो प्रधानमन्त्री

एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा गर्ने भित्री समझदारी पनि यी दुई पार्टीले बनाएका छन्। लिखित समझदारीमा यो विषय उल्लेख नभए पनि नेताहरूबीच समझदारी भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘पार्टीको बैठकमा आलोपालो अध्यक्षता गर्र्ने र सरकारमा साढे दुई-साढे दुई वर्ष आलोपालो नेतृत्व लिने सहमति हामीबीच भएको छ,’ बैठकपछि नेता खनालले अन्नपूर्णसँग भने, ‘पार्टी एकताकै लागि यो एउटा महत्वपूर्ण ब्रेक थु्र हो।’

एमालेकै अर्का नेता प्रदीप ज्ञवालीले एकीकृत पार्टीको नेतृत्व भने द्विअध्यक्षात्मक प्रणालीका आधारमा दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने समझदारी भएको बताए।

‘एकीकृत पार्टीमा दुई जना (ओली र दाहाल) अध्यक्ष हुनुहुनेछ, द्विअध्यक्षात्मक प्रणालीमा उहाँहरूले संयुक्त रूपमा पार्टीको नेतृत्व गर्नुहुनेछ’, ज्ञवालीले अन्नपूर्णसँग भने।

दुई कार्यदल गठन

एमाले-माओवादीले एकीकृत पार्टी सञ्चालन गर्न दुई छुट्टाछुट्टै कार्यदल पनि सोमबारको बैठकबाटै गठन गरेका छन्। एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न नौ सदस्यीय समिति गठन भएको छ। समितिमा माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल छन्।

त्यस्तै, अन्तरिम विधान र संगठनात्मक ढाँचा तयार पार्न सात सदस्यीय कार्यदल गठन भएको छ। कार्यदलमा रामबहादुर थापा, ईश्वर पोखरेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ र गिरिराजमणि पोखरेल छन्।यादव पनि बालुवाटार

एमाले-माओवादीबीच पार्टी एकताको छलफल चल्दै गर्दा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका थिए। एमाले नेता अग्नि खरेलका साथमा बालुवाटार छिरेका उनी ओली-दाहालसँग छुट्टै एक घण्टा छलफल गरी खरेलकै गाडीमा बाहिरिएका थिए। उपेन्द्रसँग छलफल चल्दै गर्दा एकता बैठक भने केही बेर रोकिएको थियो। ओली-दाहालसँग उपेन्द्रको छलफल सरकारमा सहभागिताका विषयमा केन्द्रित रहेको नेताहरूले बताएका छन्।

ओली-दाहाल सम्बन्ध : विगतदेखि हालसम्म

काठमाडौं : कम्युनिस्ट दर्शन एकै भए पनि ५५ वर्षदेखि स्कुलिङ फरक भएका मूलधारका प्रभावशाली दुई कम्युनिस्ट पार्टीलाई एकै बनाउन सहमत नेता हुन्- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।

६८ वर्षको कम्युनिस्ट पार्टी इतिहासमा यी दुई नेताको पाँच दशकभन्दा बढी फरक स्कुलिङ थियो। तर, सोमबार राजनीतिमा ‘आइसब्रेक’ गर्दै यी दुई नेताले एमाले र माओवादीलाई एउटै पार्टी बनाउँदै ‘शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण’ को संयुक्त नेतृत्व नै लिए।

ओली-दाहाल दुवै राजनीतिको केन्द्रमा रहने र राजनीतिलाई आफूमा केन्द्रीकरण गर्न चाहने नेता हुन्। हुर्काइ, वर्ग धरातल र राजनीतिक पृष्ठभूमि नै फरक देखिएका यी दुई नेताको ‘चामत्कारिक’ मिलाप हुन्छ भन्ने ६ महिना अगाडिसम्म कसैले सोचेको थिएन।

आरोप-प्रत्यारोप र घोचपेचका कटु यथार्थ यी दुई नेताका सम्बन्ध थिए। ओली दाहाललाई ‘अस्थिर’ नेताको आरोप लगाउँथे भने दाहाल ओलीलाई पश्चगामी र ‘नक्कली राष्ट्रवादी’ भन्न पछि पर्दैनथे।

ओलीको दुःख, दाहालको सोखिन बाल्यकाल

ओली-दाहाल दुवैका पृष्ठभूमि, रहनसहन, स्वभाव फरक छन्। ओलीको बाल्यकाल दुःखैदुःखमा बितेको छ। अर्काको घरमा गोठालो बसेर उनले बाल्यकालको शिक्षा लिएका थिए। तर, दाहालले ओलीले बाल्यकालमा गरेजस्तो संघर्ष गर्नुपरेन। सानै उमेरदेखि नै अत्यन्त सफाचट (आइरन लगाएर टलक्क टल्काएको लुगा) लगाएर हिँड्ने दाहालको सोख पहिलेदेखि नै थियो। उनलाई पढ्नका लागि दुःख गर्नुपरेन। कृषिमा बीएसस्सी गरेर एमपिएसम्म दाहालले अध्ययन गरेका छन् तर ओलीले उच्च शिक्षा पढेका छैनन्। उनले त्यसरी पढ्ने अवसर पनि पाएनन्। दाहाल चितवन, गोरखालगायत विभिन्न विद्यालयमा केही समय अध्यापनमा पनि सहभागी भएका थिए।

ओलीका छोरा-छोरी छैनन्। दाहालका एक छोरा र तीन छोरीमध्ये एक्ला छोरा प्रकाशको मंसिर ३ मा हृदयाघातका कारण ३६ वर्षको उमेरमा निधन भयो भने जेठी छोरी पनि केही वर्षअघि क्यान्सरका कारण बितिन्। अहिले दाहालका रेणु र गंगा दुई छोरी छन्। रेणु भरतपुर महानगरकी मेयर हुन्।

ओली दाहालभन्दा ३४ महिना जेठा

ओलीभन्दा दाहाल ३४ महिनाले कान्छा छन्। ओली २००८ फागुनमा झापामा जन्मिएका हुन्। दाहाल भने २०११ मंसिरमा कास्कीमा। दाहालभन्दा ओलीले उमेरमा मात्र होइन, कम्युनिस्ट पार्टीको सदस्यताप्राप्त गर्नेमा पनि पहिलो नै छन्। उनले २०२६ सालमा संगठित सदस्यता लिँदै माक्र्सवादी अध्ययन दलमा संगठित भएका थिए। दाहालले भने ओलीले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको दुई वर्षपछाडि मात्रै ०२८ सालमा नेकपा पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।

पार्टी सदस्यता लिनु अगाडिदेखि नै यी दुई नेताको वैचारिक-राजनीतिक स्कुलिङ फरक थियो। तर, दुवैको हतियारबद्ध संघर्षको नेतृत्व गरेरै आएको पृष्ठभूमि छ। २०२७ सालको झापा आन्दोलन (वर्ग शत्रु खत्तम अभियान) का नेतामध्येकै एक हुन् ओली। ओलीले ०२७ सालमै थालेको हतियारबद्ध संघर्षको नेतृत्व ०५२ सालमा पुगेर दाहालले लिएका थिए।

पहिलो भेट : भारतको सिलिगुडीमा

ओली-दाहालबीच ३० को दशकमै कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीति गरे पनि प्रत्यक्ष भेट हुन भने अर्को ३० वर्ष कुर्नुपरेको थियो। यी दुई नेताबीच २०५९ सालमा मात्रै प्रत्यक्ष भेट भई संवाद भएको थियो, त्यो पनि नेपालमा नभई भारतको सिलिगुडीमा।

नेपालका सबैजसो वाम पार्टीलाई संविधानसभाको एजेन्डामा सहमत गराउने उद्देश्यले माओवादीले त्यसबेला सिलिगुडीमा दुई दिनसम्म बृहत् कम्युनिस्टको वार्ता र संवाद चलाएको थियो। त्यहीबेला ओली-दाहालबीच सिलिगुडीमा प्रत्यक्ष भेट र संवाद भएको थियो।

त्यसबेला ओलीसँगको भेटका सन्दर्भमा एक मिडियासँग दाहालले ओलीले त्यसबेला आफूलाई व्यक्त गरेको भनाइ स्मरण गर्दै भनेका थिए, ‘तपाईं (दाहाल) अलि जन्ड-जन्ड खालको हुनुहोला भनेको त पूरै सामान्य किसिमको नेता हुनुहुँदो रहेछ।’

ओली माओवादीले चलाएको सशस्त्र संघर्षका कटु आलोचक थिए। त्यही भएर पनि एमालेकै वामदेव गौतम, माधव नेपाल, झलनाथ खनाललगायत नेतासँग संवाद भइरहँदासमेत ओलीसँग दाहालको संवाद भएन। जनयुद्धकालदेखि शान्ति प्रक्रियासम्म ओली र दाहालबीच खासै संवाद भएन। ओलीले माओवादीप्रति तिखो आलोचना गर्ने भएकै कारण दुई नेताले एक-अर्कासँगको संवादलाई महŒव पनि दिएनन्। यसो हुनुमा दुवै नेतामा एक-अर्काप्रतिको ‘फोबिया’ ले पनि काम गरेको मान्नेहरू अहिले पनि दुवै पार्टीभित्र छन्।

अन्तरमुखी ओली, बहिर्मुखी दाहाल

ओली अन्तरमुखी स्वभावका छन् तर दाहालमा त्यसको विपरीत बहिर्मुखी स्वभाव छ। अन्तरमुखी स्वभावकै कारण ओलीमा मनोगतवादी र एकलकाँटे प्रवृत्ति पनि रहेको एमालेकै नेताहरू टिप्पणी गर्छन्। दाहालसँग भने बहिर्मुखी स्वभाव भएका कारण विपक्षीसँग उनी सजिल्यै घुलमिल गर्न सक्छन्। त्यसैले पनि दाहालमाथि अस्थिर स्वभावका नेताको आरोप लागिरहन्छ। तर, उनी स्वयं भने आफूलाई द्वन्द्वात्मक भौतिकवादका अनुयायी भएका कारण प्रत्येक विषय निरन्तरतामा भन्दा क्रमभंगतामा बुझ्नुपर्ने र त्यसैअनुरूप हिँड्न सक्नुपर्ने तर्क गर्छन्।

ओली कडा अडानमा रहने नेताका रूपमा पछिल्ला दिनमा परिचित छन्। उनी बोलेपछि हत्तपत्त अडान छाड्न चाहँदैनन् तर दाहालचाहिँ बेला-मौका हेरेर बोलीमा लचकता पनि देखाउन खप्पिस छन्।

वाम विश्लेषक श्याम श्रेष्ठको भनाइमा ओली र दाहाल दुवै नेता डिसिजन लिने सवालमा असाध्यै ‘बोल्ड’ छन्। पार्टीमा पनि दुवैको आफ्नै पकड छ तर प्रचण्ड लचिलो र ओली कसिलो स्वभावका नेता भएको उनको बुझाइ छ। ‘पर्सानालिटीका हिसाबले दाहाल अलिक लचिलो बन्न सक्छन् तर ओली रिजिक्ट छन्,’ दुई नेताको चरित्र चित्रण गर्दै उनी भन्छन्।

त्यसो त यी दुवै नेता एकअर्कालाई अझै पनि आशंकाले हेर्छन्। दुवै एकअर्कालाई चतुर राजनीतिक खेलाडी ठान्छन्। जसकारण एकअर्काको बडी ल्याङवेजलाई पनि अर्थपूर्ण ढंगले हेर्छन्।

दुवै नेताले लिने बोल्ड डिसिजनमा पार्टीभित्र कसैले पनि खुलेर औंला उठाउने हिम्मत गर्दैनन्। दुवै नेता सिद्धान्तभन्दा शक्तिमा विश्वास गर्ने स्वभावका भएका कारण पाँच महिनायता पार्टी एकता वार्ता अप-डाउन हुँदै निष्कर्षमा पुगेको हो।

दाहालकै प्रस्तावमा ओली प्रधानमन्त्री

एमाले अध्यक्ष ओली दुवै पटक माओवादी अध्यक्ष दाहालकै प्रस्तावमा प्रधानमन्त्री बन्न सफल भए। पहिलोपटक दाहाल आफैँले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाए र पछि अविश्वास दर्ता गराएर कुर्सीबाट निकाल्न भूमिकासमेत खेले।

ओलीले सरकार छाड्ने बेला यी दुई नेताबीच सबैभन्दा पेचिलो संघर्ष चल्यो। आरोप-प्रत्यारोपमा दुवैले कसर बाँकी राखेनन्। तर, राजनीति सम्भावनाको खेल हो भनेजस्तै यी दुई पार्टीबीच असोज १७ मा एकाएक चुनावी तालमेल र पार्टी एकतासम्मको सहमति बन्यो।

दोस्रो पटक पनि दाहालकै पार्टीको समर्थनमा ओली प्रधानमन्त्री भएका छन्। दाहाल पनि दुई पटक प्रधानमन्त्री बनिसकेका छन्। पहिलो पटक एमालेसहितको समर्थनमा र दोस्रो पटक कांग्रेसलाई साथ लिएर। दाहाल पहिलो पटक प्रधानमन्त्री बन्दा ओली पार्टीको मूल नेतृत्वमा थिएनन् तर दोस्रो पटक प्रधानमन्त्री बन्दा ओलीसँगको सम्बन्धमा ब्रेक लागेको थियो।

अब एउटै कमिटीमा

२०४४ सालदेखि ओली पार्टीको केन्द्रीय समितिमा छन्। दाहाल पनि सोही पेरिफेरिमा पार्टीको केन्द्रीय समितिमा पुगिसकेका थिए। ओली केन्द्रीय समितिमा पुग्न संघर्ष गर्दैगर्दा दाहाल भने पार्टीको सर्वाेच्च पद सम्हाल्ने अवस्थामा पुगिसकेका थिए।

दाहाल ०४६ सालमा तत्कालीन नेकपा (मशाल) को महामन्त्री बनिसकेका थिए। त्यसयता उनी निरन्तर पार्टीको माथिल्लो पद (अध्यक्ष) मा छन्। पछिल्लोपटक ०७० मा पार्टीको विराटनगर महाधिवेशनबाट पनि उनी अध्यक्ष चुनिएका थिए। यस हिसाबले २८ वर्षयता दाहाल पार्टीको सर्वाेच्च पद (अध्यक्ष) मा छन्। ओली भने ०७१ को एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष बनेका हुन्। उनले पार्टी नेतृत्व सम्हालेको तीन वर्ष पुगेको छ।

यी दुई नेताबीच एकै कमिटीमा बसेर सहकार्य भएको छैन। फरक स्कुलिङबाट भएका कारण पनि दुई नेताले एकै कमिटीमा बसेर काम गर्ने अवसर पाएनन्। तर, अब यी दुई नेता एकीकृत पार्टीको एउटै कमिटीमा बसेर काम गर्दै छन्।

एकीकृत पार्टी (नेपाल कम्युनिस्ट पार्टी) को संयुक्त नेतृत्व गर्ने गरी ओली-दाहालले सहकार्य गर्दै छन्।

इतिहास हेर्ने हो भने यी दुई नेताको सम्बन्ध तिक्ततापूर्ण अवस्थामै बितेको थियो। दाहाल ओलीलाई मानसिक उपचार गराउनुपर्नेसम्मका चर्का अभिव्यक्ति दिन्थे भने ओली पनि माओवादीलाई हिंस्रक (जंगली) सम्मका आरोप लगाउँथे। तर, अहिले यी दुई नेतामा आएको मिलापले कम्युनिस्ट आन्दोलनमै ‘ब्रेक थु्र’ गराएको छ।अन्नपूर्ण